राप्तीसोनारीमा स्थायी बन्ध्याकरण शिविर

    • स्वास्थ्य पेज

  • १९ पुष २०८२, शनिबार

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेको आयोजना, मेरीस्तोप नेपालको प्राविधिक सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा शुक्रबार राप्तीसोनारी गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ । शिविरमार्फत १२ जना सेवाग्राहीले सुरक्षितरूपमा स्थायी बन्ध्याकरण सेवा लिएका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा आयोजित उक्त शिविरमा परिवार नियोजनका स्थायी साधनबारे जानकारी दिइनुका साथै इच्छुक दम्पतीहरूलाई परामर्श सेवा प्रदान गरिएको थियो । परामर्शपछि स्वेच्छिकरूपमा सेवाग्राहीहरूले स्थायी बन्ध्याकरण सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । शिविरमा महिलाका लागि मिनिल्याप तथा पुरुषका लागि भ्यासेक्टोमी सेवा उपलब्ध गराइएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधिले परिवार नियोजनले आमा तथा शिशुको स्वास्थ्य सुधार, मातृ मृत्युदर न्यूनीकरण र आर्थिक–सामाजिक स्थायित्वमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी यस्ता शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

मेरीस्तोप नेपालका प्राविधिक टोलीले सेवा सुरक्षित, गुणस्तरीय र मापदण्डअनुसार प्रदान गरिएको जानकारी दिएका छन् । सेवा लिन आएका सेवाग्राहीहरूको गोपनीयता, सरसफाइ र स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकता दिइएको थियो ।

राप्तीसोनारी गाउँपालिकाले स्थानीय तहमा परिवार नियोजन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाका प्रतिनिधिका अनुसार अनियोजित गर्भधारण न्यूनीकरण, महिलाको स्वास्थ्य संरक्षण र परिवारको जीवनस्तर उकास्न स्थायी बन्ध्याकरणजस्ता कार्यक्रम प्रभावकारी हुँदै आएका छन् । स्थानीयवासीहरूले नजिकै नै निःशुल्क र सुरक्षित सेवा पाएकोमा खुसी व्यक्त गरेका छन् ।

  • १९ पुष २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech