कोहलपुरः राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३ औं आम औषधी सेवन अभियान यस वर्ष शुरु भएको छ । अभियान सफल बनाउनका लागि बाँकेको कोहलपुर नगरपालिकाले आज पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ ।
कार्यक्रममा यस वर्ष कोहलपुरमा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निर्धारण, अनुगमनको कार्यलाई प्रभावकारी बनाउने विशेष रणनीति लिइएको कोहलपुर नगरपालिकका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोहलपुरमा यही फागुन ११ गतेदेखि अभियान संचालन गर्न लागिएको हो । करिब एक हप्तासम्म संचालन गरिने उक्त अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । उचाईका आधारमा आइभर मेट्रिन, डिसी र अल्वेन्डाजोल नामक औषधी खुवाउने शाखा प्रमुख ठकुरीले बताउनुभयो । ग्रामिण क्षेत्रमा अशिक्षाका कारण अधिकांस नागरिकले औषधी सेवन नगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको हो । गत वर्ष कोहलपुरमा ६८ प्रतिशत नागरिकले मात्र औषधी सेवन गरेका थिए ।
कोहलपुर नगरपालिका वडा नं. ५ र ६ मा हात्तीपाइले रोग विरुद्धको औषधी नखाने मानिसहरु धेरै रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
कोहलपरमा गर्भवती र सुत्करीबाहेक एक लाख बढी जनसंख्यालाई औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य शाखा प्रमुख ठकुरीले बताउनुभयो । उहाँका अनुसार दुई वर्षभन्दा माथीमा मानिसलाई यो औषधी खुवाइनेछ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, विभिन्न शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
औषधी सेवन अभियानलाई प्रभावकारी गराउन जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतको विशेष भुमिका भएकाले त्यसैअनुसार सचेतिकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सुझाव दिनुभयो ।