धनगढी- सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक आज (चैत २५) विश्वविद्यालयकै परिसरमा बस्ने भएको छ । बिहान ९ बजेदेखि सुरु हुने उक्त बैठक पहिलोपटक काठमाडौं बाहिर विश्वविद्यालयकै आफ्नै स्थानमा आयोजना हुन लागेको हो ।
यसअघि राजधानी काठमाडौंमा हुँदै आएको बैठक यसपटक गेटामा बस्न लागिएकोले संस्थागत सुदृढीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

विश्वविद्यालय परिसर तस्बिर: स्वास्थ्य पेज
बैठकमा शिक्षामन्त्रीसहित शिक्षासचिव, स्वास्थ्यसचिव, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मुख्यमन्त्री लगायत १७ जना पदाधिकारीहरूको सहभागिता रहने विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले जानकारी दिएका छन्। सभाको अध्यक्षता सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीले गर्नेछन् ।
बैठकमा विश्वविद्यालयसँग सम्बन्धित विभिन्न नियमावली, कार्यविधि मनोनयन तथा अनुमोदन, आर्थिक तथा खरिदसम्बन्धी नियमावलीमाथि छलफल हुने जनाइएको छ । साथै विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेको शिक्षण अस्पतालको सञ्चालन मोडालिटीबारे विशेष एजेण्डासहित विस्तृत छलफल हुने बताइएको छ ।
सरकारले चालु शैक्षिक सत्रदेखि नै यस विश्वविद्यालयमा एमबीबीएसलगायत चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको सन्दर्भमा आजको बैठकलाई नीति निर्माण र कार्यान्वयनको दृष्टिले महत्वपूर्ण मानिएको छ ।








