कलेजोमा बोसो जम्मा हुँदाको जोखिम र जोगिने उपाय

    • डा. अनिशा तिवारी / ग्यास्ट्रो तथा कलेजो सर्जन

  • २७ जेष्ठ २०८२, मंगलवार

कलेजोमा अधिक मात्रामा बोसो जम्मा हुनु ‘फ्याटी लिभर’ हुनु हो। मान्छे मोटाउँदा शरीरमा बोसो बढेजस्तै कलेजोमा पनि बोसो बढ्दै जान्छ। बढी मात्रामा बोसो जम्मा भएको लिभर (कलेजो) फ्याटी लिभर हो।

विभिन्न कारणले फ्याटी लिभर हुन्छ। धेरैमध्येको मुख्य कारण रक्सी सेवन हो। अत्यधिक चिल्लो र गुलियो खाना बढी खाँदा पनि फ्याटी लिभर हुने सम्भावना धेरै हुन्छ।

रक्सी नखाँदैमा फ्याटी लिभर हुँदैन भन्ने पनि होइन। कहिल्यै रक्सी नखाएको मान्छेलाई पनि फ्याटी लिभर हुन सक्छ।

फ्याटी लिभरको सुरूआतमा अनुभव हुने गरी खास लक्षण देखिँदैन। भिडिओ एक्सरे (अल्ट्रासाउन्ड) गर्दा भने लक्षण देखिन्छ। फ्याटी लिभर बढ्दै जाँदा व्यक्तिमा विभिन्न लक्षणहरू देखिन्छन्।

यसमा सुरूमा पेट दुख्ने र खाना नरूच्ने समस्या हुन्छ। कहिलेकाहीँ वाकवाकी लाग्छ। जन्डिस पनि देखिन सक्छ। लिभरले कसरी काम गर्दै छ, यसमा कुनै समस्या छ कि छैन भन्ने थाहा पाउन अल्ट्रासाउन्ड गर्नुपर्छ।

आजकाल मान्छेमा फ्याटी लिभर सामान्य जस्तो भइसकेको छ। यसको त्यत्तिकै बेवास्ता पनि भएको छ। समयमा उपचार भएको हुँदैन। कतिपय अवस्थामा चिकित्सकले समेत उपचारको सिफारिस गरेका हुँदैनन्। यस्ता कारणले दीर्घकालमा ठूलो समस्या हुन सक्छ।

फ्याटी लिभर बेवास्ता गरेर समयमै उपचार नगर्ने हो भने सिरोसिस हुन्छ। सिरोसिस भनेको कलेजोले राम्ररी काम गर्न नसक्ने अवस्था हो। अन्ततः कलेजो पूर्ण रूपमा असफल हुन सक्छ।

फ्याटी लिभर हुनबाट जोगिन केही उपाय अपनाउन सकिन्छ। मुख्यतया खानपिनमा ख्याल गर्नुपर्छ। धेरै गुलियो, धेरै चिल्लो र धेरै फ्राइ गरेको परिकार खानु हुँदैन। बढी चिल्लो भएको मासु खानु हुँदैन।

जंक फुड पनि खानु हुँदैन। ट्रान्सफ्याट भएको खाना हुँदैन। रक्सी सेवन गर्ने बानी छ भने पूर्ण रूपमा बन्द गर्नुपर्छ। दैनिक कम्तीमा ३० देखि ६० मिनेटसम्म दौडिने वा छिटोछिटो हिँड्ने गर्नुपर्छ। शारीरिक व्यायाम गर्नुपर्छ।

रगतमा कोलस्टेरोल देखिएको छ भने उपचार गर्नुपर्छ, आवश्यकता अनुसार औषधि खानुपर्छ।

कलेजोमा हुने मुख्य समस्या फ्याटी लिभर नै हो। त्यसकै कारणले सिरोसिस हुन्छ। कलेजोको अर्को समस्या हेपाटाइटिस पनि हो। हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणका कारणले हुने भएकाले यसको उपचार गर्न सकिन्छ। यसले ज्यान लिँदैन।

कलेजोमा कुनै समस्या हुँदा जन्डिस हुन सक्छ। जन्डिस हुँदा आफ्नै तरिकाले उपचार गर्ने चलन पनि छ। यसो गर्दा समस्या झन् बढ्न सक्छ।

कलेजोमा सिरोसिस भएको, ट्युमर भएको वा कुनै खालको संक्रमण भएको अवस्थामा जन्डिस देखिन्छ। कहिलेकाहीँ पित्त बग्ने नली बन्द भएर पनि जन्डिस हुन्छ। जन्डिस आफैमा रोग नभएर रोगको लक्षण हो। के कारणले जन्डिस भएको हो भन्ने पत्ता लगाउन जरूरी हुन्छ। त्यसैका आधारमा उपचार गर्नुपर्छ।

कहिलेकाहीँ कुनै रोगको घरेलु उपचारका नाममा विभिन्न जडीबुटीको लहरा, झोल इत्यादि खाँदा पनि कलेजोमा समस्या भएको देखिएको छ।

हाम्रा वरिपरि पाइने धेरै जडीबुटी फाइदाजनक भए पनि कुन रोगमा कति मात्रामा सेवन गर्ने भन्ने थाहा हुँदैन। यस्तो औषधि पनि सम्बन्धित चिकित्सकको परामर्शबिना प्रयोग गर्नु हुँदैन।

साना बालबालिकाबाहेक जुनसुकै उमेरका व्यक्तिलाई फ्याटी लिभर हुन सक्छ। अव्यवस्थित खानपिन र व्यायामको अभावले किशोरावस्थामै फ्याटी लिभर देखिन थालेको छ। आजकाल शरीरको तौल घटाउन विभिन्न प्रकारका डाइट गर्ने भन्दै प्रोटिन र फ्याट भएको खाना धेरै खाने चलन बढेको छ।

यसले शरीरको तौल घटाए पनि फ्याटी लिभर बढाउन सक्छ। यस्तो डाइटिङ एक-दुई जनालाई लाभदायी भयो भन्दैमा सबैलाई त्यस्तै हुन्छ भन्ने छैन। यो पक्षमा ध्यान दिन जरूरी हुन्छ।

  • २७ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech