डाक्टरको नाममा १ करोड २२ लाख ठगी, महिला सहित तीन जना पक्राउ

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः पोखराबाट तीन जना नक्कली डाक्टर पक्राउ परेका छन् । डाक्टरको परिचय दिएर १ करोड २२ लाख ठगी प्रकरणमा पोखराबाट पोखराबाट दानुमाया गुरुङ, पोखरा उपमहानगरपालिका–१० का राजेन्द्र भण्डारी र काठमाडौं–१३ ताहचलका रोजन भुजेल पक्राउ परेका हुन् ।

संयुक्त राष्ट्रसंघीय नियोगमा काम गर्ने एक महिलालाई विभिन्न प्रलोभन देखाएर चार महिनाको अवधिमा १ करोड २२ लाख रुपैयाँ ठगिएको थियो।

आफूलाई डाक्टर बेन्जामिन फ्रांकलिन भनेर चिनाउने ती व्यक्तिले राष्ट्रसंघीय नियोगमा काम गर्ने एक महिलालाई फेसबूकमा साथी बनाएका थिए। बेलायती नागरिक बताउने ती व्यक्तिले आफू प्लाष्टिक सर्जन भएको र एक हप्ताको कोर्सका लागि मलेसिया आउँदा रकम लुटिएको भन्दै नियोगकी महिलासँग अनलाइनमार्फत् सहयोग मागेका थिए।

रकम निकाल्न एटीएम बुथमा जाँदा आफू लुटिएको र अहिले रकम सहयोग गरेर बेलायत पुगेपछि दोब्बर फिर्ता गर्ने आश्वासन डाक्टर बताउने व्यक्तिले दिएका थिए। सोही लोभमा पटक–पटक गर्दै ती महिलाले १ करोड २२ लाख रुपैयाँ पठाएकी थिइन्।

रकम पठाउन तयार भएपछि नेपालमै रहेका केही व्यक्तिको बैंक खाता नम्बर समेत दिइएको थियो। त्यसपछि ती महिलाले भण्डारी, भुजेल लगायतको बैंक खाता नम्बरमा पैसा पठाएको अनुसन्धानबाट खुलेको थियो।

उक्त रकम नेपालबाट संकलन गरेर भारत पठाउने सम्मको काम हाल पोखराबाट पक्राउ परेकी महिलाले गरेको पाइएको महाशाखाले जनाएको छ। नेपालमा बसेर ठगीको मध्यस्थकर्ताको भूमिका निभाएपछि ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेकी महिलाले मात्रै ७८ लाख रुपैयाँ संकलन गरेको र संकलित रकममध्ये भारतको एसबीआई बैंकमा भारु २३ लाख रुपैयाँ पठाएको अनुसन्धानबाट खुलेको छ।

हाल पक्राउ परेकाहरुलाई प्रयोग गरेर ठगी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। त्यसमध्ये हाल पक्राउ परेकाहरुले केही प्रतिशत कमिसन पाउने लोभमा ठगीका योजनाकारले भनेअनुसार काम गर्ने गरेको प्रहरीले जनाएको छ। आफूलाई डाक्टर बेन्जामिन भएको बताउने व्यक्ति मेलेसिया नभएर भारतमा भएको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार दोब्बर रकम पाउने आशमा १ करोड २२ लाख रुपैयाँ रुपैयाँ फसेपछि पीडित महिला प्रहरीमा पुगेकी थिइन्। ती महिलाको उजुरीपछि ठगीको रहस्य बाहिरिएको हो।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech