जाडोमा उपयोगी खाना

    • डा अरुणा उप्रेती

  • १९ माघ २०७७, सोमबार

जाडो बढ्ने क्रम रोकिएको छैन । यति बेला रुघाखोकी लाग्ने, साना बालबालिकालाई समस्या पर्ने त छँदै छ, वयष्क र वृद्धवृद्धालाई पनि यसपालि त कोरोनाको कारणले गर्दा संक्रमण भयो भने के गर्ने भनेर झन् त्रास बढेको छ । जाडोले गर्दा रुघाखोकी लाग्नबाट शत–प्रतिशत बचावट गर्न नसकिए पनि स्वस्थ खानपान र जीवनशैलीमा परिवर्तन गरेर रोगसँग लड्ने शक्ति बढाउन तथा रुघाखोकी लाग्ने सम्भावना कम गर्न सकिन्छ । यसो गर्दा शत–प्रतिशतरुपमा कोरोना लाग्दै लाग्दैन भनेर भन्न सकिन्न तर रोगसँग लड्ने शक्ति बढाएर, मास्क लगाएर र भौतिक दूरी कायम गरेर यसबाट बच्ने सम्भावना बढी हुन्छ ।

अर्कोतिर कोरोनाको सामान्य संक्रमण भइहाले पनि आत्तिएर, तनाव लिएर, हातखुट्टा छोडेर बस्नुपर्दैन । घरमा नै भिन्नै बसेर, स्वस्थकर खाना खाएर, योग गरेर, घाममा बसेर पनि कोरोनाको संक्रमणबाट हुने जटिलता कम गर्न मद्दत मिल्छ । तर कसैलाई सास फेर्नै गाह्रो भयो, एकदमै असहज महसुस भयो भने त अस्पताल जानै पर्छ । यो लेखमा मैले जाडोको बेला कस्ता खाना तथा झोल पदार्थहरूको प्रयोग गर्दा स्वस्थ रहन मद्दत मिल्छ भन्ने विषयमा प्रकाश पारेकी छु ।

रोगसँग लड्ने शक्ति बढाउन हाम्रो घरमा पाक्ने दाल, भात, तरकारी अचार र विभिन्न स्वस्थकर खानाका अतिरिक्त स्थानीय फलफूल, जस्तो– अम्बा, अमला, सुन्तला, बिमिरो, हलुवावेद, अमिला फलहरू उपयुक्त हुन्छन् । ‘आजकल जाडोमा सुप खानुपर्छ’ भन्ने चलन चलेको छ । सुप खाने विदेशीहरूको राम्रो चलन हो । यस सन्दर्भमा हामी प्रायः के बिर्सिन्छौं भने, हाम्रो भान्सामा पाक्ने दाल, तरकारीको रस, गुन्द्रुकको झोल, तामा र बोडीको झोल पनि सुप नै हुन् । हामी रोटीसँग दाल, तरकारी खान्छौं । विदेशीहरू पाउरोटीसँग सुप खान्छन् ।

अस्ट्रेलियामा ‘पम्पकिन’ सुप भनेर उसिनेको फर्सी पानीमा हाली त्यसमा मखन र मरिच मिलाई खाने चलन छ । हामीकहाँ फर्सीको तरकारीमा भटमास, चना हाली घिउले झानेर भातसँग खाँदा पनि रोगसँग लड्ने शक्ति भएको खाना नै खाएको भन्ने बुझ्दा हुन्छ । पाकेको फर्सीको सुप त हाम्रै घरमा सजिलै बनाउन सकिन्छ । अहिले बजारमा विभिन्न थरीका प्याकेटको सुप पाइन्छन् । त्यस्तो सुपमा धेरै चिल्लो हुन्छ, रसायनहरू पनि धेरै हालेको हुन्छ । प्याकेटका सुप पकाएर चिसो भएपछि ८–१० घण्टा वा एक रात फ्रिजमा राखिदिनुस् अनि फ्रिजबाट निकालेर हेर्नुस्, कतिसम्म चिल्लो हालेको रहेछ भन्ने आफैँ देखिन्छ । वास्तवमा यसमा धेरै चिल्लो जमेको देखिन्छ । अध्ययनले भन्छ, त्यसरी धेरै चिल्लो पदार्थ भएको खाना प्रयोग गर्दा स्वाद त हुन्छ तर स्वास्थ्यमा समस्या पर्न सक्छ । यस्तो सुपको प्याकेट महँगो पनि हुन्छ ।

रुघाखोकी लाग्नबाट शत–प्रतिशत बचावट गर्न नसकिए पनि स्वस्थ खानपान र जीवनशैलीमा परिवर्तन गरेर रोगसँग लड्ने शक्ति बढाउन तथा रुघाखोकी लाग्ने सम्भावना कम गर्न सकिन्छ । त्यसैले यस्ता प्याकेटका सुपहरू होइन कि घरमा नै भएका विभिन्न तरकारी, गेडागुडी, दाल आदि प्रयोग गरेर स्वस्थकर सुप बनाउन सकिन्छ । तरकारी र गेडागुडी एकछिन् उसिनेर, त्यसलाई मिक्सरमा पिसेर, यदि मिक्सर छैन भने सिलौटामा पिसेर वा मसिनो गरी काटेर, हल्का आँचमा पकाई लसुनले झानेर खाँदा लाभदायक हुन्छ । अझ यसमा अलिकति घिउ, हरियो धनियाँ, मरिच हालेर खाएमा स्वाद पनि पाइन्छ अनि स्वास्थ्य पनि राम्रो हुन्छ ।

जाडोको बेलामा ‘क्वाँटी’ को तरकारी पकाउने चलन त प्रायः सबै घरमा हुन्छ । त्यही ‘क्वाँटी’ लाई सुप बनाउन सकिन्छ । क्वाँटी पिसेर प्रेसर कुकरमा नून, मसला र बेसार हाली उमालेपछि त्यसलाई जिरा, जिम्बु, हिङ, लसुनले झानेपछि मज्जाको सुप हुन्छ । यो पकाउँदा अलिकति हरियो तरकारी, आलु, कोदोको पीठो हालेमा एकप्रकारले थुक्पा नै बन्छ । यो खाने बेलामा माथिबाट काली मरिच र हरियो धनियाँ काटेर छर्केमा झनै मीठो हुन्छ ।

खाना चपाउन गाह्रो भएको व्यक्तिलाई पनि यो सुप खान सजिलो र स्वास्थ्यको लागि उत्तम हुन्छ । रुघाखोकी लागेर केही खान मन नलागेको बेला यो सुपमा अलिकति कागतीको रस हालेर अलि–अलि गर्दै पिउँदा पनि स्वस्थकर पोषण पाइन्छ । त्यसै गरी विभिन्न थरीका दाल, मास, गहत, चना, मुङ, मुसुरो आदि ६–७ घण्टा भिजाएर, त्यसलाई मिक्सरमा वा सिलौटामा मसिनो बनाई पिसेर कुकरमा सुप बनाए पनि हुन्छ । अथवा फलामको भाँडामा हालेर केही बेर पकाएर, स्वादअनुसार नून, हिङ, गरम मसला, कागती हालेर खान पनि सकिन्छ ।

यसरी सुप बनाउँदा मुला, गाजर, काउलीको पात पनि मसिनो गरेर हाल्न सकिन्छ । प्रायः पातहरू फालिन्छ तर यस्तो पातमा धेरै सूक्ष्म पोषण तत्वहरू हुन्छन् । यसको साथै पातमा भएको रेसादार पदार्थले पेटको स्वास्थ्य राम्रो राख्न ठूलो भूमिका खेल्छ । रोगसँग लड्ने शक्ति बढाउन ‘पेटको स्वास्थ्य’ को ठूलो महत्व छ । पेटको स्वास्थ्य राम्रो भन्नुको अर्थ खाना राम्रोसँग पच्नु, कब्जियत नहुनु हो ।

यसपालि दशैँको बेलामा लाङटाङ जाँदा त्यहाँ खाएको विशेष प्रकारको सुप वा थुक्पा जिब्रोमा नै गडेको छ । झन्डै १० घण्टा हिँडेपछि लाङटाङको क्यानजिङमा पुगेपछि होटलमा साहुनीले ‘हेराल्डु’ बनाइन् । फापर, कोदो, हरियो साग आदिलाई पकाएर, माथिबाट उसिनेको आलुलाई डल्लो पारी हालेकी रहिछन् । अनि मन्द आँचमा पकाएर हामीलाई तात्तातो खान दिँदा अलिकति चौंरीको घिउ र चीज पनि मसिनो गरी काटेर हालेकी थिइन् । त्यो सुप पिउँने बेला अलिकति मरिच हालेपछि झन् स्वाद बढायो । त्यो खाएपछि ‘लेक लागेर’ वाकवाक आउलाजस्तो भएको पनि धेरै कम भयो ।

चाइनिजहरूले जाडो वा गर्मीमा खाने विशेष सुप ‘हटपट’ हुन्छ । त्यसमा सानो आँचमा विभिन्न तरकारीहरू हाल्दै, अलि–अलि झोल निकाल्दै खाने चलन छ । यसको लागि विशेष भाँडो प्रयोग गर्छन् । त्यसै गरी बर्मिजहरूले पनि खान्छन् । नेपालमा त्यस्तो ‘हटपट’ छैन तर पकाउँदा सानो आँचमा सुप बनाएर खाँदा खानेकुराको पोषण तत्व नष्ट हुन पाउँदैन । हामीले खिर पकाउँदा सानो आँचमा दूध र चामल भिजाएर पकाएपछि पाक्दाखेरि काजु, नरिवल हाल्दा पनि मीठो पौष्टिक खाना हुन्छ ।

यसले पनि जाडोमा तागत दिन्छ । यसरी विभिन्न थरीका सुप बनाएपछि स्वादअनुसार मसला, मरिच, टिमुर, जिम्बु, ज्वानो आदि हाल्न सकिन्छ । साथै हरियो धनियाँ, पुदिना, करिपत्ता, तुलसी त सुकाएर पनि प्रयोग गर्न सकिन्छ । यसरी यस्तो वनस्पति सुकाउँदाचाहिँ सीधै घाममा सुकाउनुहुँदैन भन्नेचाहिँ हेक्का राख्नुपर्छ । घाममा सुकाउँदा त्यस्ता वस्तुमा रहेको भिटामिन ‘ए’ कम हुन जान्छ । त्यसै गरी जाडोमा पाइने हरियो लसुन, प्याज, छ्यापी, बन्दा, सलगम आदिको पनि सुप बनाउन सजिलो छ । स्थानीय रुपमा पाइने कुनै पनि हरियो तरकारी, दाल, गेडागुडीको सजिलोसँग सुप बनाउन सकिन्छ । दाल र अन्न पकाउनुभन्दा अघि भिजाउनुपर्छ ।

कुनै पनि तरकारीको लेदो बनाएर भात वा रोटीसँग खाने हाम्रो बानी पनि छ । त्यही तरकारीलाई सुप बनाएर खाँदा हामीलाई शरीरमा पर्याप्त पानी पुग्छ । यस्तो सुप खाइसकेपछि रोटी वा भात टन्न हुने गरी पेटभरि खानुपर्ने जरुरत पर्दैन । यसले शरीरको तौल ठीक राख्न पनि मद्दत गर्छ । अहिले बारम्बार पत्रपत्रिकामा आउने भिटामिन सी, जिंक, फोलिक एसिड आदि पनि यस्तो सुपमा पर्याप्त पाइन्छ । सूक्ष्म पोषण तत्वहरू खाने नाममा विभिन्न थरीका चक्कीहरू खानै पर्दैन । तरकारी, दाल आदि पकाउँदा प्रयोग गरिने मसला, करिपत्ता वा अचारजस्तो गोलभेंडा, हरियो धनियाँ, पुदिना आदिमा पर्याप्त सूक्ष्म पोषण तत्व हुन्छ ।

स्थानीय रुपमा पाइने कुनै पनि हरियो तरकारी, दाल, गेडागुडीको सजिलोसँग सुप बनाउन सकिन्छ । दाल र अन्न पकाउनुभन्दा अघि भिजाउनुपर्छ । यदि भिजाइएन भने दालमा भएका तत्वहरू पचाउन गाह्रो हुन्छ । यसले गर्दा छिटो पाक्ने त हुन्छ नै, साथै दाल पचाउन पनि सजिलो हुन्छ । साना बालबालिकाहरू दाल र हरियो तरकारी खान चाहँदैनन् । यस्तो बेलामा दाल वा हरियो तरकारी पिसेर खानामा हाल्न पनि सकिन्छ । यसले गर्दा शरीरमा प्रोटिन पुग्छ । यसरी जाडोको बेलामा खाइने यी सुप अन्य बेलामा पनि प्रयोग गर्न सकिन्छ । यसले परिवारका सबै सदस्यको स्वास्थ्य राम्रो पार्न सहयोग गर्छ ।


Nabintech