नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा सिफलिस (Syphilis) रोगसम्बन्धी एक वर्षे वैज्ञानिक अनुसन्धान सुरु गरिएको छ । VENUS अध्ययन २०२६ नाम दिएर राष्ट्रिय महत्वको वैज्ञानिक अनुसन्धानको औपचारिक सुरुआतसँगै आज अस्पताल परिसरमा परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
VENUS26 (Venereal Disease Surveillance: Unveiling Syphilis) अध्ययन सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने बताईएको छ । अध्ययनको नेतृत्व अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला तथा यौनरोग विशेषज्ञ डा. बद्री चापागाईंले गरिरहेका छन् । अस्पतालमा आयोजित परिचयात्मक तथा समन्वयात्मक बैठकमा बोल्दै डा. चापागाईंले सिफलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा सीमित गर्नु गलत हुने धारणा व्यक्त गरे ।
सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको उनले बताए । उनले भने, “हामीले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्न यो अध्ययन सुरु गरिएको हो ।”

अस्पतालमा आयोजित परिचयात्मक तथा समन्वयात्मक बैठक
डा. चापागाईंका अनुसार हाल उपचार पूरा भइसकेका धेरै व्यक्तिहरू पनि रगतको एक मात्र परीक्षण (TPHA) पोजेटिभ भएको आधारमा वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिने अवस्था देखिएको छ । यसले उनीहरूको रोजगारी, पारिवारिक जीवन र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको उनले बताए । TPHA पोजेटिभ हुनु संक्रमण सर्ने अवस्था जनाउने सूचक होइन भन्ने तथ्यलाई प्रमाणसहित स्थापित गर्नु अहिलेको आवश्यकता भएको उनले स्पष्ट पारे ।
बैठकमा उपस्थित सहभागीहरुले VENUS26 अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिएका व्यवहारिक चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी दिने विश्वास व्यक्त गरे । अध्ययनबाट प्राप्त निष्कर्षले भविष्यमा राष्ट्रिय STI मार्गनिर्देशन तथा वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
अध्ययन अन्तर्गत भेरी अस्पतालको छाला तथा यौनरोग विभागमा विशेष ‘VENUS Corner’ स्थापना गरिएको छ । सिफलिससम्बन्धी परामर्श, परीक्षण र उपचार सेवा विभागको कोठा नम्बर २२ बाट सुरक्षित, गोप्य र व्यवस्थित रूपमा प्रदान गरिने अस्पतालले जनाएको छ ।

सहभागीमाझ प्रस्तुतीकरण गर्दै डा.बद्री चापागाईं
आज आयोजित बैठकमा भेरी अस्पतालका विभागीय प्रमुख , वार्ड इन्चार्ज, विशेषज्ञ चिकित्सकहरू, सञ्जीवनी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजका प्रतिनिधि तथा यौनरोग क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
डा. चापागाईंले सिफलिस उपचारयोग्य रोग भएको उल्लेख गर्दै आम नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।









