गर्भवती र स्तनपान गराइरहेका आमालाई कोरोनाविरुद्धको खोप लगाउन सिडिसीको सुझाव

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

एजेन्सीः अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले गर्भवती, स्तनपान गराउँदै गरेका आमा, निकट भविष्यमा गर्भवती हुने योजनामा रहेका महिलाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुझाव दिएको छ।

पछिल्लो तथ्यांकले पनि गर्भवती वा निकट भविष्यमा गर्भवती हुन चाहने महिलामा कोरोना भाइरसविरुद्धको खोपको चिन्ता गर्नु पर्ने गम्भीर प्रकृतिको कुनै असर नदेखिएकाको भन्दै सिडिसीले खोप लगाउन सुझाव दिएको हो।

सिडिसीले कोभिड–१९ सम्बन्धी आफ्नो नयाँ सुझाव तथा निर्देशनमा भनेको छ, ‘कोभिड–१९ विरुद्धको खोप गर्भवती, स्तनपान गराउँदै गरेका आमा, निकट भविष्यमा गर्भवती हुने योजनामा रहेका वा चाँडै गर्भवती बन्ने महिलाहरुले पनि लगाउनु उपयुक्त हुन्छ। गर्भवती तथा हालै गर्भवती भएकाहरुलाई कोरोना भाइरसको संक्रमण भएमा गम्भीर बिरामी पर्ने जोखिम हुन्छ। खोप लगाएमा संक्रमण भए पनि गम्भीर बिरामी पर्ने जोखिम कम हुन्छ।’

अमेरिकामा पछिल्लो समय संक्रमण पुनः बढ्दै गएको छ। खोप नलगाएका व्यक्तिमा संक्रमण तथा गम्भीर बिरामी पर्ने दर उच्च रहेको छ। गर्भवती महिलाहरु पनि कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल भर्ना हुने क्रम बढिरहेका बेला सिडिसीको सुझावसहितको नयाँ निर्देशन आएको हो।

खोपको सुरक्षा र प्रभावकारिता सम्बन्धी पछिल्लो अध्ययनको तथ्यांक हेरेर नयाँ सुझाव दिइएको सिडिसीले जनाएको छ। अमेरिकामा फाइजरको खोप १२ वर्ष र सो भन्दा माथिका व्यक्तिका लागि लगाइएको छ। यस्तै मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनको खोप पनि लगाइरहेको छ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech