कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन सुरु

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७८, बिहीबार

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।

मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो ।

केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शंकर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताउनुभयो ।

यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । उपसचिव बस्नेतका अनुसार विदेश जानेको सङ्क्रमण देखिए यादवले रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ । यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उहाँले जानकारी दिनुभयो।

यादवलाई सेवा सर्त नियमावली अनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech