स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा टिकाउन नीतिगत सुधार आवश्यक : सांसद ओजश्वी शेरचन

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०८२, मंगलवार

काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजश्वी शेरचन ले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको भन्दै तत्काल नीतिगत सुधार गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेट अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम नै अवरुद्ध हुने जोखिम बढेको उल्लेख गरिन् । कार्यक्रम आर्थिक दबाबमा पर्दा सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उनको भनाइ छ ।

सांसद शेरचनले स्वास्थ्य बीमा ऐन, २०७४ ले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र उपचारका क्रममा हुने आर्थिक जोखिम घटाउने लक्ष्य राखे पनि कार्यान्वयनमा गम्भीर चुनौती देखिएको बताइन् ।

उनका अनुसार स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पतालहरूलाई ठूलो रकम भुक्तानी गर्न नसक्दा समस्या झन् गहिरिएको छ । “वीर अस्पताललाई ५१ करोड, टिचिङ अस्पताललाई ४० करोड र अन्य अस्पतालहरूको गरी १६ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ,” उनले भनिन्, “यसले स्वास्थ्य संस्थाहरूलाई सेवा निरन्तरता दिन कठिनाइ भइरहेको छ ।”

यस समस्याको समाधानका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले जोड दिइन् । साथै, स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो बनाउन नीतिगत सुधार अपरिहार्य रहेको उनको भनाइ छ ।

  • २४ चैत्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech