नेपालगन्जः बाँकेको कोहलपुर क्षेत्रका औषधीजन्य कारोबार गर्ने फर्महरुको अनुगमन गरिएको छ । बाँके प्रशासन र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त टोलिले कोहलपुर नेपालगन्ज खण्डमा रहेका औषधी कारोवार गर्ने फर्महरुको अनुगमन गरेको हो ।
त्यसक्रममा औषधी कारोवार गर्ने फर्महरुले शंकास्पद काम गर्ने गरेको फेला परेको छ । कौशल्या मेमोरियल हस्पिटल प्रालि, जेम्स फार्मेसी र पानस फर्मास्युटिकल्स प्रालिमा गरिएको अनुगमनमा उनीहरुले छानबिन गर्नुपर्ने गतिविधि गरेको देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनुभयो ।
कौशल्या मेमोरियल हस्पिटल प्रालिले केही इन्जेक्सन भारतबाट सोझै खरिद गरेर ल्याउने गरेको पाइएको छ । भारतबाट सोझै खरिद गरेर ल्याइएका केही इन्जेक्सन अनुगमन टोलिले जफत समेत गरेको छ । कौशल्या मेमोरियल हस्पिटललाई थप छानबिन गर्नुपर्ने भएकाले औषधी व्यवस्था कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी अनुगमनका क्रममा कोहलपुर नगरपालिका वडा ९ मा रहेको जेम्स फार्मेसीबाट केही थान शंकास्पद इन्जेक्सन समेत बरामद गरिएको छ । ती इन्जेकसन परीक्षणका लागि औषधी व्यवस्था कार्यालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । उक्त फर्मलाई थप छानबिनका लागि औषधी व्यवस्था कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
पानस फर्मास्युटिकल्स प्रालिमा अनुगमन गर्दा म्याद समाप्त भएपछि बजारबाट फिर्ता भएका औषधी राख्ने प्रर्याप्त ठाउँ बनाउन र औषधी नष्ट गर्ने स्थानमा समेत सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।