निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदाको असरः भेरीमा सिजेरियन सुत्केरी झन्डै दोब्बरले बृद्धि

    • स्वास्थ्य पेज

  • १९ पुष २०८२, शनिबार

नेपालगन्जः बाँकेका दुई ठूला नेपालगन्जस्थित सञ्जीवनी कलेज (नेपालगन्ज मेडिकल कलेज) र नेपालगन्ज मेडिक कलेज शिक्षण अस्पताल कोहलपुरमा आमा सुरक्षा कार्यक्रम बन्द छ ।

वरपरका निजी दुई अस्पतालहरुमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा सुत्केरी सेवाको चाप अत्यधिक बढेको छ । सीमित जनशक्ति, शय्या र पूर्वाधारकै बीच भेरी अस्पतालले बढ्दो बिरामीको भार धान्न कठिनाइ भोग्न थालेको छ ।

भेरी अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-८२ का पहिलो पाँच महिनामा २ हजार ६ सय ४० वटा सुत्केरी सेवा दिइएकोमा आर्थिक वर्ष २०८२-८३ को सोही अवधिमा यो संख्या बढेर ३ हजार २ सय ७५ पुगेको अस्पतालले जनाएको छ । यो अवधिमै करिब ६३५ वटा सुत्केरी संख्या वृद्धि भएको देखिन्छ ।

सामान्य सुत्केरी संख्या २०८१-८२ मा १ हजार ८ सय ३४ रहेकोमा २०८२-८३ मा बढेर २ हजार १ सय ४ पुगेको छ । सिजेरियन (शल्यक्रिया) सुत्केरी पनि झन्डै दोब्बरले बृद्धि भएको  छ । सिजेरियन सुत्केरी ७०८ बाट बढेर १ हजार ५६ पुगेको छ भने इन्स्ट्रुमेन्टल डेलिभरी पनि ९८ बाट ११५ मा पुगेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्डेन्डेन्ट डा.निराजन सुवेदीका अनुसार वरिपरि रहेका निजी ठूला अस्पतालमा आमा सुरक्षा कार्यक्रम नचल्दा सेवाग्राहीहरु सरकारी अस्पतालमै केन्द्रित भएका छन् ।

‘सेवाग्राहीको चाप अस्वाभाविक रुपमा बढेपछि उपलब्ध स्रोत–साधनले सबैलाई गुणस्तरीय सेवा दिन स्वभाविक चुनौती हुन्छ नै उनी भन्छन् -‘समय दिनुपर्ने बिरामीलाई पनि स्वास्थ्यकर्मीहरुले पर्याप्त समय दिन पाइरहनु भएको छैन ।’

चाप धान्न नसक्दा भेरी अस्पतालमै उपचार सम्भव हुने जटिल प्रकृतिका सुत्केरी केसहरु समेत बाध्य भएर अन्यत्र रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालले जनाएको छ । यसले बिरामी र आफन्तलाई थप आर्थिक तथा मानसिक भार पर्न गएको छ । अस्पताललाई पनि व्यवस्थापनमा चुनौती भइरहेको छ ।

निजी क्षेत्र र सम्वद्ध सरोकारवाला सरकारी निकायबीच समन्वय गरी आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन गर्न अत्यन्तै आवश्यक देखिएको छ । भेरी अस्पतालको यही जनशक्ति र पूर्वाधारले सुत्केरी सेवालाई प्रभावकारी गराउन गाह्रो हुने अस्पताल प्रशासन बताउँछ ।

आमा र नवजात शिशुको ज्यानसँग जोडिएको सेवामा देखिएको यो संकट समाधानका लागि सरकारले तत्काल दीर्घकालीन योजना र ठोस कदम चाल्नुपर्ने स्थानीयहरु बताउँछन् ।

  • १९ पुष २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech