सिरहा: दिनभरि इँट्टा–बालुवासँगको संघर्ष, रातभरि डाक्टर बन्ने संकल्प। यही संघर्ष र संकल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरेका छन्, अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन। भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ। सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ। कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उहाँले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ।
हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ। यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ। यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए, डाक्टर बन्ने सपना। आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ।
यो सफलता त्यत्तिकै मिलेको होइन, आमा सुनितालाई वर्षौंदेखि टाउको दुख्ने समस्या थियो। बुबा कतारमा पसिना बगाइरहनुभएको बेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो। उहाँ आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्नुहुन्थ्यो। डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो। अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उहाँको बालमस्तिष्कमा गहिरो चोट पुर्यायो।
ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, “औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने। आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो। अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु।”
यही अठोटले हो, उनको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ। शुरूमा उनलाई एमबीबीएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन। थियो त केवल एउटा दृढ संकल्प। सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसईई उत्तीर्ण गरे। पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे। त्यसपछि वास्तविक संघर्षको अध्याय शुरू भएको हो।
“सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन। सपना पछ्याउन घर छोड्नुपर्ने भयो। एमबीबीएसको तयारीका लागि काठमाडौँ पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो। तीन महिनामै काठमाडौँ छाडेर घर फर्किँए। उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किनुभयो। परिवारमा भोक कि पढाइ भन्ने संकट आइलाग्यो,” सत्यनारायणले सुनाए।
हातमा दशथोक, मनमा पुस्तक
परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन। काठमाडौँमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए। गाउँमै निर्माण मजदुरको काम रोजे। दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो। शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उनको मन फेरि पढाइतर्फ फर्किन्थ्यो। बत्तीको मधुरो उज्यालोमा चिकित्सा शिक्षाका पुस्तक पल्टाउँथे र प्रवेश परीक्षाको तयारीमा डुब्थे।
“मैले गरिबीले काठमाडौँ छोडेँ, तर सपना छोडेको होइन। मैले अभावले हन्डर खाएँ, तर हिम्मत हारेको थिइनँ। त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको संकल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झकझक्याइरह्यो। आखिर सबैको कुरा अठोट त रहेछ, नहार्ने अठोट,” उनी भन्छन्।
यही अठोटले उनको संघर्षले नयाँ गोरेटो तय गर्यो। मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले किताब किन्थे। कतिपय रात त भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरे। सत्यनारायण भन्छन्, “मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो।” त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले मेडिकल कलेजको ढोकासम्म पुर्याएको हो।
सफलताको उडानः पहिलो प्रयासमै नाम
काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन। त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए। सत्यनारायणले मधेशी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। उनको तपस्याले अन्ततः प्रतिफल दियो। यो खबर सुन्दा परिवारमा खुशीको सीमा छैन।
यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो। बुबा मधुरी साफी भन्छन्, “छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ। हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन।”
जब प्रविधिको सहाराले भाइरल बने
सत्यनारायणको कथा सामाजिक सञ्जालमा चर्चामा आएपछि देशैभरबाट सहयोगी हात उनको झुपडीसम्म पुग्न थालेका छन्। प्रविधिको सहारामा उहाँको सफलताको चर्चा देश, विदेशमा पुगेको छ। विस्तारै आर्थिक सहयोग गर्नेहरू थपिँदै छन्। सहयोगी मनहरू जुर्मुराएका छन्। यो सहयोगले उहाँलाई केही राहत त दिएको छ।
सहयोगी हातहरू झुपडीसम्म आइपुग्दा सत्यनारायणको आँखामा एकातिर कृतज्ञताको भाव देखिन्छ भने अर्कोतिर आफ्नो जिम्मेवारीप्रतिको गहिरो बोध। “जब म काठमाडौँबाट रित्तो हात गाउँ फर्किएर मजदुरी गर्न थालेको थिएँ, मलाई लाग्थ्यो यो लडाइँमा म एक्लै छु। आज देशैभरिबाट मनकारी महानुभावहरूले देखाउनुभएको यो माया देख्दा म भावुक भएको छु। यो सहयोग केवल पैसा मात्र होइन, यो मप्रतिको भरोसा र समाजको ऋण हो, जुन म जीवनभर सेवा गरेर तिर्नेछु,” उनी भन्छन्।
उनलाई आफूजस्तै अन्य गरिब विद्यार्थीको भविष्यको पनि चिन्ता छ। भन्छन्, “म त भाग्यमानी रहेछु र सबैको नजरमा परेँ, तर म जस्ता हजारौँ सत्यनारायणहरू आज पनि गाउँका कुनाकाप्चामा मजदुरी गर्दै सपना मारिरहेका छन्। राज्यले यस्तो प्रणाली बनाओस् कि कोही पनि प्रतिभाशाली विद्यार्थीले पैसाकै अभावमा किताब फाल्नु नपरोस्। सपना मार्न नपरोस्।”
आरक्षणः सीमान्तकृतका लागि वरदान
सत्यनारायणको यो सफलतामा मेहनतसँगै नेपालको समावेशी आरक्षण व्यवस्थाको पनि ठूलो भूमिका छ। मधेश मामिला जानकार प्राडा विजयप्रसाद मिश्र आरक्षणको व्यवस्थाको महत्त्व सत्यनारायणजस्ता धेरै युवाको सफलताले थप सान्दर्भिक बनाउँदै लगेको बताउँछन्। भुइँमान्छेले आफ्नो अधिकार सही प्रयोग नगरेसम्म र ओझेलमा परेको समुदायलाई अवसर नदिएसम्म लोकतन्त्र बलियो हुँदैन भन्ने कुरा यसबाट बुझ्नुपर्ने उनको भनाइ छ।
“आरक्षणलाई अझै वैज्ञानिक बनाउनुपर्छ, यसलाई भुइँमान्छेले लाभ लिने गरी अझै व्यवस्थित बनाउनुपर्छ। कुन समुदाय पछाडि छ भन्ने बुझ्न प्रत्येक १० वर्षमा यसको समीक्षा गर्दै अगाडि बढ्नुपर्छ,” उनी भन्छन्।
सत्यनारायण साफी युवाहरूका लागि प्रेरणाको बलियो स्रोत बनेका छन्। झुपडीमा फुलेको उनी र उनीजस्तै युवाहरूको ‘सपनाको बिउ’ लाई फक्राउन सरकार र सरोकार भएकाहरूको सहयोगको खाँचो रहेको मिश्रको भनाइ छ।








