लुम्बिनीमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको तेस्रो पूर्ण बैठक सम्पन्न, स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०८२, आईतवार

नेपालगन्जः दाङस्थित भालुबाङमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश समितिका अध्यक्ष दोर्ण बहादुर ओलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका हालका गतिविधि, जेन–जी आन्दोलनपछि स्वास्थ्य सेवामा परेको प्रभावको समीक्षा तथा आगामी कार्ययोजना सार्वजनिक गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय महासचिव भीम राज सिंह, विशेष अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेममान सारु र नेकपा एमाले प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य लगायतले स्वास्थ्य सेवा जनताको हितमा प्रभावकारी, गुणस्तरीय र संवेदनशील बनाउनुपर्ने धारणा राखे।

बैठकमा डा. सुरामणी बेल्बासेले जनताको बहुदलीय जनवादबारे सैद्धान्तिक प्रस्तुति दिएका थिए भने मन्त्री सारुले हालको स्वास्थ्य व्यवस्थापन, नीति र स्वास्थ्यकर्मीको भूमिकामाथि प्रकाश पारे। उनले हरेक स्वास्थ्यकर्मीले बिरामीको मर्म र भावना बुझी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रदेशको स्वास्थ्य सूचकांकका तथ्याङ्कसमेत प्रस्तुत गरे। कार्यक्रममा प्रदेश समितिका पदाधिकारी, जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष तथा १२ जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको थियो।

बैठकमा संगठनका अध्यक्ष ओलिले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै “मेरो स्वास्थ्य मेरो जिम्मेवारी, दैनिक १ घण्टा आफ्नै लागि” भन्ने अभियानलाई समुदायसम्म विस्तार गर्ने, योग–ध्यान तथा मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, रक्तदान अभियान, भित्ते पात्रो विमोचन, लुम्बिनी स्वास्थ्य दर्पण प्रकाशन, स्वास्थ्य ऐन संशोधन र करार कर्मचारीको सेवा–सुविधा सुनिश्चित गर्नेजस्ता निर्णयहरू पारित गरिएको जानकारी दिए। कार्यक्रममा केन्द्रीय उपमहासचिव खगराज पोख्रेल, डा. प्रशान्त पराजुली लगायतले संगठनको आगामी सफलताका लागि शुभकामना व्यक्त गरे भने सचिव कृष्णगोपाल चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए।

  • १६ कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech