बाँकेमा थप ४९ जनामा कोरोनाः संक्रमितको विवरण खुलाइएन्

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७७, शुक्रबार

तस्विर : फाइल

नेपालगन्ज २३, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षण बाँकेका ४९ सहित ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ नमुना परीक्षण गर्दा बाँकेका ४९, बर्दिया र रुकुममा १–१ जनागरी ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा अव कुल संक्रमितको संख्या ५ सय ४७ पुगेको छ । त्यसमध्ये ३ सय ९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

भेरी अस्पतालले शुक्रबार कोरोना संक्रमितको संख्या सार्वजनिक गरेपनि अन्य विवरण भने खुलाएको छैन् । यसअघि संक्रमितको ठेगाना, उमेर, कार्यरत संस्था र पदसमेत खुलाउँदै आएको थियो । संक्रमितको विवरण नखुलाउने यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्वास्थ्य पेजलाई जानकारी दिनुभएको थियो । संक्रमितको विवरण खुलाउँदा त्यसले संक्रमितसँगै उस्को परिवारलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै प्रजिअ कुरुम्वाङले विवरण नखुलाउने बताउनुभएको थियो ।

निषेधाज्ञा लम्बियो
बाँकेमा कोरोना भाइरस समुदायस्तरमै फैलिएको भन्दै गत शनिवारदेखि जारी निषेधाज्ञा लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ । प्रशासनले यसअघि पहिलो पटक तीन दिन र दोस्रो पटक थप चार दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । संक्रमण फैलिँदै गएपछि फेरि आगामी मंगलवारसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रजिअ कुरुम्वाङले बताउनुभयो । दोस्रो पटक थप गरिएको निषेधाज्ञा शनिवार सकिदै थियो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले उच्च जोखिममा रहेका नेपालगन्जका विभिन्न क्षेत्रमा शनिवार राती १२ बजेदेखि सील गर्ने निर्णय भएको जानकारी दिनुभयो । यद्यपी उच्च जोखिममा रहेका क्षेत्रहरु भने खुलाइएको छैन् ।

  • २३ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech