एमडी/एमएस अध्यापन लक्षित फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम भेरी अस्पतालमा

    • स्वास्थ्य पेज

  • १२ पुष २०८२, शनिबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा तीन दिने फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम आजबाट सुरु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रम पौष १४ गते सोमबारसम्म सञ्चालन हुनेछ ।

भेरी अस्पताल विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण अस्पतालको रूपमा विकास भएसँगै पठन–पाठनमा संलग्न चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो । हाल भेरी अस्पतालमा MD/MS कोर्सको अध्यापन सुरु भइसकेको छ । अस्पतालमा सुरु भएको फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम MD/MS तहका विद्यार्थीलाई अध्यापन गराउने प्राध्यापक तथा वरिष्ठ चिकित्सक लक्षित रहेको छ । कार्यक्रममा स्नातकोत्तर तहका विद्यार्थीलाई प्रभावकारी रूपमा पढाउने सीप विकासमा जोड दिइनेछ ।

फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम

कार्यक्रममा मुख्य रूपमा आधुनिक अध्यापन विधि, पाठ्यक्रम अनुसारको परीक्षा प्रणाली र मूल्याङ्कन विधि, थेसिस तथा अनुसन्धान निर्देशन, क्लिनिकल तथा एकेडेमिक एथिक्स, विद्यार्थी–प्राध्यापकबीच प्रभावकारी समन्वय र संवाद कौशललगायत विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

आज आयोजित उद्घाटन समारोह न्याम्सका मेडिकल एजुकेसनका भेरी अस्पताल फोकल पर्सन समेत रहेका प्रमुख कन्सल्टेन्ट फिजिसियन सह- प्रा.डा.राजन पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि न्याम्सका उपकुलपति डा.भूपेन्द्र कुमार बस्नेत, विशिष्ट अतिथि रजिष्ट्रार तथा सह–प्राध्यापक डा. ज्ञानेन्द्र शाह, डिन प्रोफेसर अशेष ढुंगाना, मेडिकल एजुकेसन बोर्डका अध्यक्ष प्रोफेसर डा. सन्ध्या चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मी

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार अस्पतालमा कार्यरत ३० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उक्त कार्यक्रममा प्रशिक्षण लिइरहेका छन् । फ्याकल्टीका आधारमा रेसिडेन्ट चिकित्सक (आवासीय)  अस्पतालमा आएर अध्ययन तथा प्रशिक्षण कार्य सुरु गरिसकेको डा. सुवेदीले जानकारी दिए ।

  • १२ पुष २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech