पालिकाका आइसोलेसन थप जोखिमपूर्ण, चिकित्सक भन्छन्–‘अक्सिजन सिलिण्डर झुन्ड्याएर मात्र हुदैन खै क्रिटिकल केयर ?’

    • समिरमान श्रेष्ठ

  • १८ बैशाख २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा कोरोनाका विरामी उपचार गराइरहेका भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कोभिड वार्ड भरिएका छन् । अधिकांश संक्रमितलाई अक्सिजन सपोर्ट दिइएर उपचार गरिएको छ ।

अस्पतालका शैया भरिएपछि जिल्लामा स्थानीय पालिकाले अक्सिजनसहितका आइसोलेसन निर्माणलाई तीब्रता दिइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा, बैजनाथ गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेर संचालन गरिसकेका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको अनुरोधपछि स्थानिय तहले निर्माण गरेका आइसोलेसनप्रति भने चिकित्सकहरुले चित्त बुझाएका छैनन् । उनीहरु यसलाई हचुवाका भरका खोलिएका मापदण्ड विपरीतका आइसोलेसन सेन्टर भन्ने गरेका छन् । नागरिकको उपचारमा सहज होस् भन्दै आइसोलेसन निर्माण भइरहेको भएपनि चिकित्सकहरुले भने यो ठिक नभएको प्रतिकृया दिएका छन् ।

नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष तथा नेपालगन्ज मेडिकल कलेजमा कार्यरत प्लास्टिक सर्जन डा. बिनोद कर्णले सामाजिक सन्जाल फेसबुकमा यही विषयमा लामो टिप्पणी लेख्नुभएको छ। डा. कर्ण लेख्नुहुन्छ, ‘स्थानिय तहमा अहिले अक्सिजनसहितका आइसोलेसन धमाधम बनिरहेका छन् ।

खाली हल र प्रशिक्षण केन्द्र लगायतमा एउटा बेड र अक्सिजन सिलिन्डर राख्दैमा कसरी हुन्छ आइसोलेसन ? आइसोलेसनका लागि दक्ष चिकित्सक, सहयोगी लगायत उपचारमा आवश्यक अन्य विविध कुरादेखि डकुमेन्टेसनसम्म चाहिने भएकाले हतारमा यस्ता निर्णय गर्दा अझ दुर्घटना निम्तन सक्छ ।’

अहिले अधिकांश संक्रमित लक्षण सहितका र गम्भीर छन् । गम्भीर बिरामीलाई हलमा राखेर उपचार गर्दा ठूलै समस्या आउन सक्ने उहाँको चेतावनी छ । कोभिडका नयाँ भेरियन्टका बिरामीलाई अक्सिजन मात्र हैन क्रिटिकल केयर सम्म आवश्यक पर्ने भन्दै डा. कर्णले क्वालिटी केयरका लागि अहिले सबैजना हातेमालो गरेर जानुको विकल्प नभएको बताउनुहुन्छ ।

यसो हुन नसके धेरैले अकालमै ज्यान गुमाउने र त्यसमा आफ्ना नजिकका आफन्त समेत मर्ने उहाँको तर्क छ । ‘यदि कोभिड आइसोलेसन बनाउन खोजिएको हो भने, जिल्लामा थुप्रै अस्पताल छन्, त्यसलाई प्रयोग गर्न उहाँ सुझाउनुहुन्छ ।

आर्मी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतलाई कोभिड अस्पताल बनाउन सकिने उहाँको तर्क छ । यस्तै डा. कर्णले जनशक्तिका लागि बेलैमा सोच्न समेत आग्रह गर्नुहुन्छ । नर्सिङ अन्तिम वर्षका विद्यार्थी, प्यारामेडिक्स अन्तिम वर्षका विद्यार्थीलाई समेत प्रयोग गर्न सकिने भन्दै ढिला नगरि एक्सन लिन उहाँको सरोकारवालासँग आग्रह छ ।

नेपालगन्जमा संक्रमण सुरु भएदेखि निरन्तर यसको नियन्त्रण, रोकथाम र उपचारमा प्रत्यक्ष संलग्न भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले समेत स्थानीय तहले निर्माण गरेका आइसोलेसनका कारण मानवीय क्षतीको जोखिम हुन सक्ने औल्याउनु भएको छ ।

आफुले यस्को जोखिमबारे प्रमुख जिल्ला अधिकारी, नगरका मेयरलगायतलाई अवगत गराएको उल्लेख गर्नुभयो । उहाँले विरामीको सहजता र प्रभावकारी उपचारका लागि जिल्लामा रहेका अन्य सरकारी र नीजि अस्पताललाई प्रयोगमा ल्याउनुको विकल्प नभएको सल्लाह दिएको भनेर कर्णको स्टाटसमा कमेन्ट लेख्नु भएको छ ।

उहाँले नगर, गाउँमा कोभिडका गम्भीर बिरामीका लागि आइसोलेसन बनाउनु झन् डर लाग्ने अवस्थाको संकेत गर्नुभयो । अहिलेको नयाँ भेरियन्टलाई अक्सिजनले मात्र काम नगर्ने भन्दै क्रिटिकल केयर अनिवार्य चाहिने उहाँको तर्क छ । तर अन्य विकल्प हुँदाहुँदै नगर र गाउँमा आइसोलेसन बनाउनु अन्तिम विकल्प नभएको उहाँको भनाइ छ ।

भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्र जंग शाहले यो गम्भीर विषय भएको भन्दै चर्चाका लागि भन्दापनि प्रभावकारी उपचारका लागि काम गर्न आग्रह गर्नुहुन्छ । उहाँले भेरी अस्पतालमा समेत जनशक्तिको चरम अभाव रहेको र सुरक्षित रहँदा रहँदै कयौ स्वास्थ्यकर्मी संक्रमित भएको भन्दै एकदुईजनाको भरमा आइसोलेसन सन्चालनको कुनै तुक नभएको बताउनुहुन्छ ।

अस्पतालको श्रोत साधन, लजिस्टिक लगायतको समेत भुमिका रहेको भन्दै एउटा अक्सिजन सिलिन्डरले मात्र बिरामी सन्चो हुन्छ भन्नु गलत भएको डा. शाह बताउनुहुन्छ । भएका अरु अस्पतालहरुलाई प्रयोगमा ल्याउने र हातेमालो गरेर अघि बढेमात्र कोरोनासँगको लडाइ जित्न सकिने उहाँको भनाइ छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या अस्वभाविक रुपमा बढिरहेको छ । संक्रमित शैया नपाएपछि अधिकांश होम आइसोलेसनमा छन् । होमआइसोलेसनमा बसेका संक्रमितको मृत्यु समेत हुन थालेको छ । स्थानिय तहमा आइसोलेसन बनाएर समस्या समाधान गर्ने आशमा स्थानिय सरकार छ, तर स्वास्थ्यकर्मी, चिकित्सकको पर्याप्तता नहुँदा यो ठिक नहुने चिकित्सक बताउँछन् ।

अधिकांश गम्भीर संक्रमित हुँदा अन्य अस्पताललाई प्रयोगमा ल्याउनुको विकल्प नभएको चिकित्सकहरुको तर्क छ । जिल्लामा सबै सुविधा भएको आर्मी अस्पताल, प्रहरी अस्पताल समेत रहेका छन् । यी अस्पतालमा ल्याब सेवा लगायत एम्बुलेन्सहरु समेत छन् । त्यस्तै अन्य निजि अस्पताल पनि जिल्लामा नभएका होइनन् ।

करिब आधा दर्जन निजि अस्पताल नेपालगन्जमा छन् । ती अस्पताललाई प्रयोगमा ल्याउनेतर्फ नसोचेर हचुवाको भरमा आइसोलेसन सेन्टर संचालन गर्नु उपयुक्त नहुने चिकित्सकहरुको सुझाव छ ।

कम्तीमा यी प्रश्नको सम्वोधन हुनेगरी आइसोलेसन बन्नु पर्छ
-एउटा सुत्ने बेड र अक्सिजन सिलिन्डर राखेर कोभिडका बिरामीको उपचार सम्भव छ र ?
-अक्सिजन चाहिने संक्रमित करिब गम्भीर अवस्थाकै संक्रमित हुन्छन् । अनि अक्सिजन मात्र दिएर बिरामी सन्चो भइहाल्छ ?
उसको अनेक जाँचका लागि ल्याब चाहिदैन ?
-निमोनियाले सकिन लाग्ला, छातीको एक्सरे गर्नुपर्दैन ?
-स्वास्थ्यकर्मीले के आधारमा औषधी दिने, कि अक्सिजन मात्र दिएर राख्ने ?

-क्रिटिकल केयरका लागि स्वास्थ्यकर्मीको पर्याप्तता चाहिदैन र ?
-आइसोलेसन बनाउने होडबाजी छ, त्यो भन्दा अगाडि हरेक सुविधा भएका अस्पताललाई प्रयोगमा ल्याउन किन सकिदैन ?
-आर्मी अस्पताल, प्रहरी अस्पताल, नेपालगन्जमा भएका आधा दर्जन बढी निजि अस्पतालको प्रयोग विकल्प हैन र ?
-होम आइसोलेसनमा बसेका संक्रमितहरुको बढी मृत्यु भइरहेको  छ , घर र ती आईसोलेसनमा कति फरक छ ?

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech