बाँके–बर्दियाका बहिरा युवाका लागि १५ दिने छ्वाली आर्ट (हस्तकला) तालिम सुरु

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०८२, शुक्रबार

नेपालगञ्ज: बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने छ्वाली आर्ट (हस्तकला) तालिम दिन सुरु गरिएको छ । बाँके र बर्दियाका बहिरा युवा सहभागी तालिम कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेमा सुरु भएको भएको हो ।  तालिमको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गर्नुभयो । राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) संगको सहकार्यमा तालिम सुरु भएको हो ।

कार्यक्रमका सहभागी

गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने छ्वालीबाट बनाइने कलाकृतिलाई छ्वाली आर्ट (हस्तकला) भनिन्छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष विकले बहिरा युवाहरुले तालिम सिकेर भोलिका दिनमा उत्पादन गर्ने छ्वाली आर्ट (हस्तकला) का सामग्री प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जीवनोपयोगी सीपमूलक तालिमले फरक र विशेष क्षमता भएकाहरुको आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । गिरीले उत्पादित सामग्रीको बजारीकरणमा मिडियाको साथ रहने बताउनुभयो ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कृषिमा खेर गइरहेका बस्तुहरुको सदुपयोग गरेर सीप प्रबद्र्धन गर्दै बहिरा युवाहरुको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको  बताउनुभयो । उहाँले छ्वाली आर्टको विदेशमा उच्च माग रहेको समेत बताउनुभयो ।

केसीले बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्धनार्थ प्रचारप्रसार गर्ने उद्देश्य पनि रहेको बताउनुभयो । आगामी दिनमा सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्ने लक्ष्य रहेको केसीको भनाई छ । अध्यक्ष केसीले महासंघले काठमाडौंमा ट्रेकिङ गाइड र वारिष्टा (कफी बनाउने) तालिम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो ।

  • २८ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech