३५ वर्षदेखि नेपाली कानको उपचारमा बेलायती चिकित्सक

२२ कात्तिकमा नेपालगन्जको गणेशमान चोकस्थित बीएन अस्पतालमा जारी शिविर ब्रिनोसको ७०औँ शिविर हो। योसँगै शिविरमा अहिलेसम्म नौ हजारभन्दा बढीको कानको शल्यक्रिया भइसकेको निलका सहयोगी वरिष्ठ कान स्वास्थ्य प्राविधिक रामबहादुर बोहराले बताए।


    • कृष्ण अधिकारी

  • २८ कार्तिक २०८२, शुक्रबार

नेपालगन्जः चिकित्सकहरूका अनुसार नेपालमा अझै १७ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको बहिरोपन (कान नसुन्ने) समस्या छ। बहिरोपन जन्मजात वा पछि कानको संक्रमण भएर, विभिन्न चोटपटकका कारण हुन्छ। बढ्दो ध्वनि प्रदूषण, एयर फोनको अत्यधिक प्रयोग, जनचेतनाको कमी र सहज उपचार सेवा नहुँदा बहिरोपनसम्बन्धी समस्या बढ्दै गएको छ।

समयमै उपचार गर्नसके बहिरोपनसम्बन्धी ६० प्रतिशत समस्या हल गर्न सकिन्छ। तर, बहिरोपनको रोकथाम र नियन्त्रणमा सरकारको लगानी, जनशक्ति विस्तार र उपचार सेवा अझै प्राथमिकतामा पर्न सकेको छैन। तर, एक बेलायती चिकित्सक ३५ वर्षदेखि नेपालीकै कान उपचारमा समर्पित छन्।

सन् १९८७ मा ३८ वर्षको उमेरमा बेलायतबाट पहिलोपटक नेपाल आएका थिए, निल वेयर। एक सातासम्म पोखरामा रमाइलो गरेका उनी फर्कने क्रममा नेपालमा कान रोग र यसको उपचारको अवस्थाबारे बुझ्न काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नाक, कान, घाँटी (ईएनटी) विभाग पुगे। निल स्वयं ईएनटीका शल्यचिकित्सक थिए।

शिक्षण अस्पतालमा निलको भेट आफूजस्तै ईएनटी सर्जन डा. राकेश प्रसादसँग भयो। राकेशले उनका बुवा वरिष्ठ ईएनटी सर्जन एलएन प्रसादसँग भेट गराए। डा. एलएन राजा वीरेन्द्रका कानका चिकित्सक थिए।

सन् १९९१ लाई संसारभर अपांगता वर्षका रूपमा मनाउने तयारी भइरहेको थियो। त्यसैका लागि समेत भनेर डा. राकेशसहितको चिकित्सक टोलीले नेपालमा अपांगतासम्बन्धी सर्वेक्षण गरेको थियो। सर्वेक्षणले नेपालमा सबैभन्दा बढी अपांगतासम्बन्धी समस्या श्रवण क्षति रहेको देखाएको थियो। राकेशले यही तथ्य सुनाउँदै कान रोगको प्रभावकारी उपचारका लागि आवश्यक जनशक्ति र उपकरण जुटाउन सहयोग गर्न आग्रह गरे।

अर्को वर्ष नेपाल आएका निलसँग गोसाइँकुण्ड पदयात्रासँगै परोपकारी संस्थामार्फत हरेक वर्ष नेपालमा कम्तीमा दुईपटक कान रोग शिविर सञ्चालन गर्ने र स्वास्थ्यकर्मीलाई उपचारसम्बन्धी तालिम दिने योजना पनि थियो। सन् १९८८ मा निलले आफैँ संस्थापक निर्देशक बनेर ब्रिटिस नेपाल अन्टोलोजी सर्भिस (ब्रिनोस)संस्था स्थापना गरे। त्यसको दुई वर्षपछि सन् १९९० देखि उनको नेतृत्वको टोलीले ब्रिनोस कान स्वास्थ्य स्याहार केन्द्रमार्फत नेपालमा स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ।

सन् १९९० को दशकमा निलले देशका धेरै ठाउँमा शिविर चलाए। तर, देशका अन्य क्षेत्रको तुलनामा पश्चिममा यो समस्या बढी देखिएकाले उनी नेपालगन्जलाई केन्द्र बनाएर शिविर सञ्चालन गरिरहेका छन्।

शिविरहरूबाट मात्रै नेपालमा कान रोगको सहज र गुणस्तरीय उपचार सम्भव नभएपछि निलले नेपालगन्जमा ब्रिनोस कान स्वास्थ्य स्याहार केन्द्र स्थापनाको सोच बनाए। त्यसका लागि निलले पहिले त आफ्नै साथीसँग रकम संकलन गरे। रकम अपुग भएपछि बेलायतस्थित आफ्नो एउटा घरसमेत बेचे। अनि थप रकम जुटाएर ६ करोडको लागतमा नेपालगन्जको फुलटेग्रामा ब्रिनोस कान स्वास्थ्य स्याहार केन्द्र स्थापना गरेका छन्। सन् २०१६ देखि सञ्चालनमा आएको ब्रिनोस केन्द्रमा दैनिक करिब १०० बिरामीले उपचार सेवा पाइरहेका छन्।

शिविरका लागि हरेक वर्ष डा. निल आफैँ ईएनटी सर्जनसहित आठदश जनाको टोली लिएर नेपाल आउँछन्। यी चिकित्सक आफ्नै खर्चमा शिविरमा आउने गरेका छन्। निलसँगै उनकी चिकित्सक श्रीमती सु वेयर पनि ४५ पटकभन्दा बढी नेपाल आइसकेकी छन्।

निलकै सहयोगमा यसै वर्षदेखि नेपालगन्जको गणेशमान चोकमा १० बेड क्षमताको अत्याधुनिक बीएन अस्पताल पनि सञ्चालनमा छ। अस्पतालमा १०० रुपैयाँ शुल्क तिरेर बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउँछन्। निलको चाहना कान उपचार सेवा हेल्थ पोस्ट तहमै पुगोस् भन्ने छ। त्यसका लागि बाँके, बर्दिया, सुर्खेतलगायत पश्चिम नेपालका हेल्थ पोस्ट तहका स्वास्थ्यकर्मीलाई तालिम दिइरहेका छन्। अस्पतालमा पश्चिम नेपालका अतिरिक्त २०/२२ जिल्लासहित छिमेकी भारतका बिरामी पनि आउने गरेका छन्।

२२ कात्तिकमा नेपालगन्जको गणेशमान चोकस्थित बीएन अस्पतालमा जारी शिविर ब्रिनोसको ७०औँ शिविर हो। योसँगै शिविरमा अहिलेसम्म नौ हजारभन्दा बढीको कानको शल्यक्रिया भइसकेको निलका सहयोगी वरिष्ठ कान स्वास्थ्य प्राविधिक रामबहादुर बोहराले बताए।

८२ वर्षको वृद्ध उमेरमा पनि उनी नेपालीको कान रोगको उपचारमा समर्पित छन्। निल आफैँ शल्यक्रिया कक्षमा बसेर अन्य चिकित्सकलाई सल्लाह र हौसला दिन्छन्। निल र उनको टोलीसँग काम गर्न पाउँदा नेपाली ईएनटी सर्जनहरूले पनि धेरै कुरा सिक्ने अवसर पाएका छन्।

एक वर्षअघि वैशाख २०८१ मा ८१ वर्षका निल स्वास्थ्यशिविरकै लागि कठिन सडक मार्ग हुँदै कर्णाली प्रदेशको दुर्गम पहाडी जिल्ला कालीकोट पुगेका थिए। त्यहाँ निलसँग भेरी अस्पताल नेपालगन्जका ईएनटी सर्जन डा. कपिल शाहीको भेट भयो। “त्यहाँ बिरामीहरूप्रति उनको समर्पण देखेर म त चकितै भएँ,” शाही भन्छन्।

तीन दशकभन्दा लामो समय नेपाली कानको सेवामा रहेका डा. निल कान नसुन्ने समस्याका कारण अनेकौँ सास्ती खेप्न विवश नेपाली अहिले पनि स्वास्थ्य समस्या भन्न लाज मान्ने बताउँछन्। “कान रोगसम्बन्धी समस्या भएका करिब १० प्रतिशत बिरामीको मात्रै शल्यक्रिया आवश्यक पर्छ। वृद्ध व्यक्तिहरूलाई श्रवण सहायता आवश्यक पर्छ। बीएन अस्पतालमा उच्च गुणस्तरका श्रवण उपकरण उपलब्ध छन्,” उनी भन्छन्।

अहिले पनि बेलायतको रोयल सरे काउन्टी हस्पिटल कन्सल्ट्यान्ट सर्जन निलको उबेलै राजा वीरेन्द्रले प्रशंसा गरेका थिए। नेपालमा गरेको सेवाकै कारण बेलायत सरकारले तीन वर्षअघि उनलाई अफिसर अफ दी अर्डर अफ दी ब्रिटिस एम्पायर (ओबीई) सम्मान दिएको थियो।

  • २८ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech