के हुन्छ ? जब उच्च रक्तचाप भएकाले रक्सी पिउँछन्

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७९, शुक्रबार

मानौं तपाईंलाई उच्च रक्तचाप छ । साथै मदिराको अम्मली पनि हुनुहुन्छ । चिकित्सकहरुले प्रष्टसाथ भन्ने गरेका छन्, ‘मदिराजन्य पदार्थ उच्च रक्तचापमा थप घातक हुनसक्छ ।’

आखिर उच्च रक्तचाप भएका व्यक्तिले मदिरा पिउँदा के हुन्छ ? के उच्च रक्तचाप भएकाले मदिरा पिउनै हुँदैन ? यदि पिउनै परेमा यसको कुनै मात्रा छ ? मदिरा पिएको बेला औषधि खान मिल्छ ? सामान्यतः धेरैको मनमा उठ्ने प्रश्न हो यो ।

किनभने यतिबेला धेरैलाई उच्च रक्तचापले गाँजेको छ । खासगरी पुरुषहरुमा यस्तो समस्या बढी देखिन्छ । अतः धेरै पुरुषमा रक्सी पिउने बानी हुन्छ ।

रक्सी यसै पनि हानिकारक छ । रक्सीले कलेजो, मुटु जस्ता अंगमा हानि पुर्‍याउँछ । अझ रक्तचाप भएको अवस्थामा यसको हानि दोब्बर बढ्न सक्छ । नियमित रुपमा रक्सी पिउने, त्यो पनि अनियन्त्रित मात्रामा हो भने उनीहरुमा गम्भीर रोग लाग्ने सम्भावना शतप्रतिशत नै हुन्छ ।

यदि कम मात्रामा पिउने हो वा महिनामा एक पटक मात्र त्यो पनि न्यून मात्रामा पिउने हो भने उच्च जोखिम नहोला । यद्यपि उच्च रक्तचाप भएकाले जो औषधि सेवन गरिरहेका छन् उनीहरुले सकेसम्म मदिरा नछोएकै बेस हुन्छ ।

हामी सबैलाई थाहै छ, मदिराले सबैभन्दा बढी क्षति गर्ने भनेको कलेजोमा हो । रक्सीको कारण कलेजोमा बोसोको मात्रा बढ्दै जान्छ । यस्तो अवस्थालाई चिकित्सकले फ्याटी लिभर भन्ने गरेका छन् । यो स्थिति कायम रहेमा लिभर ‘सिरोसिस’ हुनसक्छ, जो एकदमै जोखिमपूर्ण अवस्था हो ।

साथै रक्सी पिएपछि उच्च रक्तचाप बढ्ने गर्छ । सामान्य अवस्थामा पनि रक्सी पिउँदा रक्तचाप बढ्ने गर्छ । जति जति मान्छेले मदिराको घुट्की थप्दै जान्छ, मुटुमा उत्ति नै भार पर्न थाल्छ । मदिराको कारण मुटुको आकार बढ्दै जान्छ, मुटुको चाल बढ्छ । पछि यही समस्या बढ्दै मुटु सुन्निने, स्ट्रोक बढाउने जोखिम रहन्छ । मस्तिष्कघात जस्ता दुर्घटना पनि यसले निम्त्याउन सक्छ ।

उच्च रक्तचाप भएकालाई रगत पातलो बनाउने औषधि दिइएको हुन्छ । उनीहरुले यो औषधि नियमित खाइरहेका छन् भने यस अवस्थामा रक्सी खानु उचित हुँदैन । किनभने यसबेला रक्तचाप बढ्ने जोखिम हुन्छ ।

रक्सी पिएको मान्छे शान्त हुँदैनन् । उनीहरु केही उत्तेजित वा आक्रमक हुन्छन् । किनभने मदिरामा जुन तत्व हुन्छ, त्यसले स्नायुप्रणालीलाई उत्तेजित बनाइदिन्छ । जब रक्सीको मात्रा बढ्दै जान्छ, तब मुटुलाई पम्प गर्न कठिन हुने वा हृदयघात हुने जोखिम हुन्छ ।

कतिपयले लामो समयको अन्तरालमा रक्सी पिउँछन् । तर उनीहरुको खराब बानी के हुन्छ भने अत्यधिक पिउने । यस्ता व्यक्तिलाई हृदयघातको जोखिम उच्च हुन्छ । यसैगरी मदिरा पिउनेहरुलाई मुटुको चालको गडबडी जस्ता समस्या पनि हुनसक्छ । यसलाई होलिडे हार्ट सिन्ड्रोम भन्ने गरिएको छ ।

के भन्छ अध्ययन ?

जर्नल अफ एथेरोस्क्लेरोसिसका अनुसार लगातार रक्सी पिउने व्यक्तिको मुटुको धमनी साँघुरो हुन्छ । यसरी साँघुरिंदै गएको धमनीको कारण रत्तचाप थप बढ्ने जोखिम त छँदैछ, हृदयघात वा स्ट्रोकको खतरा पनि निम्त्याउन सक्छ ।

चाडपर्वमा सर्तकता

दशैं आउँदैछ । चाडपर्वको याम सुरु भइसकेको छ । कार्यव्यस्तताबाट फुर्सद भएको र रमाइलो गर्ने समय भएकाले धेरैले मदिरापान गर्छन् । मदिरापान गर्नेले नियन्त्रित मात्रामा गर्नु उचित हो । सम्भव भए त पिउँदै नपिउनु राम्रो हो । यदि पिउनै परे पनि होस नगुमाई पिउनुपर्छ ।

यद्यपि यतिबेला उच्च रक्तचापका समस्या भएका वा मुटुको रोगीले मदिरा पिउनु जोखिमपूर्ण हुनसक्छ । त्यसैले मदिरा मोह त्यागेकै उत्तम हुन्छ ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech