घोराहीः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा सेवा बाफतको करिब १४ करोड रुपैयाँ भुक्तानी नहुँदा प्रतिष्ठान गम्भीर आर्थिक संकटतर्फ धकेलिएको छ।
लामो समयदेखि बिमा बोर्डबाट भुक्तानी नआएपछि प्रतिष्ठानको नियमित सेवा सञ्चालनमै समस्या देखिन थालेको छ। प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालका अनुसार कात्तिकसम्मको करिब ११ करोड रुपैयाँ बिमाको रकम हालसम्म भुक्तानी भएको छैन।
मंसिर र पुस महिनाको बिमा रकमसमेत जोड्दा भुक्तानी हुन बाँकी रकम करिब १४ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए। बिमा बोर्डलाई पटक–पटक पत्राचार गरी भुक्तानीको माग गरिए पनि हालसम्म ठूलो रकम अड्किएर बसेको र यसले प्रतिष्ठानको आर्थिक अवस्था निकै कमजोर बनेको रजिस्ट्रार लम्सालले बताए ।
बिमा सेवा बाफतको करोडौँ रुपैयाँ भुक्तानी नहुँदा औषधि आपूर्तिकर्ताहरूले औषधि तथा औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। यसले बिमामार्फत प्रदान गरिने उपचार सेवासमेत प्रभावित हुन सक्ने खतरा बढेको छ ।
रजिस्ट्रार लम्सालले बिमा सेवाको निरन्तरता र स्वास्थ्य सेवा प्रभावित हुन नदिन बिमाको रकम तत्काल भुक्तानी गरिदिन सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गरेका छन्।








