गर्भवतीका लागि टोलटोलमै पुगेर निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०८२, शुक्रबार

बाजुराः बाजुराको बुढिगंगा नगरपालिकामा गर्भवती महिलाका लागि टोलटोलमै पुगेर निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा सञ्चालन भइरहेको छ। नगरपालिका अन्तर्गत रहेका १० वटै वडामा ग्रिन तारा नेपाल नामक गैर–सरकारी संस्थाको सहयोगमा यस्तो सेवा दिइएको नगरप्रमुख रामबहादुर बानियाँले बताए।

ग्रिन ताराकी फिल्ड व्यवस्थापक कविता थापाका अनुसार हरेक महिनामा एकपटक प्रत्येक वडामा पुगेर गर्भवती महिलाको अल्ट्रासाउन्ड तथा अन्य आवश्यक ल्याब परीक्षण गरिँदै आएको छ।

जाँचसँगै परामर्श सेवा पनि दिइने उनले जानकारी दिइन्। पालिकासँगको सहकार्यमा सेवा सञ्चालन हुँदै आएको र अल्ट्रासाउन्ड तथा अन्य जाँचका सामग्री ग्रिन ताराबाट उपलब्ध गराइने समेत थापाले बताइन्।

ग्रिन तारामा कार्यरत अनमी तथा सामुदायिक नर्स विष्णा गिरीले अल्ट्रासाउन्डसँगै रक्तअल्पता, ब्लड–सुगर, पिसाब परीक्षण लगायतका ल्याब सेवा उपलब्ध हुने जानकारी दिइन्। टाँटे स्वास्थ्य चौकीकी अनमी मंगला बोहोरा पनि यस सेवाले गर्भवती महिलालाई ठूलो मद्दत पुगेको बताउँछिन्।

उनका अनुसार अल्ट्रासाउन्डले बच्चा गर्भाशयभित्र चलिरहेको वा नचलिरहेको, एम्नियोटिक फ्लुइड कति रहेको, शिशुको मुटुको धड्कन लगायतका अवस्थाबारे स्पष्ट जानकारी प्रदान गर्छ। सेवा ग्रामीण क्षेत्रदेखि बजार क्षेत्रसम्म पुगेपछि बाहिर गइ खर्चिनुपर्ने रकम पनि बचत भएको छ। नेपाल सरकारले ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरेको छ।

सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन ग्रिन तारा नेपाल ले बाजुराको बुढिगंगा र त्रिवेणी नगरपालिकामा गर्भवती जाँचमा सहयोग गर्दै आएको संस्थाकी वरिष्ठ कार्यक्रम व्यवस्थापक सलिता गुरुङले बताइन्। बाजुराका अन्य स्थानीय तहहरूमा पनि ग्रामीण अल्ट्रासाउन्ड सेवामार्फत गर्भवती महिलाको निशुल्क स्वास्थ्य परीक्षण भइरहेका छन्।

  • २८ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech