बाँकेसहित तराई–मधेसमा गर्मी बढ्यो, गर्मीजन्य सङ्क्रमणका बिरामी बढे

    • स्वास्थ्य पेज

  • ३२ असार २०७९, शनिबार

नेपालगन्जः तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले बाँकेसहित तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

नेपालगन्जसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ ।

घर बाहिर निस्कनै मुस्किल

बिहान सबेरैदेखि साँझसम्म नै एकनाशले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको छ ।

बेलाबेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसलाई मध्याह्नको समयमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

दिनमा मुख्य बजारका सडक सुनसान हुने गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ ।

गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । दिनभरि सडक र सरकारी कार्यालय सुनसान रहने गरेको छ ।

त्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो ।

रोपाइँ प्रभावित

झरी पर्नुपर्ने समयमा दिनभर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ । असार महिना सक्ने बेलामा समेत यस वर्ष धनुषासहित मधेस प्रदेशका अन्य जिल्लामा पर्याप्त वर्षा हुन सकेको छैन । खेतमा जम्ने गरी पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।

एक साताअघि दुई दिन सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी परेको छैन । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन ।

गर्मीजन्य सङ्क्रमणका बिरामी बढे

पानी नपरेर अत्यधिक गर्मी हुँदा गर्मीजन्य सङ्क्रमणका बिरामी पनि बढिरहेका छन् । गर्मीका कारण घाउ, खटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् ।

गर्मी छल्न ग्रामीण भेगका मानिस चौतारी र रुखको छहारीमा बस्ने गरेका छन् । गर्मीले विद्यालय जानुपर्ने ससाना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् । अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको जनाइएको छ ।

 

  • ३२ असार २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech