प्रगतिको Incremental Dose मा भेरी अस्पताल फार्मेसी

    • पदम अर्याल

  • १९ जेष्ठ २०८०, शुक्रबार

भेरी अस्पतालमा रहेको अस्पताल फार्मेसी संचालनमा आएको आज ठिक ६ वर्ष पूरा भएको छ । नेपाल सरकारले फार्मेसी सेवा निर्देशिका २०७२ जारी गर्दै देश भरका सरकारी अस्पतालमा आफ्नै अस्पताल फार्मेसी संचालनमा ल्याउन आदेश दिएको थियो । त्यसको करीव दुई वर्ष पछि भेरी अस्पतालले आफ्नै अस्पताल फार्मेसी संचालनमा ल्याएको हो ।

सीमित स्रोत साधनको उपयोग गरेरै भएपनि फार्मेसी संचालन गर्ने दृढ संकल्प सहित भेरी अस्पतालमा तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र बहादुर चन्दद्धारा भेरी अस्पतालमा वि.स २०७४ जेठ १९ गतेदेखि अस्पताल फार्मेसीको सुरुवात भएको हो । एक जना फार्मेसी अधिकृतको नेतृत्वमा ५ जना फार्मेसी सहायक सहित करार सेवा लिई यसको सुरुवात गरिएकोमा हाल थप जनशक्ति विकास गरी तीनवटा डिस्पेन्सिङ काउन्टरबाट सहुलियत दरमा बिरामी परामर्श सहितको फार्मेसी सेवा चौविसैं घण्टा दिइरहेको छ ।

अस्पताल फार्मेसीबाट सेवा लिनेहरुको भिड

अहिले एक जना फार्मेसी अधिकृत ११ जना फार्मेसी सहायक र ३ जना कार्यालय सहयोगी छन् । अस्पतालका विभिन्न अवयव मध्ये अस्पताल फार्मेसी अत्यन्त महत्वपूर्ण हो । योग्य, अनुभवि र दक्ष फर्मासिस्टहरुबाट चिकित्सकहरुको पूर्जि अनुसार औषधिको समुचित प्रयोगबारे जानकारी दिइ औषधि विक्रि वितरण गर्नु अस्पताल फार्मेसी स्थापनाको मुख्य ध्यय हो । औषधिको उचित भण्डारण, व्यवस्थापन, बिरामीलाई औषधिको उचित सेवा, असर, प्रतिअसर, परस्परमा देखिने प्रभावको बारेमा परामर्श दिनु यसको प्रमुख दायित्वहरु हुन् ।

नेपालमा अस्पतालको सटरलाई भाडामा लगाइ फार्मेसी संचालनमा ल्याउँदा विभिन्न व्यापारिहरुले सटर भाडामा लिइ व्यापारिक उद्देश्य पूरा गर्ने गरेको, बिरामीले महंगोमा औषधि किन्न परेको तथा औषधिको समुचित प्रयोगबारे सुनिश्चितता हुन नसक्दा बिरामी मर्कामा परेका थिए । तर, अस्पतालको आफ्नै फार्मेसी हुँदा बिरामीले सहज, सरल र सस्तोमा गुणस्तरीय औषधिको उपभोग गर्न पाएका छन् ।

अस्पतालको इमरजेन्सीमा रहेको फार्मेसीको डिस्पेन्सिङ काउन्टर

अस्पताल फार्मेसीबाट प्रवाह हुने सेवाहरु

भेरी अस्पतालको फार्मेसीबाट नियमित रुपमा ओपिडी र इन्डोरका औषधिहरु सहुलियत दरमा विक्री वितरण हुँदै आएको छ । यसबाहेक स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सेवा कार्यक्रम, लक्षित वर्गहरु (गरीव, जेष्ठ नागरिक, एकल महिला, पिछडिएका क्षेत्र, अपांगता भएका बिरामीलाई निशुल्क औषधि वितरण गर्ने गरिएको छ । विभिन्न वर्गमा हुने कडा रोग (मुटु रोग, मिर्गौला रोग क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरीका बिरामीलाई पनि निःशुल्क औषधोपचार हुने गरेको छ ।

थारु समुदायलाई प्रभावित पारेको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई चिकित्सकको पूर्जा अनुसार नि:शुल्क औषधि उपचार, नि:शुल्क आकास्मिक औषधि उपचार, ओसिएमसी नि:शुल्क औषधि उपचार र अस्पतालको इन्डोरमा भर्ना भएका बिरामीको निमित्त कुनै लक्षित वर्गमा नपर्ने तर औषधोपचार गराउन नसक्ने बिरामीहरुलाई समेत सम्बन्धित चिकित्सक र मेसुको सिफारिसमा नि:शुल्क औषधि उपचार सेवा अस्पताल फार्मेसीले प्रवाह गर्दै आएको छ ।

भेरी अस्पतालका फार्मेसी इन्चार्ज पदम अर्याल र पत्रकार प्रियास्मृति ढकाल

औषधिको विक्री वितरण

औषधि तथा औषधिजन्य सामाग्री एमआरपी मूल्यभन्दा धेरै कम मुल्यमा भेरी अस्पतालको फार्मेसीले दिईरहेको छ । प्रतिशतमै भन्नुपर्दा औषधीको खरिद हेरेर १०, २० , ३० प्रतिशत भन्दा बढीसम्म सहुलियत दिएर बिरामीलाई विक्री वितरण गर्ने गरिएको छ । अस्पताल फार्मेसीलाई नाफामुखि वा व्यवसायिकरुपमा नहेरी सेवागत हिसावले हेरिएको छ । जसका कारण बिरामीलाई औषधिमा सहुलियत दिने गरिएको हो ।

वर्षेनी कारोवारमा वृद्धि

विस २०७४ साल जेठ १९ गते अस्पताल फार्मेसी स्थापना भएपछि उक्त आर्थिक वर्ष फार्मेसीले दुई लाख ७१ हजार रुपैयाँको कारोवार गरेको थियो । त्यसपछि भने लगातार कारोवारमा वृद्धि गरेको छ । जसका कारण अस्पतालाई नाफा पनि भएको छ । आर्थिक वर्ष ०७५\०७६ मा दुई करोड ११ हजार, ०७६\०७७ मा दुई करोड ६५ लाख, ०७७\०७८ मा सात करोड ७१ लाख, ०७८\०७९ मा नौं करोड ७१ लाख र चालू आर्थिक वर्ष ०७९\०८० को हालसम्म ११ करोड ६२ लाखको कारोवार अस्पताल फार्मेसी गरेको छ । यो आर्थिक वर्षमा १५ करोडको कारोवार गर्ने लक्ष्य अस्पताल फार्मेसीले लिएको छ ।

यसअघि अस्पताल भित्रै अन्य निजि फार्मेसीहरु समेत भएका कारण अस्पतालको करोबार २ देखि ३ करोड भन्दा बढी हुन सकेको थिएन । बिरामीहरु सहुलियतका बारेमा जानकार र धैर्य गर्न सक्ने भए कारोबार अझ बड्ने आँकलन छ ।

अस्पताल फार्मेसीको नगद र नि:शुल्क काउन्टर

अस्पताल फार्मेसी संचालनका कठिनाइहरु

नि:शुल्क औषधि वितरण कार्यक्रम (स्वास्थ्य बीमा, सामाजिक सेवा इकाई, सिकलसेल एनिमिया आदी) मार्फत समयमै भुक्तानी नआउने समस्याले गर्दा औषधि खरिद प्रक्रियामा समस्या देखिनुका साथै उचित मात्रामा भण्डारण गर्न कठिनाई हुने गरेको छ । सार्वजनिक खरिद ऐनका प्रावधानले गर्दा कतिपय अवस्थामा बिरामी र चिकित्सकहरुले माग गरे अनुसारका औषधिहरु खरिद गरी उपलब्ध गराउन पनि कठिनाई भइरहेको छ ।

भेरी अस्पताल फार्मेसी परिवार

बिरामीहरूलाई अस्पताल फार्मेसी र अस्पतालको अनुरोध

  • औषधि किन्नको लागि लेखेको पर्चामा आफ्नो बिरामीको बेड नं र नाम छ कि छैन भनेर हेर्ने र कर्मचारीको हस्ताक्षर पनि याद गर्ने , यदि छैन भने सबै लेखाएर मात्रै फार्मेसीमा जाने।
  • औषधि किन्न जादा औषधिको नाम नबुझेपनि कतिवटा औसधी लिनपर्ने थियोे र कतिवटा आयो भन्ने कुरा मात्रै भएपनि याद गर्ने।
  • औषधि किन्ने ठाँउमा भिडभाडको बेलामा औषधि लिदा पनि आफ्नो नाम चेक गरेर मात्र औषधि लिएर आउने।
    वार्डमा स्वास्थ्यकर्मी (कर्मचारीहरु) लाई सोधेर मात्र औषधि खाने, आफ्नो तरिकाले औषधिनखाने।
  • वरिपरि कुनै दलालहरुले औषधि बाहिर बाट लिने हो भनेर फकाउन खोजेमा , उनिहरुको कुरामा नबहकिने, सबै औषधि अस्पतालको फार्मेसीबाटनै लिने, यदि कुनै नपाईएमा मात्र बाहिर जाने।

(अस्पताल फार्मेसी इन्चार्ज पदम अर्यालसँग स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले गर्नुभएको कुराकानीमा आधारित)

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech