किन दुख्छ स्तन ? के घरेलु उपायले कम गर्न सकिन्छ दुखाई ?

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७८, आईतवार

चिकित्सा विज्ञानअनुसार मास्टाल्जिया भन्ने यो समस्या रजस्वला उमेर वा रजनोवृत्ति दुवै अवस्थामा हुनसक्छ । तथापि कम उमेरका महिलामा स्तन दुख्ने समस्या बढी देखिने गरेको छ । आफ्नो जीवनको कुनै न कुनै समयमा लगभग ७० प्रतिशत महिलाले स्तनमा पीडा महसुस गर्छन् र ती मध्ये १५ प्रतिशतमा उपचार आवश्यक पर्दछ । स्तन दुखाइको अवस्था र दुख्ने स्थान फरक हुने गर्छ । दुवै स्तन वा एउटा स्तनमा वा स्तनमुनि दुख्नसक्छ ।

स्तनको दुःखाई त्यसको अवस्था हेरेर चिकित्सा क्षेत्रमा मास्टाल्जिया, मामाल्जिया र मास्टडेनिया नामले चिनिन्छ । महिलाको स्तनमा पीडा उत्पन्न हुनु प्रायः सामान्य घटना हो । स्तन दुख्दा त्यो सुस्तरी आउने र जाने हुनसक्छ, स्तन गह्रौँ र कडा भएको महसुस हुने, स्तनका तन्तुमा जलन हुने वा स्तन नरम परेको अनुभूति हुनसक्छ ।
स्तनको पीडा यदि रजस्वला चक्रसँग जोडिएको छ भने त्यसलाई सामान्य रूपमा लिइन्छ । यो अवस्था मास्टाल्जिया हो ।

स्तनको पीडा वा कडापना वा नरमपना ठीक स्तनमै हुनु पर्छ भन्ने छैन, यो कोखामुनि वा स्तन वरिपरिको अन्य कुनै भागमा हुनसक्छ । हामीले बुझ्नुपर्ने महìवपूर्ण कुरा के हो भने स्तनको पीडाको अर्थ क्यान्सर नै हुन्छ भन्ने होइन ।

प्रायः अवस्थामा स्तनको दुःखाई दुवै स्तनको माथिल्लो भागमा उत्पन्न हुन्छ र कोखातिर फैलिन्छ । माथि नै भनिसकियो स्तनको पीडालाई प्रायः सामान्य नै मानिन्छ र यसको सम्बन्ध कुनै अन्य वा ठूलो समस्यासँग हुँदैन । लगभग ७० प्रतिशत महिलाले सामान्य कारणबाट आफ्नो स्तन दुखेको अनुभव गर्छन् ।
तैपनि स्तन दुख्नुका पछाडि कहिलेकाहीँ केही चिकित्सकीय वा अन्य कारण लुकेका हुन सक्छन् ।

कस्टोकोन्ड्राइटिस
कस्टोकोन्ड्राइटिस एक प्रकारको बाथ समस्या हो । करङ र स्तन जोडिने स्थानमा यो समस्या आउँछ । स्तनसँग यो समस्या जोडिएको हुँदैन तर यसको पीडाले स्तन नै दुखेको जस्तो लाग्छ । पाको उमेर र बस्ने आसनका कारण यो समस्या बढी देखिन्छ ।
मास्टाइटिस
यो सङ्क्रमणले हुने गर्छ । स्तनमा हुने सङ्क्रमणले पीडा उत्पन्न हुन्छ । प्रायः स्तनपान गराइरहेका महिलालाई यो समस्या आउँछ, स्तनपान गराइरहेका महिलाको स्तनमा सरसफाइको कमीले सङ्क्रमणको जोखिम उच्च रहन्छ ।
थुनिलो भएमा बढी जसो महिलाले यो समस्या अनुभव गर्छन् । यस सङ्क्रमणले ज्वरो आउने, आलस्य लाग्ने, स्तन रातो हुने, दुख्ने लक्षण देखिन्छ ।
सिस्ट
स्तनको आकार विभिन्न खालको हुन्छ । सबै महिलाको स्तन एकै आकार प्रकारका हुँदैनन् । साथै केही महिलामा स्तन दुख्ने गर्छ भने केहीलाई खासै केही हुँदैन । महिलामा दुग्धनली वा ग्रन्थीको विकास हुँदा स्तनमा सिस्ट बन्ने गर्छ ।
स्तनको सिस्ट पानी भरिएका थैली हुन् । जो नरम वा कडा हुनसक्छ । यिनले पीडा उत्पन्न गर्न पनि सक्छन्, नगर्न पनि सक्छन् । रजस्वला अवधिमा यी सिस्ट ठूला हुन्छन् र महिला रजोनिवृत्तिमा पुगेपछि सिस्ट आफैँ हराउँछन् ।
औषधि
केही प्रकारका औषधिले समेत स्तनमा पीडा उत्पन्न हुनसक्छ । प्रजनन समस्याको उपचारमा प्रयोग गरिने औषधि, गर्भ निरोधक खाने चक्की, रजोनिवृत्तिपछि प्रयोग गरिने एस्ट्रोजिन र प्रोजेस्टेरोन हर्मोन औषधि, डिप्रेसनका औषधि, मुटुको उपचारमा प्रयोग गरिने केही औषधि, पिसाब लगाउने केही औषधि आदिले स्तनमा पीडा उत्पन्न हुनसक्ने देखिएको छ ।
असजिलो ब्रा
ब्राका कारणले पनि स्तनमा पीडा हुन्छ । धेरै चुस्त वा खुकुलो ब्रा हुँदा स्तन त्यसमा राम्रोसँग अडिँदैन । जसले गर्दा स्तन दुख्छ ।

स्तन क्यान्सर
प्रायः स्तन क्यान्सरले सुरुमा पीडा हुँदैन । यसै कारण महिलाले स्तन क्यान्सर सुरु भइसकेको सुरुमा चाल पाउँदैनन् ।
स्तनमा अस्वाभाविक गाँठो देखा प¥यो, पीडा उत्पन्न भयो, मासुको झुप्पा महसुस भयो, मुन्टाको रङ फेरियो वा रगतजस्तो देखियो भने तुरुन्त चिकित्सकको सेवा लिनुपर्छ । क्यान्सरले चर्को रूप लिएमा पीडा उत्पन्न हुन्छ । स्तनको पीडाबाट राहत पाउन हामीले केही घरेलु र व्यावहारिक उपाय अपनाउन सक्छौँ ।

घरेलु उपाय

-स्तनमा मिल्ने आकारको ब्रा लगाउने ।
-केफिन र सोडियम ९नुन०को उपभोग घटाउने । चिया, चकलेट, कफी, हल्का पेय पदार्थ कम खाने ।
-चिल्लो कम खाने तथा फलफूल, तरकारी र
-अङ्कुरित खाद्यवस्तु बढी खाने ।
-उचाइ अनुसार शरीरको तौल कायम गर्ने ।
सबै उमेरका महिलाले आफ्नो स्तनमा कहिलेकाहीँ पीडा महसुस गर्छन् । रजस्वला उमेर वा रजोनिवृत्ति दुवै अवस्थमा यो समस्या आउन सक्छ । रजोनिवृत्तिपछि स्तन दुख्ने समस्या बारम्बार हुन्छ भने तुरुन्त चिकित्सा सेवा लिन ढिलाइ गर्नुहुँदैन । तथापि अन्य उमेर समूहका महिलालाई पनि असामान्य रूपमा स्तन दुख्छ भने उपचारको बाटो समयमै खोज्न चिकित्सकले सल्लाह दिने गरेका छन् ।

सामान्यतया हर्मोन प्रणालीमा आउने परिवर्तनले गर्दा स्तन दुख्ने गरेकाले महिलाले आत्तिनु पर्दैन । रजस्वला, गर्भावस्था, स्तनपान वा रजोनिवृत्तिले हर्मोनको अवस्थामा उतारचढाव आउँछ । यसैले ती अवधिमै स्तन दुख्ने समस्या बढी उत्पन्न हुन्छ ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech