नेपालगन्जः स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हाल्दै आएकी प्रधानमन्त्री शुशीला कार्कीले काठमाडौंमा विभिन्न अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सञ्चालन गर्दै आएका सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएकी छिन् ।
सम्पर्क कार्यालयको खर्च नै एक अर्ब वरपर हुने गरेको रिपोर्टिङ भएपछि प्रधानमन्त्री कार्कीको निर्देशनमा मन्त्रालयले पत्राचार गरेको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार स्वास्थ्य सचिव डा विकास देवकोटासँगको छलफलपछि उक्त निर्णय लिइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको पत्र (च.नं ३५४) मार्फत चालू आर्थिक वर्ष २०८२ ८३ का लागि स्वीकृत संघीय सशर्त बजेटका मार्गदर्शन बुँदा नं १०१ अनुसार अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने व्यवस्था गरिएको उल्लेख गरेको छ।
पत्रमा भनिएको छ-‘नेपाल सरकारको स्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी यस मन्त्रालयमा जानकारी गराउनुहुनेछ।’
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा हस्ताक्षरित उक्त पत्रमा सम्पर्क कार्यालयहरूको कार्यान्वयन अवस्थाबारे मन्त्रालयलाई छिटो जानकारी गराउन समेत अनुरोध गरिएको छ।
नीति तथा योजना शाखाले जारी गरेको निर्देशनका अनुसार, अबदेखि सम्पर्क तथा प्रशासनिक समन्वय कार्यहरू सम्बन्धित संस्थाको मुख्य कार्यालय वा क्षेत्रीय संरचनाबाट नै सञ्चालन गर्नुपर्नेछ।








