पाठेघरभन्दा बाहिर गर्भ बस्यो भने के गर्ने ?

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७९, मंगलवार

पेट विभिन्न कारणले दुखिरहेको हुन्छ। त्यसलाई धेरैले हेल्चेक्र्याइँ गरिरहेका हुन्छन्। बेवास्ता गरिरहेका हुन्छ। अझ भनौँ, गर्भवतीमा धेरैले यो समस्यालाई सामान्य रुपमा लिइरहेका हुन्छन्। गर्भवती अवस्थामा पेट दुखाइले गम्भीर रुप लिन सक्छ। ज्यानै पनि जान सक्ने चिकित्सकहरु बताउँछन्।

पेट दुख्नासाथ स्वास्थ्य परीक्षण गराइहाल्नु पर्ने विज्ञहरुले बताउने गरेका छन्। अझ पाठेघरको, नलीको बारम्बार संक्रमण भइरहने महिलाहरुले गर्भवती हुँदाको पेट दुखाइलाई हल्का रुपमा नलिन परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्री रोग विशेषज्ञ डा कृतिपाल सुवेदीको सुझाव छ।

पेट दुखाइपछि कतिपयमा योनीबाट रगत बग्नेसमेत हुन सक्छ। यो एक्टोपिक प्रेग्नेन्सीमा ट्यूब (नली) फुटेका कारण हुन सक्ने डा सुवेदीको भनाइ छ।  एक्टोपिक प्रेग्नेन्सीका बारेमा डा सुवेदीसँग देश संचार अनलाइनका पत्रकार प्रतिभा चन्दले गरेको कुराकानीः

एक्टोपिक प्रेग्नेन्सी भनेको के हो ?

सामान्यतयाः बच्चा बस्ने प्रक्रियामा पुरुषको शुक्रकिट पाठेघरमा प्रवेश गरेर ट्यूबमा जान्छ। र, महिलाको अण्डादानीबाट अन्डा निस्किसकेपछि ट्यूबमा प्रवेश गर्छ। भ्रुण पाठेघरमा बस्नुभन्दा पहिला अण्डामा बस्छ। भ्रुण बनेको दुईदेखि पाँच दिनमा फर्केर पाठेघरमा आउँछ। त्यसपछि मात्र पाठेघरमा भ्रुण स्थापना हुने हो। त्यही भ्रुण पाठेघरमा स्थापना हुनुपर्नेमा त्योबाहेक पाठेघरको नली ९ट्यूब०, पेट, अण्डामा गएर भ्रुण बस्यो भने त्यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ।

भ्रुण पाठेघरभन्दा बाहिर गएर बस्नुको कारण के हो ?

सामान्य प्रक्रिया भनेकै ट्यूबमा भ्रूण बसेर पाठेघरमा फर्किनुपर्ने हो। तर, कुनै पनि कारणले ट्यूबमा बनेको भ्रूण पाठेघरमा फर्किन सकेन भने एक्टोपिक प्रग्नेन्सी हुने भयो। यसमा धेरैजसो कारण ट्यूबको खराबी हुन सक्छ। जस्तै, ट्यूबको संक्रमण छ भने हुन सक्छ। ट्यूबको चालले भ्रुणलाई पाठेघरमा फर्काएर ल्याउने हो, त्यो सक्दैन। अथवा ट्यूब, पाठेघरको टीबी भएको छ भने पनि यस्तो गर्भ बस्न सक्छ। अर्को भनेको ट्यूबको र पाठेघरको बारम्बार संक्रमण भइरहने समस्या छ भने पनि यो समस्या देखिन सक्छ। धेरैजसोमा लामो समयसम्म बच्चा बस्न नसकेका महिला अकस्मात गर्भवती हुँदा पनि ट्यूबमा भ्रूण बसेको देखिन्छ। अर्को, महिलाको उमेर बढ्दै गयो भने ट्यूबको प्रणली कमजोर हुँदै जान्छ र ट्यूबमा बसेको भ्रुणलाई पाठेघरमा फर्काएर ल्याउन सक्दैन। अझै भन्ने हो भने निःसन्तान दम्पतीहरु औषधि प्रयोग गरेर वा टेष्टट्यूब बेबीको माध्यमबाट गर्भधारण गर्दा भ्रुण पाठेघरभन्दा बाहिर बस्ने सम्भावना धेरै हुन्छ। किनभने बाहिरबाट पाठेघरमा राखिन्छ, कहिलेकाहीँ अनुमान गरिएको भन्दा बढी जान सक्छ र त्यही बेला ट्यूबमा गएर बस्ने हुन्छ। यो हुँदा मुख्यतयाः पहिला नै महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको निरन्तर संक्रमण भइराख्ने समस्या छ भने यस्तो अवस्थामा भ्रुण ट्यूबमा बसेको देखिन्छ।

भ्रुण पाठेघरभन्दा बाहिर बसेको कसरी थाहा पाउने ?

सबैभन्दा पहिला त महिलाले आफू गर्भवती भएको थाहा पाउनु पर्‍यो। त्यसका लागि महिनावारी नहुने बेलामा नभएको हुनु पर्‍यो। तर, धेरैजस्तो अवस्थामा अर्को महिनावारी हुनुभन्दा अगाडि नै बच्चा बसिसकेको हुन्छ। पाठेघरमा बस्दा सामान्य रुपमा पाठेघर भ्रुण ‘रिसिभ’ गर्नका लागि तयार भएर बसेको हुन्छ। पाठेघरको भित्ताहरु मोटो भएर भ्रुणलाई भित्र राख्नका लागि तयार भएर बसिरहेको हुन्छ। तर, ट्यूबले त्यो तयारी गरेको हुँदैन। ट्यूब पातलो हुन्छ। जसरी भ्रूण ट्यूबमा बस्छ, त्यो ट्यूले थेग्न सक्दैन। र, ट्यूब फुट्छ। ट्यूब फुटेपछि अकस्मात एकददै धेरै पेट दुख्छ। ट्यूब फुटेका कारण पेटमा रगत जम्मा हुन थाल्छ। त्यसपछि रिङ्गटा लाग्ने, बेस्सरी पेट दुख्ने, कहिलेकाहीँ योनीबाट पनि रगत जाने हुन सक्छ। कसैलाई पनि यस्तो भएमा तुरुन्तै अस्पताल पुगिहाल्नु पर्छ। ट्यूबमा बसेको छ भने यसको मुख्य कारण भनेको दुखाई नै हो। तर कतिपय अवस्थामा पेटमा, अण्डामा गएर बसेको छ भने चारदेखि आठ हप्तासम्म पनि थाहा नहुन सक्छ। किनभने ट्यूब फुटेन भने त्यसले केही पनि समस्या ल्याउदैन र भ्रूण आफ्नै हिसाबले हुर्किदै जान्छ। ट्यूबमा बसेको छ भने धेरै जस्तो अवस्थामा फुट्छ, र फुट्ने बित्तिकै दुखाइ हुन्छ। दुखाई भएपछि मात्रै एक्टोपिक भएको भन्ने थाहा हुन्छ।

ट्यूब फुट्दा कति जटिल हुन्छरु र भ्रूण ट्यूब बाहिर बस्यो भने जन्मिने सम्भावना कत्तिको हुन्छ ?

ट्यूब फुट्नु ‘इमरजेन्सी’ कुरा नै हो। जब ट्यूब फुट्छ, नलीबाट एकदमै छिटोछिटो रगत पेटमा आउन थाल्छ। यसमा कुन दरमा रगत आइरहेको छ, त्यसमा भर पर्छ। ठूलो नली फटेको हो भने एक डेढ घण्टमै बिरामी ‘सिभियर’ हुन सक्छ। तर कहिले काही नली फुटे पनि त्यही भ्रूण वा शरीरको कुनै रगत पचाउने प्रणलीले बन्द गरिदिन सक्छ। यो अवस्थामा जटिलता कम हुन सक्छ। फुटेर रक्तश्राव भइरह्यो भने अवस्था जटिल हुन्छ। यो चाहिँ ट्यूबको कुरा भयो। ट्यूबको १५ सेन्टिमिटर लम्बाई हुन्छ। कुनै भाग अलिकति मोटा र कुनै भाग अलिकति पातलो हुन्छ। त्यस्तै पाठेघरतिरको भाग अलिकति मोटो हुन्छ। त्यही मोटो भागतिर भ्रुण बस्यो भने फुट्नलाई केही समय लाग्छ। त्यतिन्जेल महिलाले आफू गर्भवती भएको अनुभूति गरिसकेका हुन्छन्। तर, पातलो भागमा भ्रुण बस्यो भने महिलाले आफू गर्भवती भएको थाहा नै हुँदैन। किनभने उसको महिनावारी रोकिनेबेला भएकै हुँदैन। यो अवस्थामा भने जटिल हुन्छ। अर्को कुरा, भ्रुण ट्यूबभन्दा बाहिर बस्यो भने जन्मिने कुरा आयो। कहिलेकाहीँ भ्रुण ट्यूबमा बसेर नफुटेरै पेटमा आइदिन्छ। र, पेटको कुनै भागमा रगत पायो भने त्यहीँ हुर्किन्छ। विश्वमा त्यस्ता एकदमै थोरै केसहरु आधिकारिक रुपमा रिपोर्ट गरिएका छन्। प्राकृतिक कुराभन्दा बाहिर पेटमा बच्चा बसेर ‘सक्सेस’ भएको कम मात्रै छ।

पाठेघर बाहिर बसेको भ्रुणलाई अप्राकृतिक मानिन्छ भने त्यसको विकल्प गर्भपतन नै हो ?

गर्भपतन भनेको गर्भमै रहेको भन्ने बुझ्नुपर्छ। भ्रूण पाठेघरभित्रै रह्यो भने भ्रूण राम्रो भएन। आमाको इच्छा भएन। वा अन्य कुनै कारण त्यसलाई निकाल्नु गर्भपतन भनिन्छ। ट्यूबमा बसेको भ्रुणका लागि हाम्रो पहुँच हुँदैन। अझ फुटेको छ भने महिलाको ज्यान जोगानका लागि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने हुन्छ। शल्यक्रिया गरेर कुन भागबाट रक्तश्राव भइरहेको छ, त्यो भागलाई बन्द गर्नुपर्छ। र, भ्रुण ट्यूबबाहिर निस्केको छ भने त्यसलाई खोजेर बाहिर निकाल्नु पर्छ। धेरैजसो केसहरुमा ट्यूब ‘ड्यामेज’ भइसकेको हुने हुँदा ट्यूब नै निकाल्नु पर्ने हुन्छ। तर, धेरै ड्यामेज भएको छैन भने त्यसलाई सिलाएर बन्द गरिन्छ। यो सबै गर्नका लागि चिरेर नै गर्नुपर्ने हुन्छ। नयाँ प्रविधिअनुसार ल्याप्रोसकोपी विधिबाट शल्यक्रिया गरिन्छ। जसमा दूरबिन राखेर चार वटा प्वाल बनाएर क्यामेर राखेर हेरिन्छ र ट्यूबको भागलाई क्यामेराको माध्यमबाट अर्को प्वालको सहायत लिएर समातेर बन्द गर्ने गरिन्छ। पूरानो प्रविधि जसरी गर्ने हो भने आकस्मिक शल्यक्रिया गर्ने नै हो। पेट खोलेर ट्यूबको भागलाई समतेर बन्द गर्नुपर्ने हुन्छ।

एक पटक पाठेघर बाहिर भ्रुण बसेपछि फेरि बस्ने सम्भावना कत्तिको हुन्छ ?

एक पटक एक्टोपिक भइसकेपछि अर्को पटक यो खतरा अझै बढ्छ। किनभने के कारणले एक्टोपिक भएको थियो भन्ने समस्या तत्काल समाधान हुने समस्याहरु होइन। संक्रमण भएर ट्यूबमा खराबी भइसकेको छ भने त्यो फेरि सामान्य अवस्थामा आउने सम्भावना एकदमै कम हुन्छ। पहिलो पटक एक्टोपिक भएपछि यसको खतरा अझै बढ्छ नै। तर, पनि पछिपछि राम्रै बच्चा जन्मिएको केस हामीले देखेका छौँ। र, राम्रो बच्चा जन्मिने अवस्था पनि धेरै हुन्छ। तर, कहिलेकाहीँ के समस्या भइदिन सक्छ भने पहिलो पटक एकतिरको ट्यूबमा भ्रूण बसेर त्यो ट्यूब निकालिएको हुन्छ। फेरि दोस्रो पटक गर्भ बस्दा अर्कोतिरको ट्यूब बस्दिन्छ। र, अर्को ट्यूब पनि ड्यामेज भएको छ भने त्यो ट्यूब पनि निकाल्नुपर्ने हुन्छ। यस्तो अवस्थामा धेरैजसो त ट्यूब जोगाउने नै कोसिस गरिन्छ। कतिपय अवस्थामा जोगाउन नसकिने हुन सक्छ। दुई वटै ट्यूब निकालेपछि प्राकृतिक रुपमा गर्भाधारण गर्न सक्ने सम्भावना हुँदैन। यस्तो अवस्थामा भने कृतिम गर्भाधारण गर्नुबाहेक अन्य विकल्प रहँदैन।

एक्टोपिक भएको कति समयपछि गर्भधारण गर्न सकिन्छ ?

शल्यक्रिया गरेको अवस्था भएका कारण ६ महिनादेखि एक वर्षसम्म गर्भधारण नगर्न नै भन्छौँ। तर, महिलाको उमेर बढी छ भने धेरै पर सार्दा पनि समस्या हुन सक्छ। यो कुरा बिरामीको अवस्था हेरेर भन्न सकिन्छ। तर, उमेर छ भने एक डेढ वर्ष गर्भाधारण नगर्न नै भन्छौँ, हामी।

कस्तो अवस्थामा एक्टोपिक हुन सक्छ ?

जो महिलाले बन्ध्याकरण गरेका हुन्छन्, उनीहरुको कुनै अवस्थामा नली आफै जोडिन सक्छ। यस्तो अवस्थामा रहेको गर्भ पनि एक्टोपिक हुन सक्छ। अथवा परिवार नियोजनका आयूसिडी, डिपो, कपटी, इम्पलान्ट प्रयोग गरेका महिलाहरुमा गर्भ बस्यो भने पनि एक्टोपिक हुनसक्ने हुन्छ। कण्डम र पिल्समा यो ‘रिस्क’ कम हुन्छ। गर्भ नराख्नका लागि आयूसिडी, डिपो, कपटी, इम्पलान्ट प्रयोग गर्दागर्दै पनि गर्भ रह्यो भने एक्टोपिक हुन सक्ने सम्भावना हुन्छ।

पहिलो पटकमा मात्र एक्टोपिक हुन्छ भन्ने कतिपयको बुझाइ छ नि ?

पहिलो बच्चा एक्टोपिक हुने सम्भावना धेरै हुन्छ। दोस्रोमा हुँदैन भन्ने हुँदैन। अध्यनहरु हेर्दा पहिलो बच्चामा अलिकति बढि भएको देखिएको छ। यसको ठ्याक्कै कारण यही हो भन्ने चाहिँ छैन।

एक्टोपिक भए-नभएको थाहा पाउन के गर्ने ?

कुनै पनि महिलामा ‘रिस्क फ्याक्टर’ छ, जस्तो– पहिला नै पाठेघरको संक्रमण छ। पेट दुख्ने समस्या छ। लामो समयपछि बच्चा बसेको छ भने। अण्डा उत्पादन गर्नलाई औषधि सेवन गरेपछि बच्चा बसेको छ भने बच्चा बसेको थाहा पाउनेबित्तिकै चिकित्सकको सल्लाह लिनुपर्छ। हामीकहाँ महिनावारी रोकिएको केही समयपछि मात्रै अस्पताल पुग्ने चलन छ। अझै गर्भवती भएका बेला अलिअलि पेट दुख्छ भन्ने सोचेर कहिल्यै पनि घरमा बस्नु हुँदैन। चिकित्सककहाँ पुगेर भिडियो एक्सरे गराउन सकियो भने एक्टोपिक भएको खण्डमा ट्यूब फुट्नुभन्दा अगाडि थाहा हुन सक्छ। र, रक्तश्राव हुनबाट बचाउन सकिन्छ। क्षति हुनबाट जोगाउन सकिन्छ। समयमै शल्यक्रिया गर्न सकिन्छ। अझै अगाडि थाहा पाउन सकियो भने त्यसलाई शल्यक्रिया नगरेर औषधिको प्रयोग गरेर पनि उपचार गर्न सकिने हुन सक्छ। अर्को एकदमै महत्वपूर्ण कुरा अहिले गर्भपतनका औषधि सजिलै मेडिकलहरुमा पाइन्छन्। आफूले नचाहँदा नचाहँदै पनि गर्भ बसेको भन्दै कतिपय महिलाले जथाभावी औषधि किनेर सेवन चलन छ। त्यो अवस्थामा भ्रुण पाठेघरमा छ या ट्यूबमा बसेको छ थाहा नपाएरै औषधि सेवन गर्छन्। यसरी थाहै नपाएर औषधि सेवन गर्दा भ्रुण ट्यूबमा बसेको छ भने फुट्ने हुन्छ। र, अत्याधिक रक्तश्राव भएर ज्यान नै जोखिममा हुने हुन्छ। त्यसैले त्यस्तो औषधिको प्रयोग गर्नुभन्दा अगाडि चिकित्सकको वा स्वास्थ्यकर्मीको सल्लाह लिएर चेकजाँच गराएर गर्नुपर्छ। वा चेक गराउन गाह्रो छ भने भिडियो एक्सरे गराएर भए पनि भ्रूण कहाँ बसेको छ, त्यो थाहा पाएर मात्र औषधि प्रयोग गरियो भने शल्यक्रियाको जोखिमबाट र ज्यानै जाने जोखिमबाट बच्न सकिन्छ। कसैलाई गर्भपतन गराउनै पर्नेछ भने पनि नेपाल सरकारको तोकेको सुरक्षित गर्भपतन गराउने सेवाहरु जहाँ उपलब्ध छन्, त्यहाँ गएर औाषधि विधिबाट गरिने वा सफाइ विधिबाट गरिने उपायबाट गर्न सकियो भने जोखिमबाट बच्न सकिन्छ।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech