नेपालगञ्ज । लायन्स क्लब अफ नेपालगञ्जले विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क मधुमेह जाँच शिविर गरेको छ । लायन्स डेन्टल हस्पिटल नेपालगञ्जस्थित लायन राम नारायण मधुमेह सेवा केन्द्रमा निःशुल्क मधुमेह जाँच गरिएको हो । शिविरमा ३५ जनाको सुगर जाँच गरिएको लायन्स डेन्टल हस्पिटल प्रमुख युवराज सुवेदीले जानकारी दिए । शिविर उद्घाटन कार्यक्रम लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष यज्ञ बहादुर बस्नेतको अध्यक्षता एवम् लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गर्भनर श्रेष्ठले लायन्स क्लबले मानवीय सेवामा समर्पित थुप्रै काम गरिरहेको बताए । उनले लायन्स डेन्टल हस्पिटल र लायन राम नारायण मधुमेह सेवा केन्द्रले निरन्तररुपमा बजार मूल्य भन्दा निकै कम न्यूनतम् मूल्य राखेर रगत जाँच र दन्त उपचार सेवा दिइरहेको बताए । उनले त्यसको लाभ लिन सर्वसाधारणलाई आग्रह पनि गरे । लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष बस्नेतले विश्व मधुमेह दिवसको अवसरमा सुगर जाँच कार्यक्रम राखिएको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले विश्वमा बढ्दो मधुमेहको जोखिम न्यूनीकरणका लागि नियमित रगत परीक्षण आवश्यक रहेको बताए । गिरीले आफ्नो स्वास्थ्यप्रति सजग रहन आवश्यक रहेकोमा जोड दिए । लायन्य क्बल अफ नेपालगञ्जका उपाध्यक्ष तारा खत्रीले सञ्चालन गरेको कार्यक्रममा नेपालगञ्ज क्षेत्रका लायन्स लिडरहरुको उपस्थिति थियो ।







