नेपालगन्जः हुम्लाको अदानचुली गाउँपालिकामा पहिलोपटक डाक्टर पुगेपछि स्थानीयवासीहरुमा खुसी छाएको छ । हुम्ला जिल्लाको दक्षिण भागमा पर्ने उक्त गाउँपालिकामा छात्रवृत्ति करार अन्तर्गतका डाक्टर गणेश जैसी खटाइएका हुन् ।
गाउँपालिकाको केन्द्र श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्य चौकीमा रहेर काम गर्नेगरी खटाइएका डा. जैसी पुगेपछि गाउँपालिकाले उनको भव्य स्वागत गर्याे । स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले उपचार नपाउँदा नागरिकहरुले अस्पताल पुग्न नपाउँदै बाटोमै ज्यान जाने गरेको अवस्थामा अब सुधार आउने अपेक्षा व्यक्त गरे ।
पहिले बाटो नहुँदा नागरिकहरुलाई पिठ्युमा बोकेर अस्पताल लैजाँदा लैजाँदै ज्यान गुमाएका धेरै घटनाहरु रहेका स्मरण गर्दै उनले अहिले बाटो बनेर सवारी साधन चल्न थालेको र डाक्टर पनि पुगेकोले अब त्यस्ता घटनाहरुमा कमी आउने विश्वास व्यक्त गरे । उनले भने, ‘अब यहाँ हुनसक्ने उपचार यहीँ गर्ने र थप उपचारमा जानुपरे सुविधा सम्पन्न अस्पतालमा समयमै जान सल्लाह पाइनेछ । मलाई हामीले देउता पायौँ भन्ने अनुभूति भएको छ ।’

बिरामी जाँच्दै डा.गणेश जैशी ।
उनले डाक्टर तथा स्वास्थ्यकर्मीलाई गाउँमा कसरी टिकाइराख्ने भन्ने विषयमा गाउँपालिकाले ध्यान दिने पनि बताए । उनले स्वास्थ्य चौकीलाई थप व्यवस्थित बनाउने पनि प्रतिबद्धता जनाए । स्वागतपछि डा. जैसीले आफूले विकट जिल्लाको रुपमा हुम्लालाई छनौट गरेर आएको बताउँदै आफ्नो क्षमता र स्रोत साधनले भ्याउने सेवा दत्तचित्त भएर दिने प्रतिबद्धता जनाए ।
उनले आफू पनि अछामको सुविधा बन्चित गाउँ बारलामा जन्मेहुर्केकोले गाउँका समस्या र बाध्यताहरु राम्ररी बुझेकोले सहकार्यमार्फत राम्रो सेवा दिन पर्यत्न गर्ने बताए । यद्धपि साधनस्रोत तथा उपकरणको उपलब्धता नहुँदा हुनसक्ने कठिनाईहरुका विषयमा पनि स्थानीय नागरिकहरुले सहयोग गर्ने अपेक्षा उनले व्यक्त गरे । स्वागत कार्यक्रममा गाउँपालिकाका कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, शिक्षक तथा स्थानीयवासीहरु सहभागी थिए ।
हुम्ला जिल्ला सदरमुकाममा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा चिकित्सक रहेपनि स्थानीय तहमा यसपटकबाट चिकित्सकहरु खटाइएको हो । छात्रवृत्ति करार सेवामा जिल्लाको खार्पुनाथ गाउँपालिकामा डा. दिवेश यादव र सर्केगाड गाउँपालिकामा डाक्टर इश्वरी पौडेललाई खटाइएको छ ।








