नेपालगञ्ज । २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको छ ।
६० वर्ष उमेर पुगेका नारायणी रुपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ, मंगलीमाया श्रेष्ठ, गीता शाही, गीता अधिकारी, राधादेवी कुर्मी र मन्नीदेवी कोरीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, महिला स्वयंसेविका संघ नेपालगञ्जकी अध्यक्ष प्रेमा शाहीलगायतले सम्मान प्रदान गरेका थिए ।

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
महिला स्वयंसेविका संघ नेपालगञ्जकी अध्यक्ष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख विष्टले सामुदायिक तहमा स्वास्थ्य सचेतना वृद्धि र स्वास्थ्य सूचकको विकासमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रशंसनीय रहेको बताए । उनले नेपालगञ्ज उपमहानगरपालिका स्वयंसेविकाको प्रोत्साहन र बृत्ति विकासका लागि नगरपालिका गम्भीर रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, स्वास्थ्य संस्था प्रमुखतर्फबाट शर्मिला सुवेदीलगायतले स्वयंसेविकाको योगदानको प्रशंसा गरेका थिए । त्यसक्रममा सम्मानित स्वयंसेविका नारायणी रुपाखेती र स्वास्थ्य स्वयंसेविका शुष्मा चौधरीले पनि आफ्नो अनुभव राखेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य स्वयंसेविका आइला बोहराले गरेकी थिइन् ।
औपचारिक कार्यक्रमपूर्व बीपी चोकबाट प्रभातफेरि निकालिएको थियो ।









