तुलनात्मक रूपमा इन्सुलिनको कमी हुँदा वा ठ्याप्पै उत्पादन नहुँदा वा कोष तहमा इन्सुलिनको काममा अवरोध हुँदा यसको परिणामस्वरूप रगतमा चिनीको मात्रा बढ्ने समस्यालाई नै मधुमेह भनिन्छ। त्यसैले यो एक प्रकारको जीर्ण खालको मेटाबोलिक समस्या हो। मधुमेह प्रभावित व्यक्तिको शरीरमा बोसो र प्रोटिन टुक्रिने क्रियासमेत प्रभावित हुन्छ।
मधुमेहले शरीरको हरेक अंगलाई असर पुर्याउँछ। लामो समय देखिको मधुमेहले आँखालाई बढ्ता असर गर्दछ। मोतीबिन्दु चाँडै हुनु,आँखाको पर्दा (रेटिना) मा समस्या आउनु र अन्धोपना हुनु यस्तै केही उदाहरण हुन्। यसले मुटु र रक्तनलीमा असर गरी हृदयाघात,रक्तचाप र मुटु दुख्ने समस्या निम्त्याउन सक्छ। मधुमेहले गर्दा मिर्गौलाको कार्य क्षमतालाई असर गरी बढी मात्रामा प्रोटिनको खेर गराउँछ। यसैकारण शरीर सुन्निने हुन सक्छ। बिस्तारै मिर्गौलालाई काम नलाग्ने गराउँछ। मधुमेहले मस्तिष्क र स्नायु प्रणालीमा असर गरी स्मरण शक्ति,संवेदनाको कमीको कमी हुने, रिंगटा लाग्ने,पक्षघात हुने हुन सक्छ।
मधुमेह किन हुन्छ ?
हामीले खाएको खाना पेट (आमाशय) मा पुगेपछि बिस्तारै पाचन हुन थाल्छ र ग्लुकोजमा परिणत हुन्छ। यही ग्लुकोज आन्द्राबाट सोसिएर रगतमार्फत शरीरको विभिन्न कोषमा पुग्छ। ग्लुकोजलाई कोषमा पुर्याउन प्यान्क्रियाजबाट उत्पादित हुने इन्सुलिनले सहयोग गर्दछ। कोषले ग्लुकोजलाई शक्तिमा परिणत गर्दछ। मधुमेह समस्याले प्रभावित हुँदा कोषले रगतमा रहेको ग्लुकोज लिन सक्दैन। यसले गर्दा कोषले पर्याप्त शक्ति प्राप्त गर्दैन भने रगतमा पनि चिनीको मात्रा बढ्न जान्छ। रगतमा निश्चित मात्रामा चिनी हुन्छ। यदि यो मात्रा नाघ्यो भने पिसाबमा पनि ग्लुकोज देखिन थाल्छ।
मधुमेहका दुई प्रकार
पहिलो प्रकारको मधुमेहबाट प्रभावित व्यक्तिमा प्यान्क्रियाज नामक ग्रन्थीको इन्सुलिन उत्पादन गर्ने कोष नष्ट भइसकेका हुन्छन्। त्यसैले पूर्णरूपमा इन्सुलिनको उत्पादन हुँदैन। यस्तो खालको मधुमेह कलिलो उमेर (युवावस्था) मै देखा पर्दछ र वंशाणुगत खालको हुन्छ। यस्तो खालको मधुमेहलाई रोक्न सकिँदैन। उपचारको क्रममा इन्सुलिनकै जरुरत पर्दछ। दोस्रो प्रकारको मधुमेहीमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन वा कोष तहमा अवरोध हुने हुनाले इन्सुलिनको कार्य क्षमतामा कमी आउँछ। वयस्क उमेरकी तथा मोटोपना भएकी महिलामा यस्तो खालको मधुमेह देखा पर्दछ। यसको उपचार औषधिसेवन एवं जीवनशैलीको परिवर्तनबाट गर्न सकिन्छ।
गर्भावस्थाकै कारण मधुमेहको समस्या
माथि उल्लेख गरेअनुसारको दुई प्रकारका मधुमेहबाहेक गर्भावस्थामा विशेष कारणले मधुमेहको समस्या देखिन सक्छ। पछिल्लो समय जीवनशैलीमा आएको परिवर्तनले विशेषतः दक्षिण एशिया क्षेत्रमा गर्भावस्थामा मधुमेह देखापर्ने समस्या बढ्दो छ। सामान्यतया १८० मिलिग्राम प्रतिमिलिलिटर सम्म रगतमा चिनीको मात्रा हुँदा पिसाबमा चिनी देखिँदैन तर गर्भावस्थामा भने यति मात्रा हुँदा पनि पिसाबमा चिनी देखिन सक्छ। गर्भावस्थाको २४ देखि २६ हप्तामा ७५ वा १०० ग्राम ग्लुकोज खाएर रगत जाँची गर्भावस्थाको कारण मधुमेह छ, छैन जाँच्न सकिन्छ। यदि रगतमा १४० मिलिग्राम प्रतिशतभन्दा बढी भयो भने मधुमेह भएको शंका गरिन्छ।
गर्भावस्थामा कार्बोहाइड्रेट पचाउन सक्ने क्षमतामा गडबडी देखिन्छ। फलतः रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी देखिन्छ। यस्तो समस्या गर्भावस्थाको दोस्रो वा तेस्रो त्रैमासिकमा देखा पर्दछ जुन सुत्केरीपछि सामान्य अवस्थामा फर्किन्छ। माइती परिवारमा कसैलाई मधुमेह भएको,पहिला चार किलो वा बढी तौलको बच्चा पाएको,पहिला बिनाकारण महिना पुगेको बच्चा खेर गएको, गर्भावस्थामा शिशु वरिपरि पानीको मात्रा निकै बढी भएको,गर्भावस्थामा पटकपटक सेतो पानी बग्ने समस्या भएको,गर्भावस्थामा पिसाबमा चिनी निरन्तर गइरहेको,गर्भवती महिलाको उमेर ३० भन्दा बढी भएकी र मोटोपना भएकी महिलालाई गर्भवतीको कारणले हुने मधुमेह हुनसक्छ।
गर्भवतीको कारणले हुने मधुमेहले पुर्याउन सक्ने खतराहरू यस प्रकार छन्। महिना पुग्नै लाग्दा अकस्मात् गर्भे शिशुको मृत्यु हुनसक्छ। गर्भे शिशु निकै ठूलो हुनसक्छ। गर्भेशिशु वरिपरिको पानी बढी हुन सक्छ। सुत्केरी दौरान स्त्री जननेन्द्रिय (बच्चा आउने बाटो) मा चोट पुग्न सक्छ। करीब ५० प्रतिशत महिलामा पछि पछिको गर्भमा पनि यस्तो समस्या दोहोरिन सक्छ।
गर्भवतीका कारणले हुने मधुमेहको व्यवस्थापन गर्दा पटकपटक गर्भ जाँच गर्नुका साथै खाना परहेज र शारीरिक व्यायाममा पनि ध्यान दिइनु जरुरी छ। यदि खाली पेटमा रगत जाँच्दा १०५ मिलिग्राम प्रतिशतभन्दा बढी वा खाना खाएको दुई घण्टापछि रगत जाँच्दा १३० मिलिग्राम प्रतिशत भन्दा बढी पाइयो भने खाना परहेज गरेर मात्र नपुग्न सक्छ।
ऐरोबिक अभ्यास,हल्का हिँडडुलले रगतमा ग्लुकोजको मात्रा घटाउन मद्दत गर्दछ। गर्भवतीको कारणले हुने मधुमेह भएकी महिलामा यदि ग्लुकोज राम्रोसँग नियन्त्रणमा छ भने बच्चा पाउने मितिसम्म कुर्न मिल्छ। तर बच्चा ठूलो छ वा गर्भेशिशुमा कुनै जटिलता छ भने गर्भावस्थाको ३८ हप्तातिरै सुत्केरी गराउनु पर्दछ। यस्ता खाले महिलामा केही वर्षको अन्तरालमा पूर्ण रूपमा मधुमेह देखापर्न सक्ने हुनाले निरन्तर रूपमा फलोअप चाहिन्छ। गर्भवतीको कारणले हुने मधुमेह भएकी महिलामध्ये खाली पेटमा चिनीको मात्रा धेरै भएकामा पछि दोस्रो प्रकारको मधुमेह हुने तथा मुटु एवं रक्तनलीसम्बन्धी समस्या उत्पन्न हुनसक्छ।
पहिल्यै मधुमेह भएकी गर्भवती महिला
गर्भवती महिलामा पहिल्यैदेखि मधुमेह भएको पनि हुनसक्छ। गर्भ जाँचको क्रममा पहिलोचोटी यो गर्भावस्थामा पत्ता लागेको हुन सक्छ। भोक तिर्खा बढी लाग्नु,रातिको समयमा समेत पटकपटक पिसाब लाग्नु,शरीर चिलाउनु,आँखा धमिलो देखिनु,थकाइ लाग्नु,कमजोरी महसुस हुनु,हात खुट्टा झमझमाउनु आदि मधुमेहका लक्षण चिह्न हुन्। यसैगरी घाउचोट लाग्दा निको हुन समय लाग्नु,शारीरिक तौलमा कमी आउनु,विवाहित दम्पतीमा निःसन्तानको समस्या हुनु पनि मधुमेहका लक्षण चिह्न हुन सक्छ।
रगतमा चिनीको मात्रा नियन्त्रणमा भएन भने गर्भे शिशुको मृत्यु हुने,गर्भे शिशु राम्ररी बढ्न नसक्ने,गर्भवती महिलामा कम्पन छुट्ने समस्या हुन सक्ने,रगतमा किटोननामक हानिकारक पदार्थ बढ्न सक्ने हुन सक्छ।
गर्भावस्था र मधुमेह
गर्भावस्थाको असर मधुमेहमा पनि पर्न सक्छ। गर्भावस्थामा ह्युम्यान प्लासेन्टल ल्याक्टोजेन,इस्ट्रोजेन,प्रोजेस्टेरोन,कर्टिसोलनामका रासायानिक तत्वको सामूहिक प्रभावले इन्सुलिनको काममा अवरोध खडा गरी चिनी नियन्त्रणमा राख्न गाह्रो हुन्छ। गर्भेशिशुको साथी सालले इन्सुलिन बढ्ता टुक्राइदिन्छ। गर्भावस्थाको अवधीसँगै इन्सुलिनको आवश्यकता पनि बढ्दै जान्छ। पिसाबबाट बढ्ता चिनी खेर जान सक्ने हुनाले रगतको जाँचबाट मात्र चिनीको वास्तविक मात्रा थाहा हुन्छ। वाकवाकी, संक्रमण तथा सुत्केरी व्यथाले रगतमा अधिक चिनीका कारण हुनसक्ने जटिलता हुन सक्ने हुन्छ। रक्तनलीमा असर पुर्याई आँखाको पर्दा,मिर्गौला,मुटुको रक्तनली तथा नसामा पनि बढ्ता खराब निम्त्याउँछ।
त्यसैगरी मधुमेहको असर गर्भावस्थाका तीनै चरणमा असर गर्न सक्दछ। गर्भावस्थामा गर्भ तुहिने,महिना नपुग्दै व्यथा लाग्ने,गर्भवती महिलामा कम्पन छुट्न सक्ने,गर्भेशिशु वरिपरि पानी बढी हुने,गर्भवती महिलामा छटपटी बढ्ने,आँखाको पर्दा र मिर्गौलामा असर पुग्ने हुन्छ। सुत्केरी व्यथाको दौरान व्यथा लामो हुने,शिशुको टाउको जन्मे पनि काँध अडकन सक्ने,फोरसेप वा भ्याकुम उपकरणको मद्दतले सुत्केरी गराउनु पर्ने,स्त्री जननेन्द्रियमा बच्चा आउने बाटोमा चोट पुग्न सक्ने,सुत्केरी पछि अधिक रक्तस्राव हुन सक्ने हुन्छ। सुत्केरीपश्चात् संक्रमण बढ्ने तथा स्तनपानमा समस्या आउन सक्ने हुन्छ।
नवजात शिशुमा असर
गर्भवती महिलामा भएको मधुमेहको कारण नवजात शिशुमा पनि नकारात्मक असर पर्न सक्छ। गर्भमा छँदै आकार ठूलो हुने,स्नायु प्रणाली,मुटु,मिर्गौला,खाद्यनली सम्बन्धी जन्मजात विकलांग हुन सक्ने,बिना कारण मृत्यु हुने हुनसक्छ। जन्म पश्चात् शिशुको रगतमा चिनीको मात्रा घट्ने,क्याल्सियम र म्याग्नेसियमको मात्रा पनि घटने,श्वासप्रश्वास समस्या आउने,रगत बाक्लो हुने, जन्डिसको मात्रा बढी हुने, मुटुको आकार बढ्ने हुन्छ। नवजात शिशुको रगतमा चिनी नपुगेर,श्वासप्रश्वासको समस्या भएर,रगत बाक्लो भएर अनि जन्डिसको समस्याले मृत्यु हुने दर २–३ गुणाले बढ्छ।
ध्यान दिनुपर्ने कुरा
अन्य गर्भवती महिलामा भन्दा सामान्य तौल भएकी गर्भवती महिलालाई २००० देखि २५०० किलो क्यालोरी प्रतिदिन र मोटोपना भएकीलाई १२०० देखि १८०० किलो क्यालोरी प्रतिदिन आवश्यकता पर्दछ। खानामा रेशादार बढी हुनु पर्दछ। आवश्यक खानाको २५ प्रतिशत बिहानको खानामा हुनु पर्दछ भने दिउँसो र रातीको खानामा ३० -३० प्रतिशत हुनुपर्दछ।
मधुमेहले प्रभावित गर्भवती महिलामा उच्च रक्तचाप वा गर्भे शिशुमा कुनै जटिलता देखिन थालेमा सुत्केरी गराउन तर्फ लाग्नु पर्दछ। मधुमेहले प्रभावित गर्भवती महिलाको उमेर बढी भएमा, धेरै बच्चा पाइसकेको भएमा,पहिलोको गर्भ बिग्रेको भएमा,मधुमेह नियन्त्रणमा राख्न गाह्रो भएमा, कुनै जटिलता आएमा, कम्पन छुटेमा,गर्भे शिशुको वरिपरि पानी बढी भएमा,बच्चाको बसाइ उल्टो भएमा, बच्चा निकै ठूलो (४ किलोभन्दा बढीको) भएमा सिजेरियन अपरेशनको जरुरत पर्न सक्दछ।
समग्रमा करिब ५० प्रतिशत मधुमेहले प्रभावित गर्भवती महिलालाई सुत्केरी बेलामा सिजेरियन अपरेसनको आवश्यकता पर्दछ। बच्चाको स्याहार राम्ररी गर्नु पर्दछ। किनकि मधुमेह भएकी गर्भवती महिला सुत्केरी हुँदा शिशु निस्सासिन सक्छ। सुत्केरी पछि कुनै विकलांग छ,छैन राम्ररी जाँच गर्नु पर्दछ। जन्मेको दुई घण्टाभित्र नवजात शिशुको रगतमा चिनीको मात्रा जाँच्नु पर्दछ।









