नेपालगञ्ज: पश्चिम नेपालको एकमात्र न्यूरो सेवामा समर्पित ‘नेपालगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल’ले बुधबार नेपालगञ्जमा स्ट्रोक सचेतना कार्यशालाको आयोजना गरेको छ । विश्व स्ट्रोक दिवसका अवसरमा मस्तिष्कघात बारे जानकारी दिन र सचेतना फैलाउन कार्यक्रम गरिएको हो ।
कार्यशाला नेपाल स्ट्रोक एशोसिएसन, नेपाल चिकित्सक संघ भेरी शाखा, जिल्ला स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा, र महिला उद्यमी संघ लगायतका संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा उपस्थित महिला स्वयम्सेविकाहरू
कार्यक्रम विशेष रूपमा महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई लक्षित गरी आयोजना गरिएको थियो । स्ट्रोकबारे जनचेतना फैलाउने, प्रारम्भिक लक्षणबारे जानकारी दिने र समयमै उपचारको आवश्यकता औंल्याउने उद्देश्य कार्यशालाको रहेको अस्पतालका सूचना अधिकारी दिनेश विष्टले बताए । कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक तथा कन्सल्टेन्ट न्युरो सर्जन डा.जोशन न्यौपानेले कार्यशालामा मस्तिष्कघातका कारण, प्रारम्भिक लक्षण, उपचारका आधुनिक प्रविधि, बच्ने उपाय र जनचेतनाको महत्त्वबारे विस्तृत प्रस्तुतिकरण दिए ।

प्रस्तुतिकरण दिदै कन्सल्टेन्ट न्यूरो सर्जन डा.जोशन न्यौपाने
डा.न्यौपानेका अनुसार स्ट्रोक संसारभर धेरै मानिसको ज्यान लिने प्रमुख रोगमध्ये एक हो । पछिल्लो समय स्ट्रोक भएर अस्पतालमा आउने बिरामीको संख्या उल्लेख्य मात्रामा बढेको र समयमै अस्पताल नआएर हेलचेक्र्याइँ गर्दा दीर्घकालीन समस्या भोग्ने बिरामी धेरै रहेको उनले बताए । “कम्तिमा स्ट्रोकका प्रारम्भिक लक्षण चिन्ने र समयमा अस्पताल पुर्याउने सन्देश आमनागरिकले बुझ्नु आवश्यक छ,” डा.न्यौपानेले भने ।
कार्यक्रममा नेपाल चिकित्सक संघ भेरी शाखाका सचिव डा.प्रचण्ड गौतम, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले मस्तिष्कघात हुनै नदिन स्वस्थ जीवनशैली अपनाउने र सचेतना फैलाउने आवश्यकता औंल्याएका थिए ।
अस्पतालका संस्थापक अध्यक्ष तथा पब्लिक हेल्थ एक्सपर्ट निशा हुमागाईँको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थितलाई स्वागत अस्पतालका सह-निर्देशक सुनिल प्रधानले गरेका थिए ।
कार्यक्रममा चिकित्सक, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।









