बाँके –बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखा र युवा रेडक्रस सर्कलको आयोजना तथा न्यू डाँफे स्पोर्ट्स क्लबको सहकार्यमा मंगलबार शिविर सम्पन्न भएको हो ।
शिविरमा ४८९ जना बिरामीले उपचार तथा परामर्श सेवा लिएका थिए। आँखा जाँचमा ३०९ जना सहभागी भएका थिए, जसमा २५९ जना वयस्क/बृद्ध र ५० जना विद्यार्थी थिए । शिविरमा ६० जनामा मोतिबिन्दु अप्रेसन आवश्यक ठहरिएको र ४१ जनामा आँखामा मासु पलाएको समस्या पत्ता लागेको थियो । छनोट भएका बिरामीलाई अप्रेसनमा ५० प्रतिशत छुट उपलब्ध गराइने नेपालगन्ज आँखा अस्पतालका निर्देशक बद्री श्रेष्ठले जानकारी दिए ।

शिविरमा सहभागीहरु
कान जाँचमा १८० जना बिरामीले उपचार तथा परामर्श सेवा लिए । १८ जनामा कान अप्रेसन आवश्यक भएको पाइएको छ भने ३१ जनामा कम सुन्ने समस्या र ८ जनामा हेरिङ एड प्रयोग आवश्यक भएको थियो । ३४ जनालाई पुन: जाँचका लागि रिफर गरिएको छ । कान अप्रेसनमा सहभागीलाई अस्पतालले ३०–७० प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विक
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विक, रेडक्रस सभापति जीवनाथ सापकोटा, युवा रेडक्रस सर्कल अध्यक्ष खगेन्द्र दाहाल लगायत उपस्थित थिए । उपस्थित अतिथिहरूले स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका बिरामीहरूलाई राहत पुर्याएको र रेडक्रसको मानवीय सेवामा योगदान प्रशंसनीय भएको उल्लेख गरेका थिए ।
शिविरमा प्राविधिक सहयोग नेपालगन्ज आँखा अस्पताल र बि एन अस्पतालले प्रदान गरेको थियो ।








