कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ । बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १०–१५ प्रतिशत दम्पतिमा बाँझोपन देखिन्छ । नेपालमा पनि यो अनुपात उल्लेख्य मात्रामा छ । बाँझोपनले केवल व्यक्तिगत जीवनमा मात्र होइन, पारिवारिक र सामाजिक सम्बन्धलाई समेत गहिरो असर पार्छ । तर, यसको बारेमा अझै पनि गलत धारणाहरू हावी छन् । जसको कारणले दम्पतिहरु मानसिक तनावमा रहेको पाइन्छ ।
कारण के हो ?
कुनै एक कारणले मात्र बाँझोपन हुँदैन । बाँझोपन हुने कारण धेरै छन् । महिला र पुरुष दुबैका समस्याका कारण बाँझोपन हुन सक्छ । जस्तैः ढिलो उमेरमा विवाह । करियर, अध्ययन वा व्यक्तिगत कारणले ढिला गरी विहे गर्दा पनि सन्तान उत्पादनमा गम्भीर असर परिरहेको छ । महिलाको उमेर ३५ वर्ष पुग्यो भने विस्तारै अण्डा उत्पादन घट्दै जान्छ । पुरुषको पनि विर्य उत्पादनमा असर पर्न थाल्छ । जसका कारण सन्तान उत्पादन चुनौतीपूर्ण हुन्छ । उमेर बढेसँगै गर्भधारण सम्भावना घट्छ र गर्भपतनको जोखिम समेत बढ्छ । वैदेशिक रोजगारका कारण पनि पुरुष बाँझोपन बढ्दै गएको छ । खाडी मुलुक जस्ता तातो र आद्र्र स्थानमा लामो समय काम गर्दा शुक्राणु उत्पादनमा नकारात्मक असर पर्न सक्छ भनेर बिभिन्न अनुसन्धानहरुले देखाएको छ । लामो समय दम्पत्ति अलग बस्दा पनि निसन्तानपनको समस्या बढेको छ । बाँझोपनको अर्को समस्या हो, अस्वस्थ जीवनशैली । धुम्रपान, मदिरा सेवन, चुरोट–गुट्खाले पुरुष र महिला दुवैको प्रजनन क्षमता घटाउँछ । महिलामा अण्डाको क्षमतामा ह्रास ल्याउँछ भने पुरुषको बिर्यमा नकारात्मक असर ल्याउँछ । अनियमित महिनावारी जस्ता समस्या बढाउँदा पनि सन्तान हुँदैनन् । तनाव, अनिद्रा, खराब खानपानले पनि गर्भधारणमा समस्या ल्याउँछ ।
बाँझोपनबाट बच्ने उपाय
सकेसम्म २० देखि ३० वर्षको उमेरभित्र बच्चा जन्माउने योजना बनाउनु नै सबैभन्दा राम्रो हो । बाँझोपन उपचारमा आधुनिक प्रविधि भए पनि, जीवनशैली सुधार नै सबैभन्दा महत्वपूर्ण आधार हो । धेरै अवस्थामा केवल जीवनशैली परिवर्तनले पनि गर्भधारण सम्भावना बढ्छ । जस्तैः हामी बुँदामा चर्चा गरौं ।
१. स्वस्थ आहार
. प्रोटिनयुक्त खाना (दाल, मासु, अण्डा, दूध, सागसब्जी) नियमित खानुपर्छ ।
. फलफूल र हरियो सागपात बढी खानु पर्छ ।
. डिप फ्राइड (जस्तै चिप्स, चाउचाउ, प्याकेट जुस), चिया, कफी लगायतका खाने कुराहरु नियन्त्रणमा राख्नु नै उपयुक्त हो ।
२. तौल नियन्त्रण
. मोटोपना वा अत्यधिक दुब्लोपन दुवै बाँझोपनका कारण बन्न सक्छन् । त्यसैले तौललाई नियन्त्रणमा राख्नुपर्छ ।
३. धुम्रपान र मदिरा छाड्ने
. धुम्रपानले शुक्राणु संख्या र गुणस्तर दुवै घटाउने भएकाले यो लत छाडेकै राम्रो ।
. मदिराले पनि हर्मोनल असन्तुलन ल्याउँछ र अण्डाशयलाई असर गर्छ ।
. चुरोट, गुट्खा, सुपारी जस्ता बानी पूर्ण रुपमा छाड्न जरुरी छ ।
४. व्यायाम र शारीरिक सक्रियता
लामो समय बसिरहने (कभमभलतबचथ षिभकतथभि) बानीले पनि प्रजनन स्वास्थ्यमा नकारात्मक असर गर्छ । त्यसैले दैनिक कम्तिमा ३० मिनेट मध्यम व्यायाम (हिँड्ने, दौड्ने, योग) गर्नुपर्छ ।
५. तनाव व्यवस्थापन
तनावले हर्मोनल असन्तुलन बढाउँछ, जसको असर प्रजननमा पर्छ । त्यसैले योग, प्राणायाम गरेर मानसिक स्वास्थ्य सुधार गर्ने, पर्याप्त निद्रा
(७–८ घण्टा) सुत्ने गरियो भने तनाव व्यवस्थापन हुन सक्छ ।
(प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भेरी अस्पतालमा कार्यरत छन् ।)









