नेपालगन्जः बर्दियाको गुलरिया नगरपालिकाका विभिन्न वडामा सोमवारदेखि निःशुल्क प्राथमिक कान उपचार शिविर सुरु भएको छ । बहिरोपना निवारण कार्यक्रमअन्तर्गत बिन्रोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुल्टेका–५, नेपालगन्ज बाँके को आयोजना र गुलरिया नगरपालिकाको समन्वयमा शिविर सुरु भएको हो ।
पहिलो दिन सोमवार खैरापुर स्वास्थ्य चौकीमा गरिएको शिविरमा ४५ पुरुष र ६७ महिला गरी ११२ जनाले सेवा लिएका छन् । तीमध्ये ९ जनालाई कान अप्रेशनका लागि रिफर गरिएको वरिष्ठ कान सहायक चिकित्सक भिषण थारुले बताए ।
१८ जनाको भने कान पाक्ने समस्या देखिएको र उनीहरुलाई निःशुल्क औषधि प्रदान गरिएको छ । भिषणसँगै अर्का कान सहायक चिकित्सक दामोदर चौधरीले बिरामीको कान चेकजाँच गरेका थिए ।

त्यसैगरी भदौं १६ गते आधारभूत स्वास्थ्य केन्द्र, तुल्सीपुरमा, १७ गते आधारभूत स्वास्थ्य केन्द्र, बालापुरमा, १८ गते आधारभूत स्वास्थ्य केन्द्र चौगुर्जीमा, १९ गते आधारभूत स्वास्थ्य चौकी आशापुरमा, २२ गते मथुरा हरद्धवार स्वास्थ्य चौकीमा र २३ गते महमदपुर स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको छ ।
ब्रिनोजका आउट रिज इन्चार्ज समेत रहेका थारुका अनुसार कानसम्बन्धी समस्या भएका नागरिकलाई सजिलो र पहुँचयोग्य बनाउने उद्देश्यले गाउँ—बस्तीमै पुगेर सेवा प्रदान गरिएको हो । शिविरमा नाम दर्तादेखि परीक्षणसम्मका सबै सेवा निःशुल्क उपलब्ध गराइनेछ । शिविरमा बिहान १० बजेदेखि ३ बजेसम्म कान परीक्षण गरिनेछ भने नाम दर्ता बिहान १० देखि २ बजेसम्म खुला रहनेछ ।
कानको समस्या जटिल देखिएका बिरामीलाई छनोट गरी विशेष छुटसहित अपरेशन सेवा समेत उपलब्ध गराइने थारुले बताए । समुदायमै गएर सेवा दिन सक्ने स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनको भनाइ छ ।
“ग्रामीण क्षेत्रमा कानसम्बन्धी समस्या धेरै देखिए पनि समयमै उपचार नपाउनेहरू थुप्रै छन्, त्यसैले सबैलाई सहज भएर उपचार पाऊन् भन्ने उद्देश्यले शिविर गरिएको हो” थारुले भने । शिविरले बर्दियाका दुर्गम र सीमान्त क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।







