दाङ: पश्चिम नेपालको स्वास्थ्य सेवामा नयाँ आयाम थपिँदै गएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीले न्युरोसर्जरी सेवा सफलतापूर्वक सुरु गरेपछि अब मुटु रोगको उपचार सेवा पनि सञ्चालन गर्ने अन्तिम तयारी पूरा गरेको छ।
यससँगै दाङसहित आसपासका नागरिकले जटिल मुटु रोगको उपचारका लागि अब नेपालगन्ज, काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यता क्रमशः हट्ने भएको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालका अनुसार मुटु रोग उपचारका लागि अत्यावश्यक मानिने क्याथ्ल्याब (Cardiac Catheterization Lab) सेवा सूचाररु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आवश्यक भौतिक संरचना, उपकरण व्यवस्थापन र जनशक्ति तयारी लगभग सम्पन्न भइसकेको उनले जानकारी दिए।
मुटु रोग उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी उपलब्ध भइसकेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानमा कार्डियोलोजिष्ट डा. दिनेश उप्रेतीलाई खटाइसकेको छ। डा. उप्रेतिको उपस्थितिसँगै अब प्रारम्भिक परीक्षणदेखि जटिल मुटु सम्बन्धी रोगको उपचारसम्म सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
यसअघि प्रतिष्ठानले युरोलोजी तथा युरोसर्जरी जस्ता विशिष्टीकृत सेवाहरू सञ्चालनमा ल्याइसकेको छ। क्रमशः विशेषज्ञ सेवाहरु थपिँदै जाँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्षेत्रीय रेफरल अस्पतालका रुपमा विकास गर्ने लक्ष्यतर्फ अघि बढिरहेको देखिन्छ।
रजिस्ट्रार लम्सालका अनुसार चालु आर्थिक वर्षभित्रै ४०० शैयाको अस्पताल पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ। यसले बिरामीको चाप व्यवस्थापन गर्न सहयोग पुग्ने र सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
विशेषज्ञ सेवा विस्तारसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ मात्र नभई प्युठान, सल्यान, रोल्पा, रुकुमका लाखौँ नागरिकका लागि आशाको केन्द्र बन्दै गएको छ।








