अझै केही हप्ता चुनौतीपूर्ण रहेको भन्दै सबैजना संयमित हुन मन्त्रालयको अनुरोध

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०७८, सोमबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवाह, व्रतबन्ध जस्ता सामाजिक र भेला उद्घाटन जस्ता राजनीतिक गतिविधिका कारण कोरोना संक्रमण बढेको बताएको छ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमण बढी भएका २० भन्दा बढी जिल्लामा संक्रमितहरु खुलेआम हिँडीरहेको भन्दै यसले पनि संक्रमणको जोखिम बढेको जनाएको हो ।

काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा संक्रमण उच्च रहेको र यी जिल्लाहरुमा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडीरहेको मन्त्रालयले जनाएको हो ।

महामारी नियन्त्रणका लागि संक्रमितको उपचार भन्दा संक्रमण रोक्नु उपयुक्त हुने भन्दै मन्त्रालयले निषेधाज्ञाको पालना गरी अत्यावश्यक नभइ घरबाहिर नजान अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले कोभिड–१९ संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने बताएको छ । निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै मन्त्रालयले अब केही हप्ता संयमित हुन सबैलाई अनुरोध गरेको छ ।

यसैबिच मन्त्रालयले कोभिड संक्रमण जित्न प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न आह्वान गरेको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech