नेपालगन्जः दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु अथवा काम गर्न छाड्नुलाई सामान्य भाषामा पक्षघात अर्थात् स्ट्रोक भनिन्छ । स्ट्रोक दुई प्रकारका हुन्छन् । एउटा नशा फुटेर अर्को भनेको नशामा रगत जमेर ।
नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिका वरिष्ठ कन्सल्टेन्ट न्यूरोसर्जन डा.मनिष कोलाक्षपतीका अनुसार मस्तिष्कमा रगत पुगेन भने जहाँ रगत पुग्दैन त्यहाँका मांशंपेशीहरु नष्ट हुन थाल्छन् ।
मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक अथवा पक्षघात भनिन्छ । यदि यसको उपचार समयमा नै भएन भने मस्तिष्क सधैंका लागि ड्यामेज हुनसक्छ । जसका कारण मानिसको मृत्यु पनि हुनसक्छ ।
मुटुमा नशामा रगत ब्लग हुनुलाई हर्टअट्याक भने जस्तै दिमागको नशामा रगत ब्लग हुनुलाई ब्रेन स्ट्रोक भनिन्छ । डा. मनिष भन्छन्–‘जुनजुन कारणले हर्टअट्याक हुन्छ त्यहींत्यहीं कारणले स्ट्रोक हुन्छ ।’ मुख्य कारण भनेकै अनुशासनहीन जीवनशैली हो ।
‘उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल बढ्नु, धूम्रपान, मद्यपान, मोटोपना, व्यायामको कमी, तनाव र मानसिक दबाब र कतिपयलाई वंशाणुगत पनि स्टोक आएको देखिन्छ’ डा. मनिष भन्छन् । ब्रेन स्ट्रोकको प्रारम्भिक लक्षण चिन्ह मुख, हात र खुट्टा बाङ्गो हुनु, रिँगटा लाग्नु, टाउकोे दुख्नु, धमिलो देख्नु, बोल्न र हिँड्न समस्या हुनु लगायत हुन् ।
डा.मनिष भन्छन्–‘प्रारम्भिक लक्षण चिन्ह भनेको हाम्रो भाषामा BEFAST भन्छौ ।’
B-Balance (सन्तुलन) अचानक सन्तुलन गुम्नु, टाउको हल्का महसुस हुनु वा हिँड्दा ढल्ने अवस्था आउनु ।
E-Eyes (आँखा) अचानक आँखाको ज्योति गुम्नु र धमिलो देखिनु ।
F-Face (अनुहार) अनुहारको एक भाग सुन्निनु, झुन्निनु वा अनुहार असमान देखिनु।
A-Arms (हात) एक हात कमजोर वा सुन्निनु, हात उठाउँदा एक पक्षको हात तल झर्नु ।
S-Speech (बोलाइ) बोल्दा अस्पष्ट हुनु, शब्द उच्चारण गर्न गाह्रो हुनु, अरूले बुझ्न नसक्ने गरी बोल्नु ।
T-Time (समय) यी मध्ये कुनै लक्षण देखिनासाथ तुरुन्तै अस्पताल लैजानु अर्थात समय चिन्नु । ब्रेन स्ट्रोकका प्रारम्भिक लक्षण हुन् ।
ब्रेन स्ट्रोक हुँदा तत्काल उपचार नै आवश्यक हुन्छ । यस्तो उपचार स्ट्रोक शुरु भएको ४ घण्टाभित्र गरियो भने दिमागलाई क्षति र सम्भावित समस्याहरु कम गर्न सकिने डा.मनिषको भनाइ छ । उनी भन्छन्–‘आवश्यक सम्पूर्ण जाँच अर्थात सिटीस्क्यान, एमआरआई आदि गरि सकेपछि कुन प्रकारको स्ट्रोक हो त्यही अनुसार उपचार गरिन्छ । बिरामीले समयमै उपचार पायो भने पुरानै जीवनमा फर्काउन सकिन्छ ।’
नेपालमा स्ट्रोक अहिले तीव्र गतिमा बढ्दै गएको गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बनेको छ। यो रोग पहिला “बुढाबुढीको समस्या” भनेर बुझिन्थ्यो, तर पछिल्ला वर्षहरुमा युवा उमेरका मानिसहरुमा समेत स्ट्रोकको दर तीव्र रूपमा बढेको तथ्यहरु विभिन्न अध्ययनले देखाएका छन्।
समयमा अस्पताल नआएर हेलचेक्र्याइँ गरेर घरमा बस्दा जीवनभरि नै दुःख पाएका घटना पनि छन् । नेपालमा स्ट्रोक धेरै मानिसलाई हुने गर्दछ तर मानिसलाई स्ट्रोकबारे चेतना नहुँदा ढिला अस्पतालमा पुग्दछन् । जसका कारण उनीहरु कष्टकर जीवन ज्यूँन बाध्य भएका छन् ।
स्ट्रोकबाट बच्नको निमित्त अनुशासित जीवनशैली अपनाउनु नै उत्तम उपाय हो । धूमपान तथा मद्यपान नगर्ने, नियमित शारीरिक कसरत गर्ने बानी बसाल्ने र उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्ने हो भने धेरै हदसम्म स्ट्रोकबाट बच्न सकिने डा.मनिषको सुझाव छ ।








