भेरी घटनाः जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत जान्छौंः केसी

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण गर्नेलाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध नर्सिङ संघ बाँकेले पुनरावेदन गर्ने तयारी गरेको छ ।

जिल्ला अदालतको आदेशले पीडितलाई न्याय दिन नसकेको भन्दै नर्सहरुको छाता संगठन नर्सिङ संघ बाँके उच्च अदालत जाने तयारी गरेको हो । नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले आज कानुनी सल्लाहाकारहरुसँग परामर्श गरेर उच्च अदालतमा पुनरावेदन गर्ने बताउनुभयो ।ज्यान मार्ने उद्देश्यका साथ अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने दोषीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिनुले अदालतप्रतिको विश्वासमा शंका पैदा गरेको अध्यक्ष केसीको भनाइ छ ।

उहाँले सत्ता र शक्तिबाट अदालत प्रभावित भएको आंशका समेत व्यक्त गर्नुभयो ।गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका मृतकका भाई मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतलले उपचारमा लापरबाही भएको भन्दै ड्यटीमा खटिएका चिकित्सक र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।

त्यसैदिन पक्राउ परेका उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो । त्यही मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल ईजलासले उनीहरु तीनैजनालाई जनही ५०÷५० हजार धरौटी बुझाएर छाड्न हिंजो आदेश दिएको थियो ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech