जिसिक्सपिडी डिफिसियन्सीले थल्लिदै बालबालिका, यस्ता छन् लक्षण र बच्ने उपाय

जिसिक्सपिडी शरिरका सबै कोषहरुमा हुन्छ । सामान्य अवस्थामा यसले दुःख दिदैन । तर यो कम भएको अवस्थामा रामचना र केही औषधिको सेवन गरेको अबस्थामा अर्थात हेमोलाइसिस गराउने खालका औषधि जस्तै मलेरियाको औषधि सेवन गर्ने हो भने दुःख दिन्छ ।


    • प्रियास्मृति ढकाल

  • १५ असार २०७९, बुधबार

बालरोग विशेषज्ञ डा रोमा बोरा, कान्ति आरोग्य अस्पतालमा विरामी चेकजाँच गर्दै

नेपालगन्जः बालबालिकाहरु मध्ये पनि बिशेषगरि थारु समुदायका बच्चाहरु  जिसिक्सपिडी (glucose-6-phosphate dehydrogenase) डिफिसियन्सी रोगबाट पीडित भएका छन् ।  मेडिकल भाषामा यसलाई ‘फाभिजम्’ (favism) भनिन्छ ।

राजबंशी, सन्थाल, महत्तो, थारु समुदायका बालबालिकाहरु यो रोगबाट पीडित हुने गरेकाछन। अन्य समुदायका बालबालिकापनि पीडित छन् । तर राजबंशी, सन्थाल, महत्तो, थारु समुदायका ८ देखि १६ प्रतिशत बालबालिकाहरु जिसिक्सपिडीबाट पीडित रहेका छन् ।

विशेषगरी १ देखि ८ बर्षका बालबालिकाहरु योरोगबाट पीडित छन् । यो बंशानुगत रोग हो । ‘यो बंशानुगत रोग नेपालसहित विश्वका मलेरिया प्रभावित देशहरुमा बढी देखिएको छ, भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले भन्नुभयो–‘तर पूर्वी नेपालका राजबंशी, सन्थाल, महत्तो तथा पश्चिम तराइका थारु समुदायका बालबालिकामा पनि जनस्वास्थ्य समस्याकैरुपमा रहेको छ ।’

जिसिक्सपिडी शरिरका सबै कोषहरुमा हुन्छ । सामान्य अवस्थामा यसले दुःख दिदैन । तर यो कम भएको अवस्थामा रामचना र केही औषधिको सेवन गरेको अबस्थामा अर्थात हेमोलाइसिस गराउने खालका औषधि जस्तै मलेरियाको औषधि सेवन गर्ने हो भने दुःख दिन्छ ।

‘करिव १५ वर्षदेखि नै मैले यस्ता बिरामी बच्चाहरु हेर्दै आएकी छु । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत बालरोग विशेषज्ञ डा.रोमा बोराले भन्नुभयो,–‘यो रोग लागेका बालबालिकामा रगत फुटेर रगतकोमात्रा निकै कम हुन्छ, पिसाव कालो अथवा कोकाकोलाको जस्तै हुन्छ ।’

रगतकोमात्रा निरन्तर घट्दै गएर बिरामीको ज्यानै जाने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् । डा.बोराले महिनामा २–३ जना विरामी अस्पतालमा आउने गरेको जानकारी दिनुभयो । ‘महिनामा २–३ जना बच्चा सिकिस्त भएर बालरोग आइसीयूमा भर्ना हुने गर्छन डा. बोराले भन्नुभयो–‘यदि समयमै रोगको पहिचान गरेर समयमा उचित उपचार सुरु भएन भने बच्चाहरुको अवस्था झन–झन जटिल हुँदै गएर मृत्यु समेत हुने गरेको अबस्था छ ।

यो एक्स क्रोमोजोमबाट सर्ने बंशानुगत रोग हो । यो रोगले महिलालाई भन्दा पुरुषलाई बढी दुःख दिन्छ । ‘महिलामा दुईवटा एक्स क्रोमोजोम हुन्छ भने पुरुषमा एउटा एक्स क्रोमोजोम हुन्छ । महिलामा दुईवटा एक्स क्रोमोजोम भएकाले एउटा खराव भएपनि खासै असर गर्दैन्, डा पाण्डे भन्नुहुन्छ–‘पुरुषमा एउटै क्रोमोजोम भएकाले समस्या बढी हुने गरेको हो ।’ यो रोगबाट जोगिन स्क्रिनिङ गर्नु नै महत्वपूर्ण हो ।

‘अहिलेसम्म समस्या देखिएपछिमात्रै जाँच गर्ने गरिएको छ डा.पाण्डे भन्नुहुन्छ–‘जुन समुदायमा देखिएको छ त्यो समुदायका बालबालिकालाई जन्मदै स्क्रिनिङ गर्नुपर्छ ।’ स्क्रिनिङ गरियो भने जिसिक्सपिडीको अवस्था थाहा हुन्छ ।

त्यहीअनुसार रामचना नखाने, इन्फेक्सन भए तत्काल उपचार गर्ने, हेमोलाइसिस गराउने खालका औषधि सेवन नगर्ने गरेमा यो रोगबाट जोगिन सक्ने चिकित्सकहरु बताउँछन् ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech