बाँकेमा भयावह बन्दै लागूऔषधः किन तानिन्छन् कूलतमा ?

यो समस्या कुनै सहर, कुनै परिवार वा कुनै परिस्थितिमा मात्र सीमित छैन । साथीभाइको लहलही, प्रेममा पाएको चोट, पढाइमा असफलता, आत्मविश्वको कमी, बेरोजगारीले ल्याएको आन्तरिक तनाव यी सबै एकसाथ मिसिँदा युवा पुस्तालाई नशातिर धकेल्छ । अहिले त विद्यालयमा अध्ययनरत बालबालिकासमेत जोखिममा छन् ।


    • प्रियास्मृति ढकाल

  • २१ मंसिर २०८२, आईतवार

तस्विरः एआइबाट सिर्जना गरिएको हो । उपचार, मनोसामाजिक परामर्श र कडा आत्मविश्वास हुने हो भने वाहिरको संसार सुन्दर भएजस्तै जीवन पनि सुन्दर देखिन्छ ।

नेपालगन्जः नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस छेउमा भीड सामान्य थियो । तर त्यहीँ भीडबीच तीन साता अघि एक युवती मृत फेला परेको खवरले नेपालगन्ज सहरभरी बेचैनी फैलायो । ती युवती थिइन्, राप्तीसोनारीकी २२ वर्षीया मिना । केही समयदेखि ‘ब्राउन सुगर’ को चपेटामा परेकी उनी त्यहीँ नशाको दलदलमै जीवनसँग हारिन् । घरको आर्थिक अभाव, साथीहरुको प्रभाव र बेरोजगारीको निराशाबीच सबैले मिलेर एकछिनको आनन्दका नाममा मिनाको जीवनलिला समाप्त पारिदियो । यति असामयिक मृत्यु केवल घटनाको विवरण जस्तो सुनिए पनि यसले बाँकेमा लागूपदार्थ दुर्व्यसनको वास्तविकता नाँगै पारिदिएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी अंगु जिसी भन्छन्–‘मृत्युमा थुप्रै कारण हुन्छन्, तर दुव्यर्सनि एउटा महत्वपूर्ण कारण अवश्य हो ।’ यही घटनाले समुदायस्तरका युवाहरुमा दुर्व्यसेनको हद कहाँसम्म पुगेको छ प्रष्ट पारिदिएको छ। भारतसँगको खुला सीमा र असहज निगरानीले बाँके अहिले लागूपदार्थको मुख्य प्रवेशविन्दु बनेको छ । खुला सीमा त नशाका कारोवारका लागि खुला ढोका नै बनेको छ । रोजगारीको खोजी, व्यापार, उपचार वा भेटघाटका नाममा भारत जानेआउने सहजता दुर्व्यसनको लागि उत्तिकै उपयोग भएको देखिन्छ । आर्थिक वर्ष ०८१/०८२ मा मात्रै २१३ वटा लागूपदार्थसम्वन्धी मुद्दा दर्ता भएका छन् भने ३१९ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म ६१ वटा मुद्दा दर्ता भएका छन् भने ८७ जना पक्राउ परेका छन् ।

यो आंकडाले नशाको प्रवाह रोकिएको छैन, अझै तीब्र गतिमा फैलिँदैछ भन्ने संकेत दिन्छ । बाँके हिरासत कक्ष, अदालतको फाइल, कारागारका ओछ्यान जताततै नशा नामको एकै अपराध च्यापिएको देखिन्छ । प्रहरीको हिरासत कक्षदेखि कारागारसम्म हेर्ने हो भने अधिकांश लागूपदार्थको मुद्दामा पक्राउ परेकाहरु रहेको प्रहरीको तथ्यांकले देखाउँछ । उत्तम उप्रेती वर्षौदेखि दुर्व्यसनविरुद्धको अभियान चलाउँदै आएका व्यक्ति हुन् । उनका अनुसार यो समस्या कुनै सहर, कुनै परिवार वा कुनै परिस्थितिमा मात्र सीमित छैन । साथीभाइको लहलही, प्रेममा पाएको चोट, पढाइमा असफलता, आत्मविश्वको कमी, बेरोजगारीले ल्याएको आन्तरिक तनाव यी सबै एकसाथ मिसिँदा युवा पुस्तालाई नशातिर धकेल्छ । अहिले त विद्यालयमा अध्ययनरत बालबालिकासमेत जोखिममा छन् ।

रमाइलो भनेर सुरु हुने चुरोटको धुवाले कति जीवनको दिशा बदलिदिन्छ यसका उदाहरण गाउँ–टोलमा सजिलै भेन्छिन् । त्यस्तै एक उदाहरण हुन्, दिलराम । स्कुलमै चुरोट तान्न सिकेका उनलाई त्यो चुरोटको धुवाले १४ वर्षसम्म नशाको नर्कमा थामेर राख्यो । सुरुमा साथीहरुको उक्साहटमा चुरोट, पछि कोरेक्स र अन्य पदार्थ । परिवारलाई सुरुमा केही थाहा भएन । पढाइ खस्क्यिो, खर्च बढ्यो र व्यवहार विग्रिन थाल्यो । १६ वर्ष पुग्दापुग्दै उनी चोरी गर्नसम्मको अवस्थामा पुगे । अन्ततः परिवारले कठिन निर्णय गर्दै उनलाई सुधारगृहमा पुर्‍यायो । एक वर्षको उपचार, मनोसामाजिक परामर्श र कडा आत्मविश्वासपछि मात्र दिलराम पुरानो जीवन फर्काउन सफल भए । उनी अहिले आफु जस्तै लतमा फसेकाहरुलाई उद्दार गर्न सक्रिय छन् मुक्ति सम्भव छ भन्ने जिवन्त उदाहरण बनेर ।

यस्ता घटनाले सतहमा एउटा कुरा प्रष्ट पार्छ नशा केवल शरीर बिगार्ने पदार्थमात्र होइन, यो मानसिक उत्पीडन, सामाजिक विखण्डन र पारिवारिक विनाशको गलैँचा हो । तर यस समस्या समाधानका लागि प्रहरी मात्रै पर्याप्त हुँदैन । ‘प्रहरी कडा हुन्छ हुँदैन भन्ने बहस भन्दा ठूलो कुरा परिवार र समाजले कति जिम्मेवारी निर्वाह गर्छन् भन्ने हो एसपी जिसी भन्छन्–‘अभिभावक आफ्नो बच्चाको समय, खर्च, साथी, व्यवहार यी सबै निगरानी गर्नुपर्छ । बच्चा विद्यालय गए कि गएन, घरमा को कति भेटन् आउँछन, हातमा कति पैसा छ । यी सामान्य जस्तै लाग्ने प्रश्नहरु नै धेरै युवालाई दुव्र्यसनबाट जोगाउन सक्षम हुन्छन् ।’

उनका अनुसार, दुर्व्यसनलाई बदमासी बुझ्ने दृष्किोण नै गलत हो । यो रोग हो, उपचार आवश्यक छ । समयमै परामर्श र सुधारगृहमा पुर्‍याउन सके ज्यान जोगिन्छ । उनले जयसपुर, खजुराखुर्द जस्ता उच्च जोखिम क्षेत्रहरुमा प्रहरीले कडाइ बढाएको बताउँछन् । स्थानीयले बर्षौदेखि उजागर गर्दै आएका अवैध गतिविधि अहिले धेरै हदसम्म थामिएको दावी पनि एसपी जिसीको छ । तर उनी स्वयम भन्छन्–‘प्रहरी मात्रले यो समस्या समाधान हुँदैन । परिवार, विद्यालय, समाज र स्वयम युवाहरुको सहभागिता अनिवार्य छ ।’

मानिस कसरी लागूपर्दाथ सेवन गर्नतर्फ तानिन्छ ?

-‘थोरै खाँदा केही हुँदैन’ भन्ने गलत विश्वास, साथीहरूबाट दबाब, तनाव, चिन्ता, डिप्रेसन, बेरोजगारी, उद्देश्यहीनता, समय धेरै खाली हुनु, गरिबी, सामाजिक–आर्थिक असमानताले पनि मानिस नशातर्फ आकर्षित हुन्छ ।

-घर–परिवारमा समस्या, कलह वा हेरचाहको कमी, परिवारमै लागूपदार्थ प्रयोग गर्ने सदस्यका कारण पनि नशाप्रति रुचि बढ्छ ।

-पार्टी, रमाइलो वा मनोरञ्जनका नाममा, एक्लोपन, आत्मविश्वास कमी, भावनात्मक कमजोरी र खुला सीमा वा स्थानीय पहुँचका कारण सजिलै उपलब्धता हुँदा पनि नशामा धकलिने अवस्था रहन्छ ।

लागूपर्दाथको लतमा फसेको कसरी थाहा पाउने ?

-घर–परिवारसँग बोल्ने तरिका बदलिनु, झर्किनु, रिसाउन थाल्नु, अरूसँग बस्न नचाहने, एक्लै बस्ने बानी, आफैँबारे धेरै गोप्य राख्न थाल्नु,  झूट बोल्ने बानि बढनु लतमा फसेको शंका गर्न सकिन्छ ।

-पढाइमा अचानक गिरावट आउनु, काममा ध्यान नलाग्ने, जिम्मेवारीबाट भाग्न खोज्नु पनि यसका संकेत हुन् । घरबाट पैसा चोर्नु वा बारम्बार पैसा माग्नु, पैसा कहाँ खर्च भयो भन्ने स्पष्ट जानकारी नदिनु, साना–साना सामान बेच्ने प्रवृत्ति देखिनु पनि लतमा फसेको हुन सक्ने संकेत हुन् ।

-आँखा रातो र पानी झर्ने, शरीरमा थकान, हात काँप्नु, अनुहार मलिन देखिुन, अत्यधिक तिर्खा लाग्नु, मुख सुक्खा हुनु लगायतका शारीरिक अवस्था देखिएको छ भने दुर्व्यसनको लतमा फसेको अनुमान गर्न सकिन्छ ।

लागूपर्दाथबाट कसरी बचाउन सकिन्छ ?

-परिवारबाट प्रेम, संवाद र निगरानी

-मानसिक स्वास्थ्यबारे शिक्षा

-सकारात्मक साथी–समूहको वातावरण

-खेलकुद, कला वा सीपमा संलग्नता

-समुदाय–स्कूल–सरकारको कडाइ र सहयोग

  • २१ मंसिर २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech