नेपालगन्जः सरकारले ३ लाख बढी किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिने भएको छ। सरकारले पाठेघर मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरेको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १० वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गरी फागुनको पहिलो सातादेखि एचपिभी खोप दिन लागिएको हो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले एचपीभी खोप अब नियमित कार्यक्रममा समावेश भएको बताए ।
गत वर्ष सरकारले अभियानको रूपमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख जनालाई खोप दिएको थियो । जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए ।
खोप कार्यक्रम भने विद्यालय र स्वास्थ्य संस्था केन्द्रित हुनेछ । यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।
चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । नेपालमा औसत चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी अनुसार १४ वर्षमुनि भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि, यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।
‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन । भाइरस प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ,’ सुवेदी भन्छन् ।
नेपालमा क्यान्सरसम्बन्धी जनचेतनाको निकै कमी छ । कुनै पनि क्यान्सर समयमै पहिचान भएको खण्डमा र समयमै उपचार गर्न सके निको हुनसक्छ । तर कतिपय मानिस अज्ञानताका कारण क्यान्सर लागेको अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।
मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीका अनुसार, नेपालमा क्यान्सरबाट हुने मृत्युमा पाठेघरको क्यान्सर प्रमुख कारण बन्दै गएको छ ।
ग्रामीण क्षेत्रका महिलाहरू यस रोगबाट बढी प्रभावित छन् । परिवार नियोजनका साधनको कम प्रयोग र नियमित स्वास्थ्य जाँचको अभावले गर्दा दुर्गम क्षेत्रका महिलाहरु बढी जोखिममा रहेको चिकित्सक बताउँछन् ।
भाइरस संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिँदा हुन्छ ।
एचपीभी खोप केवल पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुनसक्ने अन्य समस्याबाट पनि बचाउँछ । एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ ।








