नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि संचालनको स्वीकृतिको प्रमाण २४ घण्टाभित्र पेश गर्न निर्देशन दिएको छ । सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड लगाएर लर्डबुद्ध एजुकेशन एकेडेमीबाट कारोबार गरिरहेको संचार माध्यममा समाचार प्रकाशन भएपछि नेपालगन्ज उपमहानगरपालिकाले सञ्जीवनी संचालनको स्वीकृतिको प्रमाण पेश गर्न २४ घण्टाको अल्टिमेटम दिएको हो ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजलाई पत्र लेख्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भनेको छन्स-‘ञ्जीवनी कलेज संचालनको लागि नेपालको संबिधान बमोजिम तीन तहका सरकारमध्ये कही कतैबाट अनुमति प्राप्त भए सो प्रस्तुत गर्नुहुन र प्राप्त नभएको भए उक्त वोर्ड हटाई कानून बमोजिम अनुमति प्राप्त गरे अनुसार कारोवार गर्नु गराउनुहुन निर्देश गरिएको छ ।’
निर्देशन पालना नगरिए उपमहानगरपालिकाले आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिएको छ । नेपालगन्ज मेडिकल कलेजको वोर्ड हटाएर गएको पुस १५ गते सञ्जीवनीको वोर्ड झुन्ड्याइएको थियो । त्यसको चार दिन पछि सञ्जीवनीको वोर्ड हटाएर पुनः नेपालगन्ज मेडिकल कलेजको वोर्ड झुन्ड्याइयो । त्यसलाई हटाएर पुनः सञ्जीवनीको वोर्ड झुन्ड्याइएकोमा अहिले फेरी नेपालगन्ज मेडिकल कलेजको वोर्ड पनि झुन्ड्याइएको छ । अहिले दुई वटा वोर्ड झुन्ड्याइएको छ ।