एकैदिन ११४ थपिए, बाँकेमा १६ जना

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७७, बुधबार

नेपालगन्ज, १४ जेष्ठ ।

नेपालमा विभिन्न जिल्लामा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ८८६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा‍‍‍‍ विकास देवकोटाले संक्रमितको संख्या ८८६ पुगेको जानकारी दिनुभयो ।

एकैपटक यति धेरै सक्रमण फेला परेको पहिलो पटक हो। मन्त्रालयका अनुसार सबै संक्रमित क्वारेन्टाइनमा रहेका थिए। हालसम्म ७ सय ९६ पुरुष र महिला ९० जनामा संक्रमण देखिएको छ।

प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, वागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा १३ जनामा संक्रमण देखिएको छ। त्यसैगरी, प्रदेश ५ मा ३ सय ६५ ,कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जनामा संक्रमण देखिएको छ।

हालसम्म ४७ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ। कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । कुल संक्रमित मध्ये १८३ निको भएर डिस्चार्ज भएका छन् ।

बाँकेमा १६ संक्रमित थपिए
बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेको राप्तीसोनारीमा ७, डुडुवामा २, बैजनाथमा ६ र खजुरामा १ गरी १६ जना थपिएका हुन् । यो सँगै बाँकेमा मात्र संक्रमितको संख्या १७० पुगेको छ ।

तिमध्ये २२ जना निको भएर घर फर्किसकेका छन् । नरैनापुर ५ नरैनापुरका एकजना युवाको भने मृत्यु भइसकेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । बाँकेका १६ जनासँगै आज एकैदिन ११४ जनामा कोरोना देखिएको छ ।

  • १४ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech