भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका बिरामी स्वस्थ, आज गरियो डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०८२, आईतवार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएका बिरामी आइतबार डिस्चार्ज भएका छन्  ।  महोत्तरीका ४० वर्षीय पुरुष र बर्दियाका ३७ वर्षीय पुरुषको गएको मंगलबार अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

महोत्तरीका पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले मिर्गाैला दान दिएकी हुन् भने बर्दियाका पुरुषलाई पनि उनकी २६ वर्षीया श्रीमतीले मिर्गाैला दान दिएको अस्पतालका प्रमुख डा. निराजन सुवेदीले बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा दुई जनाको मिर्गाैला प्रत्यारोपण भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको टिम र भेरी अस्पतालको टिमले मिर्गाैला प्रत्यारोपण गरेको थियो ।

केन्द्रबाट डा. दिपेश श्रेष्ठ, डा.हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. सोभित थापा, डा.शिवसुन्दर राजचल, नेफ्रोलोजिस्ट डा.विक्रम वीर बज्राचार्यको सहभागिता थियो ।

त्यसैगरी केन्द्रबाट डा. गौरव पन्थ र शाखा अधिकृत हरिहर पोखरेट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी नर्स सयिबा नागा, केलिना के.सी, आईसीयू नर्स अपर्ना सेन, दीपा के.सी, अनु बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।

भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ डा. दिपेश गुप्ता,  नेफ्रोलोजीतर्फ डा. शौरभ हमाल, एनेस्थेसियोलोजिस्ट डा.पारस पाण्डे, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोली मिर्गौला प्रत्यारोपणमा सहभागी थियो ।

मिर्गौला प्रत्यारोपण गरिएको ५ दिन पछि बिरामी र मिर्गौला दाता चारै जनालाई डिस्चार्ज गरिएको डा. सुवेदीले बताए । अस्पतालका प्रमुख डा. सुवेदीले अहिलेलाई महिनामा एक जनाको मिर्गाैला प्रत्यारोपण गर्ने योजना रहेको जानकारी दिए ।

यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धिका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिमका लागि पठाइने डा.सुवेदीले बताए ।

मिर्गाैला प्रत्यारोपण सेवालाई सातै प्रदेशमा बिस्तार गर्ने योजना सरकारको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पतालमा यसअघि नै मिर्गाैला प्रत्यारोपण सुरु भइसकेको छ । भेरी अस्पतालसँगै ३ प्रदेशमा प्रत्यारोपाण सेवा बिस्तार भएको छ । बाँकी प्रदेश कोशी, मधेश र सुदूरपश्चिममा पनि प्रत्यारोपण सुरु गर्न प्रयास भइरहेको राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले जनाएको छ  ।

  • १४ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech