उपचारको क्रममा बालिकाको मृत्यु भएपछि ३ जना चिकित्सक प्रहरीको नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८१, बिहीबार

नेपालगन्जः उपचारको क्रममा बालिकाको मृत्यु भएको घटनालाई लिएर डोटी प्रहरीले ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । डोटीको राजपुरस्थित सुजङ अस्पतालका चिकित्सकहरु डा राजमणि यादव, डा सुरेन्द्रकुमार चौधरी र डा अभिषेक यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको मृत्यु भएको थियो । बायाँ हात भाँच्चिएर घाइते भएकी भुललाई बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि होसमा आइनन् ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै अस्पताल तोडफोडमा उत्रिए । अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा संलग्न ती चिकित्सकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

‘हामीले उपचारमा संलग्न चिकित्सकको मेडिकल चेकजाँच गरेका थियौं । तर अल्कोहल सेवन गरिएको देखिएन’, शर्माले भने, ‘अहिले उहाँहरु प्रहरी नियन्त्रणमा हुनुहुन्छ । थप अनुसन्धान भइरहेको छ ।’

आफन्तले भने चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालबाट शब उठाउन मानेका छैनन् । मृत्तकका बाबा रोजगारको सिलसिलामा भारत बस्दै आएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. खगेन्द्र बमले घटनाको औपचारिक जानकारी नआएको प्रतिक्रिया दिए ।

  • २२ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech