भावपूर्ण श्रद्धाञ्जली डिल गुरु !

गाउँघरमा दुख पर्दा कैयौंलाई स्वास्थ्य चौकीसम्म पुर्याउने तिम्रो हातको अभाव खट्किने छ ।


    • श्याम कुमार विष्ट

  • १० फाल्गुन २०७८, मंगलवार

तिम्रो बालपन कसरी वित्यो मलाई थाहा छैन् । तर परिस्थितिले तिम्रो सामिप्यता ल्याइ पुरायो । त्यही सामिप्यताले भेरी अस्पतालबाट तिमीलाई सम्झन बाध्य बनायो ।

कुनैकुनै सम्बन्धहरु मानसपटलमा अमिट छाप बनेर बस्दा रहिछन् । त्यो छाप सायद यो जुनीमा चाहेर पनि भुल्न सम्भव छैन् । गाँउका उकाली ओराली हिड्दै गर्दा होस् वा सामाजिक कार्यमा सहभागीता जनाउँदा नै किन नहोस् ।

कुनै मेला महोत्सवमा जाँदै गर्दा होस् अथवा विद्यालयमा अध्ययनरत हुँदा होस् ती सबै आज जवरजस्त मेरो मानसपटलमा कुनै चलचिलका दृष्य जस्तै फनफनी घुमिरहेका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालको एउटा बन्द कोठाभित्र छु । तर, किन आज तिमीसँगका अनेकन आरोह अवरोहले मलाई बेचइन बनाइरहेको छ ।

यहाँ दैनिक मान्छेका लाशहरु देख्छु । विरामीको पीडा छटपटि र चिच्हावटसँग म अभ्यस्त छु । मलाई यो पनि राम्रोसँग थाहा छ जन्मेपछि मृत्यु स्वभाविक छ । यो कसैले रोक्न सक्दैन् ।

तर तिम्रो मृत्यु मलाई स्वभाविक किन लागिरहेको छैन् ? मेरो अभिभाकत्व मेरो गुरु त्यतिमात्र होइन मेरो साथीजस्तै । त्यसैले त तिमी शब्द नै प्रयोग गर्न मन लाग्यो ।
डिलबहादुर विष्ट । ९ फागुन २०७८ । अघिल्लो दिन ८ फागुनमा विद्यालयमा थिएँ । तर भोलिपल्ट मृत्युवरणको खवरले आश्चर्य तुल्यायो । विश्वास थिएन । तर विश्वास नगरी सुख पनि भएन् ।

२०७८ मसिंर महिना हुन पर्छ सायद गते ठक्याकै थाहा भएन त्यतीबेला स्वास्थ्यमा समस्या आएपछि तिमीसंग मेरो भेट भएको थियो । सायद मेरो बिबेकले भ्याएसम्म र मैले सकेजति सहयोग गरे हुम्ला । सहयोग गर्दागदैै पनि बाध्यताबश कतिपय सोचेजति नभएको पनि होला ।

सायद त्यतीबेला मेरै कार्यकक्षमा हामीले चिया गफ पनि गरेका थियौँ । केही समयको बसाईपछि स्वास्थ्य सुधार भएर पुन आफ्नो जन्मभूमीमा तिमी फर्केका थियौ । तर त्यही नै अन्तिम भेट रहिछ ।

आफ्ना हातले हुर्काएर कैयौंको तिमीले भविष्य सुनिश्चित बनाइदियौं । तिम्ले बढाएका कैयौं चेलाहरु स्वदेश तथा विदेशमा छरिएका छन् । आफ्नो पेशामा रमाइरहेका होलान् । केही आफ्नै गाउँठाउँमा होलान् ।

तिमीले लगाएको शिक्षकको पोशाकमा राखिएका ती कलमहरुले तिमीलाई नै खोजिरहेका छन् । तिमीले पढाउने पुस्तकहरुले तिमीलाई नै खोजिरहेका छन् ।
तिमी संगै एकै कुर्चीमा लामो समयदेखी अध्यापन गराइरहेका तिम्रा सहपाठीहरु तिम्रो प्रतिक्षामा छन् । तिमीले पढाउने विद्यालयका विद्यार्थीहरु तिमीलाई खोजिरहेका छन् ।

तिमीले विद्यालयमा अध्यापन गराएका ती विद्यार्थीहरुले तिम्रो कक्षा अध्यापन रोकिदा सायद मलिन अनुहारमा भन्दा हुन डिल सर कति बेला आउनु होला ?
परिस्थितीले सबैलाई सधै एकैनास एकैठाँउ रहन कहाँ दिन्छन् ।

विद्यालयका भित्ताहरुमा टाँसिएका तिम्रा नाम र तस्विरहरु केवल सम्झनाका लागी मात्र रहनेछन् । तिम्रा आफ्न्तहरुले केवल तस्वीरमा मात्र देख्न पाउनेछन् ।हरेक दिनको दैनिकी शिक्षक पेशामा बिताएका ती कयौँ पलहरु र साथीभाईसंग बिताएका ती अविस्मरणीय क्षणहरु तिम्रा साथीभाईहरुका लागी सधै सम्झना रही रहनेछ ।

हरेक मानिसहरुका आफ्ना कमिकमजोरी हुन्छन् राम्रा नराम्रा गुणहरु हुन्छन् तर पनि कसैको पनि व्यक्तिगत जीवनका बारेमा व्याख्या गर्नु उपयुक्त हुँदैन केवल हामीले सकारात्मक विषयलाई बढि ध्यानदिनुपर्छ जस्तो लाग्छ ।

मानिस जन्मदाको क्षण हुर्कदै गर्दा विभिन्न संघर्षका खुटकिलाहरु पारगर्दै जाँदा कहिले कहाँ ठोकिन्छ कहिले कहाँ ठोकिन्छ । कहिले सफल हुन्छ कहिले असफल हुन्छ ।

तिम्रो मृत्युको खबर पाउँदा कयौँ तिम्रो मलामी गए होला । कयौँ आउन नपाएर तिम्रो नाममा श्रद्धाञ्जली लेखे होलान । समय र परिस्थितिले कयौँ आफ्न्तहरु तिम्रो मलामी जान नपाउँदा दुखी भए पनि होलान् ।

तिमीलाई चित्तामा जलाउँदै गर्दा तिम्रा आफ्न्त र घरपरिवारका सदस्यहरु भावविवहल भए होलान् । आफ्ना सहपाटीहरुले आफ्ना सहकर्मीहरुको चितामा लास जल्दै गर्दा गहभरी आँसु चुहिएको तस्विर मैले भेटेको थिए ।

सायद अब तिम्रा सहपाठीहरुसंँग कहिल्यै पनि भेट हुँदैन । तिम्रो नामको अगाडी स्वर्गीय भन्ने शब्द जोडिएको छ । मानिसको मृत्युभएपछि स्वर्गमा बास हुन्छ भन्ने कथन हामीले सुन्छौ । तर कसैले देखेको छैन यदी रहेछ भने तिम्रो स्वर्गमा बास होस् ।

हिजो तिमी कसैको मलामी, बिहे वर्तवन्ध पुजाआजा, सामाजिक कारोवारोमा सहभागी भयौ होला । सायद त्यँही भएर होला तिम्रो सम्झना गर्दै यतिका मानिसहरु तिम्रो निमित्त श्रद्धाञ्जली दिन आएका ।

तिमीले समाजमा जति आफ्न्तहरु राखेका थियौ सबै आफन्तहरु तिम्रो मलामीमा उपस्थित भएको तस्विरहरु देखे । सामाजिक सञ्जाल फेसबुकमा तिम्रो तस्विर श्रद्धाञ्जलीले भरिएको छन् ।

तिमीले समाउने ती हलगोरुका आँखामा आँसु चुहिएको छ । तिम्रो प्यारो काली भैँसीले तिम्रो बाटो हेरिरहेको छ । घरको आगनीमा बसेर उमेर ढल्केका जेष्ठ नागरिकहरु तिम्रो बारेमा चर्चा गर्दैछन् ।

असारे महिना सिमसिमे पानीमा रोपिने ती खेतबारीहरुले तिम्रो प्रतिक्षा गरिरहनेछन् । रोपाइँमा बीउ काट्दै गर्दा डोकोमा बीउ बोकेर हिडेका ती दिनहरु साथीभाई इस्टमित्रका लागि सम्झना रहनेछ ।

घरको मुलीको रुपमा जिम्मेवारी समाल्दै गर्दा अबका दिनका तिम्रा छोराहरुका लागी त्यो भारी जिम्मेवारी थपिएको छ । तिमीले निभाउँदै आएका कर्तव्यहरु तिम्रा छोराहरुले निभाउनु पर्नेछ ।

बडौदशै र दिपावलीमा रमाइलोका लागि साथीभाईहरुको कांधमा राखेर खेलिने देउँसी भैलोका लागि तिमीले ती काँधमा कहिल्यै हात राख्न पाउने छैनौ । बरु साथीभाईले भन्ने छन की तिम्रो कमी भए छ । दशै तिहारको अघिल्लो दिन साँझमा तिमीले बाट्ने बाबियोको पिङ्गले तिमीलाई सम्झना गर्नेछ ।

विद्यालयमा अध्ययन गर्नाको लागी गाउँको अन्तिमबाट हिँड्ने बिद्यार्थीहरु विद्यालय सम्म संगै जाने ती दिनहरुको बाटोमा पूर्ण बिराम लाग्नेछ ।
गाउँघरमा दुख पर्दा कैयौंलाई स्वास्थ्य चौकीसम्म पुर्याउने तिम्रो हातको अभाव खट्किने छ ।

अन्तमाः कर्णाली प्रदेश डुङेश्वर गाँउपालिका–२ जनकल्याण माध्यामिक विद्यालय शेर्माकोट दैलेखका शिक्षक तथा अभिभावक डिल बहादुर विष्टप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली ।

     (श्याम कुमार विष्ट, भेरी अस्पताल नेपालगन्जकामा कम्प्युटर अप्रेटरका रुपमा कार्यरत हुनुहुन्छ)

 

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech