काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाउन पुनः निर्देशन दिएको छ ।
विभागले मंगलबार जारी गरेको सूचनामा वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यो कदम चालिएको उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयअनुसार स्वीकृत ‘प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८’ हाल कार्यान्वयनमा रहेको छ।
साथै आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा पनि प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा रोक लगाउने कुरा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, “२०८२ मंसिर १ गतेदेखि लागू हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ। त्यसैले दैनिक कामकाजका क्रममा यस्ता झोला प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई पुनः अनुरोध गरिन्छ ।”









