ओमिक्रोन भाइरस कति दिनसम्म शरीरमा रहन्छ ?

    • स्वास्थ्य पेज

  • ८ माघ २०७८, शनिबार

नेपालगन्जः कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा सङ्क्रामक छ । खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्नुका साथै ओमिक्रोनले कोभिड भइसकेका व्यक्तिलाई पुनः सङ्क्रमण गराउन सक्छ । सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोनबाट सङ्क्रमित भएका (विशेषगरी खोप लगाएका) मानिस अस्पताल भर्ना हुने सम्भावना कम रहेको देखिएको छ । तर, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले खोप नलगाएका मानिसहरूमा ओमिक्रोन अझै पनि घातक रहेको बताएको छ ।

बिबिसीमा उल्लेख गरेअनुसार ओमिक्रोन अन्यको तुलनामा कमजोर हुनुका साथै भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ । ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेको छ । अमेरिकाको प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो ।

स्पेनको इन्टरनेशनल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा भिसेन्ट सोरियानोका अनुसार सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने र दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ । यसअघिका भेरिएन्टबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न चारदेखि ६ दिनसम्म लाग्ने गरेको थियो।

ओमिक्रोनको लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म सङ्क्रमितले भाइरस अरूलाई सर्न सक्छ । डा सोरियानोका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहन सक्छ । सात दिनसम्म रहने भए पनि यो पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ । परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै भारसमा अरूलाई सर्न सक्ने क्षमता रहने उहाँले बताउनुभयो ।

लक्षण देखिएको सात दिनपछि लक्षण नभए अरूलाई सङ्क्रमण नसर्ने उनको भनाइ छ । कतिपय कोभिड सङ्क्रमित बिरामीमा लक्षण देखिँदैन । लक्षण नदेखिए पनि सङ्क्रमण रहिरहने अवधि लक्षण भएका व्यक्तिहरू जति नै हुन्छ । लक्षण नदेखिए पनि सङ्क्रमित व्यक्तिले अरूलाई सङ्क्रमण सार्न सक्छन् । अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ ।

यसअघिका भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्ट लक्षण नभएकाबाट अझै बढी फैलिन सक्ने ठानिएको छ । सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको आइसोलेसन बसेपछि अरूसँग घुलमिल हुन मिल्ने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले निर्देशिका प्रकाशित गरेको छ । तर, अन्य मानिसहरूसँग भेट्दा मास्क लगाउनुपर्ने र लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म सकेसम्म यात्रा नगर्न सुझाइएको छ ।

त्यस्तै, ज्वरो निको नहुन्जेल आइसोलेसनमा बस्नुपर्ने हुन्छ । कुनै मानिस सङ्क्रामक छ वा छैन भनेर पत्ता लगाउनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech