‘क्यान्सरका बिरामीको सहज उपचारका लागि सहकार्य गरेर अघि बढ्ने सहमति’

बाँकेको खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबीच क्यान्सरका बिरामीको सहज उपचारका लागि सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।


    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७८, मंगलवार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबीच क्यान्सरका बिरामीको सहज उपचारका लागि सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

क्यान्सरका बिरामीले सहज र सरल तरिकाले गुणस्तरीय उपचार सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले सहकार्य गरेर अघि बढ्ने सहमति भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

सहमति अनुसार क्यान्सर अस्पतालमा आएका ई.एन.टी, गाईने र सर्जरी सम्बन्धीका क्यान्सर विशेषज्ञ सेवा चाहिने बिरामीलाई कोहलपुर पठाउने र बिरामी पठाउन अस्पताल असमर्थ भएको अवस्थामा मेडिकल कलेजबाट विशेषज्ञ चिकित्सक झिकाइने छ ।

तर त्यसका लागि अतिरिक्त पारिश्रमिक क्यान्सर अस्पतालले मेडिकल कलेजलाई उपलब्ध गराउने सहमति भएको छ । यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आउने क्यान्सरका बिरामीको चेकजाँच पश्चात थप उपचार जस्तै रेडियो थेरापी, किमो थेरापी भने क्यान्सर अस्पतालले गर्ने छ ।

मेडिकल कलेज कोहलपुरमा अध्ययनरत एम डि एम एस का चिकित्सकहरुलाई आवश्यकता अनुसार क्यान्सर अस्पतालमा परिचालन गरिने पनि सहमति भएको छ ।

‘क्यान्सरका बिरामीहरुको सहज उपचारका लागि यो सहमति कोषे ढुंगा हो मेडिकल कलेज कोहलपुरका उप निर्देशक डा दिनेश श्रेष्ठले स्वास्थ्य पेजसँग भन्नुभयो–‘क्यान्सर विशेषज्ञ सेवा चाहिने बिरामी चितवन र भारतका अस्पताल जानु पर्ने बाध्यताको अव न्यूनिकरण हुने छ ।’

खजुरा क्यान्सर अस्पताल संचालक समितिका अध्यक्ष भक्तबहादुर केसी र कार्यबहाक निर्देशक डा कृष्णप्रसाद आचार्य तथा मेडिकल कलेज कोहलपुरका प्राध्यापक डा अनुप शर्मा र उप निर्देशक डा श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

‘कुनै पनि हालतमा बिरामीलाई गुणस्तरीय सेवा दिने हाम्रो प्रण हो उक्त हस्ताक्षरपछि क्यान्सर अस्पतालका कार्यबाहक निर्देशक डा आचार्यले स्वास्थ्य पेजसँग भन्नुभयो–‘विशेषज्ञ चिकित्सकहरुबाटै सेवा दिँदा त्यसको विश्वनियता बढी हुन्छ । हाम्रो सहकार्य थप प्रभावकारी ढंगबाट अघि बढ्ने छ।’

नेपालगन्ज मेडिकल कलेज र क्यान्सर अस्पतालको टिम

नेपालगन्ज मेडिकल कलेज र क्यान्सर अस्पतालको टिम

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech